बाँकेमा कठपुतली सरकारद्वारा गरिएका राष्ट्रघात-जनघातका विरुद्ध विरोध सभा
बाँके । नेकपा (क्रान्तिकारी माओवादी)बाँकेले वर्तमान कठपुतली सरकारद्वारा गरिएका राष्ट्रघात-जनघातका विरुद्ध विरोध सभा गरेको छ ।
उक्त कार्यक्रम बुधबार बाँकेको नरैनापुरमा भएको हो । सो विरोध सभा कार्यक्रमको संचालन पार्टीका जिल्ला सेक्रेटरी क. प्रेम थापाले र सम्बोधन पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।
यस विरोध सभालाई सम्बोधन गर्दै न्यौपानेले वर्तमान संसदीय व्यवस्थाको विकल्प पुनः संसदीय व्यवस्था नै हुन नसक्ने ठोकुवा गर्नु भयो ।उहाँले यो व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक राजनीतिक व्यवस्था हुने बताउनुभयो । साथै अहिले देशमा किसान मजदुरहरुका समस्या दिनानुदिन बढ्दै गएको र यस समस्याको निकास संसदीय व्यवस्थाले दिन नसक्ने हुँदा त्यसका लागि संघिय जनघणतन्त्र स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।
साथै जनजीविका तथा जनतन्त्रका समस्या समाधानका निम्ति नेकपा क्रान्तिकारी माअोवादीले चलाएको आन्दोलनलाई साथ दिन सबैमा अपिल समेत गर्नु भयो ।