बर्दियामा नेकपा (क्रान्तिकारी माओवादी)स्थानीय स्तरमा धमाधम बैठक गर्दै
उत्पिडित जनताका लागि संघर्ष गर्ने निर्णय
बर्दिया । बर्दियामा नेकपा (क्रान्तिकारी माओवादी) स्थानीय तथा टोल स्तरमा धमाधम बैठक सम्पन्न गर्दै आएको छ ।
उक्त बैठक पोलिटब्यूरो सदस्य संकुलको प्रमुख आतिथ्यता र स्थानीय पार्टी सचिवहरुको अध्यक्षतामा संचालन भइरहेका छन । विभिन्न स्थानीय स्तरमा बसेको बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नका लागि सो पार्टीका सचिव विपिनले जनपथ खबरलाई जानकारी दिएका हुन ।
यस बैठकबाट राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई संयुक्त रुपमा अगाडि बढाउने,स्थानीय सरकारले गर्दै आएका जनविरोधी कार्यहरूको भण्डाफोर गर्ने,निर्माणका काममा हुने भ्रष्टाचारबारे सरकारलाई खबरदारी र जनकारबाही गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरिएको जनाइएको छ ।
बैठकमा उपस्थित सबै नेता कार्यकर्ताले देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा गर्न, भारतीय विस्तारवादद्वारा अतिक्रमित भूभाग फिर्ता ल्याउन र अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्दप्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजना खारेज गर्नका लागि देशभक्त शक्ति तथा व्यक्तित्वहरूलाई समेत समेटी संयुक्त आन्दोलन सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने निर्णय लिएकोे छ ।
बैठकले वर्तमान राज्यसत्ता, व्यवस्था र सरकार देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम लगाएत शोषित पीडित वर्गका आधारभूत आवश्यकता सम्बोधन र जनतन्त्रको सुनिश्चितता गर्ने काममा असफल भएकोले अब यस व्यवस्थाकाे नयाँ विकल्प दिन पार्टीलाई स्थापित गर्नका लागि आवश्यक तयारी तथा सङ्घर्षमा विशेष जोड दिने निर्णय गरिएको छ ।