Home / मनोरञ्जन / सकियो नेपथ्यको युरोप यात्रा

सकियो नेपथ्यको युरोप यात्रा

काठमाडौं । डेनमार्कको कोपनहेगनमा भएको भव्य सांगीतिक प्रस्तुतिसँगै नेपालको प्रख्यात लोकरक ब्याण्ड नेपथ्यको युरोप भ्रमण सकिएको छ । प्रविधिको सहयोग र उल्लेख्य दर्शक पाएर त्यहाँस्थित आमाबियोमा आयोजित कन्सर्टमा स्टेज र दर्शक घेरा अन्तिमसम्म एकापसमा रमाएको थियो । नेपालसँग जोडिएका डेनमार्कका थोरै बासिन्दा र त्यहाँ बसोबास गर्दैआएका नेपाली दर्शकहरुले हल भरिभराउ देखिन्थ्यो । कन्सर्ट हेर्न पुगेका गर्ट मेनिकीले सकारात्मक उर्जाको प्रवाह, ब्याण्ड र दर्शक बिचको सम्बन्ध आफुलाई गज्जबको लागेको बताए । उनी सन् २००१ देखि चार वर्षसम्म नेपालस्थित डेनमार्कको दुतावासमा ‘चिफ अफ मिशन’ रहेका थिए । कोपनहेगनमा नेपालीहरुको संख्या २५ सय भएका बेला त्यहाँ कन्सर्ट गर्नु आफैमा रोमाञ्चक रहेको स्थानीय आयोजक आइएनएसका कार्यक्रम संयोजक रविन्द्र खड्काले बताए । ‘दोश्रो पुस्ताका नेपाली बढेसँगै हामीले सबैलाई केटाकेटीसमेत लिएर नेपथ्यको कार्यक्रम हेर्न आउन अनुरोध गरेका थियौं जसले गर्दा भावी पुस्ताले विश्व स्तरको हाम्रो आफ्नै ब्याण्डलाई पनि अनुभूत गर्न सकून् ।’ उनले भने । गीत गायनसँगै व्याण्डका प्रमुख गायक अमृत गुरुङले सबैलाई डेनमार्ककोजस्तै नेपालका रमणीय डाँडाकाँडा घुम्ने निम्तो पनि बाँडेका थिए । उनले कोपेनहेगनको मञ्चबाट नेपालले अहिले बेहोरिरहेको संक्रमणकाल उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई धेरै ढिलो हुनुभन्दा अगावै केहि गरिहाल्न फेरि एकपटक सचेत गराए । कार्यक्रम सदाबहार नेपथ्यका पुराना हिटहरु ‘छेक्यो छेक्यो’, ‘हिमाल चुचुरे’, ‘रेशम’, ‘तालको पानी’ हुँदै भर्खर रिलिज भएको ‘कोशीको पानी यो जिन्दगानी’बाट अघि बढेको थियो । नेपथ्यले आफ्नो शैलीको प्रयोग गर्दै पुनः जागृत गराएको ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ पनि यो सूचीमा समावेश थियो । नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले पहिले पनि नेपालका सन्धिखर्क, तम्घास, फिक्कल जस्ता मसिनो बसोबासको क्षेत्रमा नेपथ्यलाई प्रस्तुत गर्दै आएकामा अब युरोपलगायत विश्वका विभिन्न भागमा समेत यसैगरि थोरै संख्यामा रहेका नेपालीसम्म आफ्नो प्रस्तुती बढाउने श्रेष्ठले जानकारी दिए । गायक गुरुङले पहिलो एल्बम रिलिज भएका मितिले नेपथ्य २४ वसन्तमा पाइला हालेको जनाउँदै मुलुक भित्र र बाहिरका दर्शकहरुबाट पाउँदै आएको माया र हौसलाका निम्ति आभार प्रकट गरे । कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए ।

प्रतिकृया दिनुहोस

Check Also

२९ वर्षपछी गुल्जारको फिल्म

बलिउड , भारतका प्रसिद्ध गीतकार गुल्जारको फिल्म २९ वर्षपछी रिलिज हुने भएको छ । सन् …

Leave a Reply

Your email address will not be published.