तिम्रा असभ्य शासनका,कलङ्कित इतिहासका पाना पानामा,मानिसका स्वप्नरक्तबाट,रङ्गीन बनाइ रहेका छौ

0 602

– डा. जग्दिश भण्डारी  ।। कविता

यो जो छ
जहाँ तिमी उभिरहेका छौ
जहाँ बसेर दुनियाँ हेरिरहेका छौ
भित्र बाहिर गरिरहेका छौ

माथिल्लो तला
तल्लो तला अनि
बिचको तला बनाएर
तला तलाका
आनीबानी र बेसभुसामा
फरक पारिरहेका छौ

यो जो छ
जात जात धर्म धर्म
लिङ्ग लिङ्ग
ईश्वर अल्लाह यिसुमा
बाँडेर खाइरहेका छौ
मन्दिर मस्जिद गिर्जामा
मानिस मानिसलाई
टाउको ठोकाएर
भजन भक्ति गर्न लगाएर
खोक्रो बनाइ रहेका छौ

यो जो छ
तिम्रा असभ्य शासनका
कलङ्कित इतिहासका
पाना पानामा
मानिसका स्वप्नरक्तबाट
रङ्गीन बनाइ रहेका छौ

यो जो छ
तिम्रो संसारको
बनोट – बुनोट
अक्षम्य अपराधिक
आचार विधान कानुन
ती सबैले अब
एउटा सुन्दर नयाँ
अन्तिम विद्रोह -ध्वंस
खोजिरहेको छ
संसारले
एउटा नयाँ संसार
अर्थात् मुक्त संसार
तिमीहरु बिनाको
संसार चाहिरहेको छ

You might also like
Loading...