Home / मनोरञ्जन / मानव बेचबिखनको अभियोगमा बीस वर्ष कैद

मानव बेचबिखनको अभियोगमा बीस वर्ष कैद

चौतारा । मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोक, शिखरपुर–४ का विष्णुप्रसाद दाहाललाई आज २० वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले ४९ वर्षीय दाहालविरुद्ध सो फैसला गरेको हो । मेलम्ची ‘झ’ (प्रहरीले राखेको नाम) को जाहेरीले अभियुक्त दाहाललाई रु दुई लाख जरिवाना र प्रतिवादीबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराइदिने पनि फैसला गरिएको छ । अभियुक्तले एक महिलालाई भारतको नयाँ दिल्लीमा बिक्री गरेको अभियोगमा मानप बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम सो सजायको फैसला भएको स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिए । पीडितलाई माइती नेपालले उद्धार गरेको थियो । उद्धारपछि पीडितले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीले विसं २०७० चैत १३ गते अभियुक्तलाई पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राखेको थियो । त्यसैगरी जी २९ (प्रहरीले राखेको नाम) को जाहेरीले बिक्री गरेको अभियोगमा गोल्चे– ५ का चिरकुम भनिने डेमा छिरिङलाई सोही ऐन अनुसार कैद तथा जरिवाना गर्ने फैसला भएको छ । अदालतले दोषीलाई १० वर्ष कैद, रु ५० हजार जरिवाना र प्रतिवादीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश दिएको छ । अभियुक्तले चौतारा (ए) (प्रहरीले राखेको नाम)लाई विसं २०६५ चैत ९ गते “कुबेत पठाइ दिन्छु” भनी घरबाट काठमाडौं लगेर बिक्री गरेको स्रेस्तेदार कार्कीले जानकारी दिए । अभियुक्त दाहाल गत वर्षको भूकम्पपछि भत्केको जिल्ला कारागारबाट फरार भएका थिए ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …

Leave a Reply

Your email address will not be published.