Home / राजनीति / नयाँ राष्ट्रपतिका लागि पुनः भण्डारी पक्का, प्रतिस्पर्धी लक्ष्मी राई

नयाँ राष्ट्रपतिका लागि पुनः भण्डारी पक्का, प्रतिस्पर्धी लक्ष्मी राई

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले बुधबार उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् । राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् । नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसैगरी नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् । भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले हुन् । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन् ।

प्रतिकृया दिनुहोस

Check Also

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने …