Home / कुराकानी / २५ वटा चलचित्र गरे मोक्ष पाइन्छ रे, दर्पण छायाँ–२ बाइसौं हो: तुलसी घिमिरे

२५ वटा चलचित्र गरे मोक्ष पाइन्छ रे, दर्पण छायाँ–२ बाइसौं हो: तुलसी घिमिरे

काठमाडौं, १२ फागुन । २०३८ सालमा बाँसुरी चलचित्र निर्देशन गरेर अहिलेसम्म पनि सक्रिय भएर अगाडि बढिरहेका चलचित्र निर्देशक, लेखक, सम्पादक, अभिनेता, गीतकार, कलाकार तुलसी घिमिरेको पछिल्लो चलचित्र ‘दर्पण छायाँ–२ यही फागुन २७ गतेदेखि चलचित्र हलहरुमा लाग्दैछ । यो चलचित्रलाई घिमिरेले आफ्ना सफलमध्येको एक चलचित्र हुने दावी गरेका छन् । यसै सन्दर्भमा दर्पण छायाँ–२ र अहिलेसम्मको सक्रियता अनि भारती घिमिरेसंगको सहकार्य लगायतमा आधारित रहेर नागरिक सन्देशले घिमिरेसंग कुराकानी गरेको छ । यो कुराकानीको मुख्य अंश –

दर्पण छायाँ–२ सिक्वेल हो कि नाममात्र लिनु भएको हो ?
यो दर्पण छायाँको सिक्वेल होइन । यसको कथा इमोसनल म्यूजिकल लभ स्टोरी वरिपरि छ । तर हामीले यसको नाम धून राख्न खोजेका थियौं । नाम दर्ता गर्न जाँदा त धून भन्ने चलचित्रको दर्ता भइसकेको रहेछ । त्यसको त सुटिङ्गसमेत भइरहेको रहेछ । त्यसपछि साथीभाइ, हाम्रो युनिटले दर्पण छायाँ नै नाम राम्रो लाग्थ्यो भने । अनि दर्पण छायाँ –२ किन नराख्ने छलफल भयो । मलाई २ वा सिक्वेलतिर नजाउँ कि भन्ने अप्ठेरो महसुस पनि भएको थियो । तर समयअनुसार चल्नुपर्छ दाइ भनेर मलाई प्रोडक्सन म्यानेजरले नाम पनि दर्पण छायाँ–२ रजिष्ट्रेशन गराइदिनु भएछ । नाम रजिष्ट्रेशन हुन बित्तिकै बाहिर एक किसिमको सेन्सेसन आयो । मलाई थुप्रै फोन आए । अनि मलाई लाग्यो नाम आफैले पनि एक्टिभेट गर्दोरहेछ कि क्याहो । अनि त्यसरी नाम राखेर हामी अगाडि बढेका हौं ।


काम गर्ने सवालमा जस्ताको तस्तै रहिरहनुको कारण चाहीं के रहेछ ?
सबभन्दा पहिले त के भने बलिउडमा के भनिन्छ भने निर्देशकहरुले २५वटा चलचित्र निर्देशन ग¥यो भने त्यसले मोक्ष पाउँछ रे । त्यो भारतमा उखानै बनेको छ । त्यसपछि धर्मकर्म गर्नै पर्दैन रे । जीन्दगीको पहिलो पाइला ‘बाँसुरी’ जब सुरु ग¥यौं त्यतिबेला मैले २५ वटा त सोचेको थेन । तर १०–११ वटा पुग्दाखेरै त हैन पुगिन्छ कि क्याहो भनेर त्यसपछि लगातार लागिरहियो र मनमा अठोट के थियो भने २५ सम्म चाहीं नथाक्ने । पैसै पाएन र फिल्म बनाउन पाइएन भने त्यो अर्को कुरो होला (हाहा..हाहा..) तर कतैकतैबाट पैसा हुँदै जान्छ फिल्म बनाउँदै जान्छु । २५ सम्म नथाक्ने भनेर हिंडेको हो । अहिले थाकिहाल्ने स्थिति छैन । स्वास्थ्यले ठीक साथ दिइरहेको छ । दर्पण छायाँ –२ मेरो २२ औं चलचित्र हो । अब तीन वटा छ । (हाहाहाहा…..लामो हाँसो) ।

बिहे चाहीं कसरी गर्नुभयो ?
घरमा पनि बिहे गर्नुपर्छ भन्ने दबाब आयो । फिल्म इन्डस्ट्री नबुझेको वाइफ प¥यो भने गा¥हो हुन्छ । फिल्म इन्डस्ट्री बुझेको र मलाई भारतीले एसिस्ट पनि गर्थिन् । पछि सोच्दै जाँदा ‘ह्वाइ नट’ । अलिकति उमेरको फरक भने थियो । त्यो कुरा सल्लाहहरु गर्दाखेरी चाहीं ‘हुन्छ’ । थर, गोत्र सबै कुरा मिल्न गयो । चिना मिल्न गयो । लभ म्यारिज भन्दा पनि टेक्निकल्ली म्यारिज भयो ।

बिहे अगाडि लभ प¥यो कि परेन त ?
प्रेम प¥यो भनौं भने संगै हिड्थ्यौं । कुरा गर्दा खेरी त्यो सिनको भयो ? यहाँ त मिलेको छैन त ? त्यसको ड्रेस नै मिलेको छैन त ? भन्नेजस्तामात्र कुरा भए कहिल्यै पनि जुनतारा तोडेर ल्याउ भन्ने भएन । कहिलेकाहीं रोमान्टिक डाइलग नै भएन भने यो कुनचाहीं फिल्मका लागि लेख्नुभाको भनेर सोध्दाखेरी त्यतापट्टीको पाटो त ब्ल्यांक नै छ हो भाइ (हाहाहा……) ।

बिहेपछि कसरी अगाडि बढ्नु भयो ?
सबै काम टिम वर्क जस्तै थियो । एडिट गर्दा एसिस्ट गर्थिन् । पछि एडिटिङको जिम्मा उनले नै लिइन् । टेक्नोलोजी नै उनले चलाउन थालिन् । हामी पहिले टिस्कस गर्छौं । यसरी लिने भनेर डिस्कस हुन्छ । कतिपय लोकेसनमा कम्प्रोमाइज गर्नुपर्छ । उनले त्यसलाई सजिलै गर्छिन् ।

आफूले सोचेजस्तो लोकेसन र यस्तो उतार्छु भनेर तयार भएको सिनेमा कुन हो ?
केही हदसम्म ‘चिनो’ हो । ‘दक्षिणा’ हो । ‘दर्पण छायाँ’ हो । ‘लाहुरे’ हो । लाहुरेको चलचित्र गर्दा सेना, पुलिसको सहयोग पायौं ।

होम प्रोडक्सनलाईमात्र प्राथमिकता दिनुको कारण ?
मैले एक दुई वटा बाहिरको चलचित्र गरें । गर्दै जाँदा कस्तो हुँदो रहेछ भने जुन कुरा सोचेर फाइनेन्सियल्ली कम्तीमा गर्नुपर्छ भन्ने त छ तर सारो कम्प्रोमाइज पनि गर्नु हुँदैन भन्ने सोच लिएर अगाडि बढ्छौं हामी । बाहिर अरु प्रोड्युसरसंग काम गर्दा कति ठाउँमा कम्फोर्टेबल भइएन । जुन पारिश्रमिक पहिले हामी लिन्थ्यौं त्यो त फिल्म सकिँदा नसकिँदै सकिन्थ्यो । लास्टलास्टमा कुराहरु पनि बाझिन्थ्यो । त्यो त यतिमा पो बनेछ त दाइ भन्थे । बलिदान बनाउँदा खेरी पनि अर्को सान्नानीको बजेट लिएर आएर यो त यतिमा बनेछ त ? भनेर भन्थे । कुरा ठूलो त हैन सानो तर विझाउने हो क्या काँडाले जस्तै । यस्तै हुनाले बाहिर जान त्यति मन लागेन ।

प्रतिकृया दिनुहोस