राजसंस्थाको भौतिक संरचना त म्युजियम भइसक्यो:नवल खड्का

यस्का पात्रहरु फुटपाथमा भुस्याहा कुकुरसँग सुतिरहेका भेटिन्छन्

0 592

नायक/ निर्माता तथा सिमानामा काँडेतार अभियानता- नवल खडकाले जनपथ खबरसंग गरेको कुराकानी

प्रश्न-१)अहिले आएर राजसंस्थाको माग गर्न थालिनुलाई कसरी हेर्नु भएको छ ? 

मैले यसलाई अप्राकृतिक गतिविधिहरुका रुपमा बुझ्दैछु। जे जस्ता कारणले राजा फालिएर मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भयो, अब यो एक वास्तविकता भइसक्यो। राजसंस्थालाई त्यसका पात्रहरुले बदनाम गरिसके र त्यो संस्था अब छैन। त्यो संस्थाको भौतिक संरचना त म्युजियम भइसकेको छ भने त्यसका पात्रहरु राजा ज्ञानेन्द्र व्यापार र चिया वगानमा र उनका एक मात्र छोरा फुटपाथमा भुस्याहा कुकुरसँग सुतिरहेका देखिन्छन्। तीबाट भताभुङ्ग भएको राजसंस्था पुनः निर्माण हुन्छ भनेर सोच्नु नै दिवास्वप्न हो।

प्रश्न-२)मोटरसाइकल र्‍यालीबाटै राजसंस्था फिर्ता होला त ?                                                                 सर्वप्रथम यो र्‍याली कसले गराएको हो, त्यो नै रहस्य छ। यस्ता रहस्यहरु समाज र मुलुक कमजोर भएका बेलामा अराजकतावादीले गर्छन्। ऋतिक रोशन काण्ड कसले गराएको हो थाहा पाइएन तर त्यसले नेपालका मधेशी र पहाडवासीबीच मानसिक विभाजन गराइदियो जुन अहिलेसम्म पुरिन सकेको छैन। यसरी नै अहिलेका र्‍यालीहरु को द्वारा भइरहेका छन् हामीलाई थाहा छैन। यसकारण यसले के गर्न खोजेको भन्न सकिदैन। यतिमात्र भन्न सकिन्छ कि यस्ता मोटरसाइकल र्‍यालीहरु राजसंस्था फर्काउनका लागि होइन र यी बाट सम्भव पनि छैन।

किनकि माग गरिएको संस्था नेतृत्व गर्ने पात्रहरु नै सामाजिक आदर्श र मान्यताले अस्वीकार्य छन्। यो संस्था त्यतिकै पतन भएको होइन। राजसंस्थाको पतन हुनुमा राजा, राजपरिवार र ती आसेपासेका कुकृत्यका साथै प्रमुख रुपमा युवाहरुलाई रोजगार दिन नसकेर भएको हो। मैले त्यो रहस्यमय भीँडमा देखेको छु कि राजा फर्काउन पहिलाका उनका आसेपासे, केही असफल बौद्धिक समूह र राज्यले रोजगार दिन नसकेका युवाहरु छन्। तिनीहरुले बुझ्नुपर्छ कि राजासँग समाधान छैन। समाधान स्थीरताले मात्र ल्याउन सक्छ।

केही जोगी, सन्यासी र बाहुन तथा ठकुरी तथा क्षेत्रीभैयादहरु पनि हिन्दू धर्म रक्षा गराउन राजालाई डाक्दैछन्। तर राजपरिवारका सदस्यहरुले हिन्दू देवीदेवताका मूर्ति बेचेका कुराहरु उनीहरुले बिर्सी सके। त्यसमाथि आधुनिक विश्वमा धार्मिक राज्य असान्दर्भिक भइसकेको छ। अब नेपाल हिन्दू राज्य बन्दा विश्वले स्वीकार गर्न सक्ला भन्ने सोच्नै सकिदैन। त्यसैपनि नेपाल सधैं यहाँका विभिन्न नश्लका स्थानीय प्रकृतिवादी धर्महरु, हिन्दु, बौद्ध, इस्लामीहरुको साझा बगैचा हो।

केहीलाई लागेको छ, भारतका वर्तमान सत्तारुढ दल चाहन्छ। नभन्दै केही उग्र हिन्दूवादीले नेपालमा हिन्दू राज्य स्थापना हुनुपर्ने भाषण दिएका छन्। यस भाषणको गुह्य कुरो राजालाई सच्चा राष्ट्रवादी भन्नेहरुले बुझेका नै छैनन्– पहिलो कुरा भारतीय शासकले यस्तो नारा दिएर भारतका हिन्दू जनताको भोट तान्नु हो दोस्रो कुरा नेपालमा राजाको कार्ड देखाएर नेपालका शासक दललाई भारतीय हितको काम गर्न दवाव दिन हो। यसकारण राजाले हिन्दू धर्म रक्षा गर्ने नारा चर्काउने काम नै नेपालको सार्वभौमिकता विरोधी अराष्ट्रिय कुरा हो।

यी कुरा गरिरहँदा वर्तमान शासक दलहरु अजिम्मेवार भएका कारण यस्ता र्‍यालीमा जुलुसेहरु बढेका हुन्। यसलाई सरकार र प्रतिपक्ष दलले समेत हेक्का राख्नु पर्छ।

You might also like
Loading...