पित पत्रकारिता र गोयबल्स शैली
बर्दिया । बिसौं शताब्दीको चौथो दशकको हिटलर कालिन समयमा एक जना संचारमन्त्री जोशेफ गोयबल्स थिए । उनले कुनै झुट कुरालाई सयौं चोटि दोहोर्याएर प्रचार गरियो भने त्यो सत्य हुन्छ भन्ने मान्यता राख्थे त्यसैको आधारमा फासिवादी राज्य र त्यसका चाटुकार संचार माध्यमहरुले आफ्नो प्रदर्शन गर्थे । परन्तु आज त्यसको नमुनाको रुपमा नेपाल को राज्य र संचार माध्यमलाई लिन सकिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव कमरेड किरणले नबोलेको विषयलाई शीर्षक बनाई सफलखबर डट कम लगायत अन्य केही सञ्चार माध्यमले निराधार ,भ्रामक र सुनियोजित ढङ्गले समाचार सम्प्रेषण गरेकोमा पार्टी प्रवक्ताले उक्त विषयहरुको प्रेस वक्तव्यद्वारा भ्रमपूर्ण समाचारको खण्डन गर्नु भएको छ ।
प्रेस–वक्तव्यको पूर्णपाठ
हालै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मङ्सिर ८ देखि १० गतेसम्म भएको पोलिट ब्यूरो बैठकले लिएका निर्णयहरु प्रेस–विज्ञप्ति मार्फत सार्वजनिक भइसकेका छन् । उक्त विज्ञप्तिमा उल्लेखित विषयलाई सम्प्रेषण गर्ने सन्दर्भमा “प्रचण्डले नेकपामा ल्याएको प्रतिवेदन सही र वस्तुवादी छ ः मोहन वैद्य” भन्ने शीर्षक दिएर सफलखबर डट कम लगायत अन्य केही सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । महासचिव कमरेड किरणले नबोलेको विषयलाई शीर्षक बनाई प्रसारित समाचारले भ्रम पैदा गरेको छ । हाम्रो पार्टी यस प्रकारको भ्रमपूर्ण समाचारको खण्डन गर्दछ र यसलाई सच्याउन सम्बन्धित सबै सञ्चार माध्यमलाई विशेष अनुरोध गर्दछ ।