Home / कुराकानी / वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँछु –मेयरका प्रत्यासी खाँण

वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँछु –मेयरका प्रत्यासी खाँण


स्याङजा । स्याङ्जाको वालिङ नगरपालिकाको मेयर पदका पत्यासी नेपाली काँग्रेसका नेता दिलिपप्रताप खाँणले वालिङ नगरपालिकालाई १५ वर्षभित्र स्मार्ट सिटी बनाउने योजना रहेको बताएका छन् । बैशाख ३१ गते चुनाव हुँदै गर्दा खाँणले दलहरुको सहमतिमै वालिङलाई स्मार्ट सिटी बनाउन आफूले अहम् भूमिका खेल्ने बताएका हुन् । उनले आफूसंग जनमत रहेकाले पनि मेयरमा जित्ने आधार रहेको बताए ।
खाँणसंग नागरिक सन्देशले गरेको छोटो कुराकानी –
तपाईलाई नै भोट किन हाल्ने ?
म जनताका काममा भिजिरहेकाले मैले केही गर्छु भन्ने विश्वास मतदातामा पनि परेको छ । त्यसैले काम गर्ने मान्छेलाई भोट हाल्नुप¥यो नि ।
काम गर्नुहुन्छ भने आधार के छ ?
मैले ०४६ सालदेखि निरन्तर राजनीतिमार्फत नै सामाजिक काम गर्दै आइरहेको छु । त्यसकै नतिजा मैले ०५४ सालको स्थानीय निकायको निर्वाचनमा निर्वाचित उपमेयर हुने अवसर पाएँ । त्यसयता निरन्तर काममा खटिएको छु । मैले कुनै पनि सामाजिक गतिविधि छाडेको छैन । जनताको विश्वास नै मैले जित्ने आधार हो ।
के चाहन्छन् जनता ?
जनता विकास चाहन्छन् । सडक १२ महिना नै चलोस् भन्ने हो । खानेपानीको समस्या छ । सिंचाईको समस्या छ । यसको समाधान मैले नै गर्ने हो । हामीले नै वालिङलाई स्मार्ट सिटी बनाउने योजना ल्याएका छौं । काँग्रेसले यसको अग्रसरता लिएको छ । यसको घोषणा भइसकेको छ । ५ वर्षमा यसको पूर्वाधार पूरा गर्ने योजना छ । १५ वर्षभित्र यसलाई तयार गर्नेछौं ।
प्रतिस्पर्धा कस्तो छ ?
प्रतिस्पर्धा त्रिकोणीय होला कि । माओवादी केन्द्र र एमाले आउलान् । हुनत राप्रपा, नयाँ शक्ति र जनमोर्चा पनि छन् ।
मतदातासंग तपाई कसरी नजिक हुनुहुन्छ ?
समाजसेवामा लागिरहेकाले म गरिमा विकास बैंकको अध्यक्षका रुपमा रहेको छु । स्थानीय क्याम्पसमा पनि म अध्यक्षकै रुपमा रहेको छु । यसरी प्रत्यक्ष परोक्ष आफू मतदाताकै वरिपरि घुमिरहेको छु । ४९ वर्षको भएँ । अनुभव पनि बटुलें । अब प्रत्यक्ष मेयर भएर जनताका घरघरमा विकास पुर्याउने योजना छ ।

प्रतिकृया दिनुहोस