महामारीमा लघुवित्तको दादागिरी: उल्लङघन गर्दै सरकारको निर्देशन
बर्दिया । छिमेकी मुलुक भारत सँगै नेपालमा पनि दोस्रो चरणको कोभिड १९ ले निकै उग्र रुप लिएको छ । यस्तो महामारीमा पनि लघुवित्त वित्तीय संस्थाहरुले दादागिरी स्वरुप जिल्ला प्रशासन कार्यालयबाट त्यहाँको अवस्था मध्ये नजर गरि जारी गरिएका निषेधाज्ञा उल्लङघन गरेको पाइएको छ ।
संस्थाको परिपत्रअनुसार कर्मचारीलाई फिल्डमा पठाउने गरेको विभिन्न लघुवित्तका शाखा प्रमुखहरुको गैर जिम्मेवार पूर्ण अभिव्यक्ति आइरहेको छ । राज्य भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी बैंक तथा वित्तीय संस्था कस्को मातहतमा हुन्छन ? यदि राष्ट्र बैंकको मातहतमा हुन्छन् भने यिनिहरुले सरकारले जारी गरेको नीतिनियम पालना गर्नु पर्छ वा पर्दैन ?
लघुवित्त संस्थाहरुले आफ्नो लगानीलाई सुरक्षित गर्नु पर्ने भएको भन्दै सङ्क्रमण नफैलियोस् भनेर जारी गरिएको निषेधाज्ञाको वेवास्ता गरी नेपालका विभिन्न ठाउँमा लघुवित्त वित्तीय संस्थाले आफ्ना माषिक बैठक नियमित सञ्चालन गर्दै समुदायस्तरमा सङ्क्रमण फैलाएको समुदायबाट गुनासो आइरहेको छ ।
लघुवित्तका कर्मचारी प्रत्येक्ष मानिसको सम्पर्कमा जाने र एक गाउँबाट अर्को- अर्को गाउँमा पनि समूह बैठक बसाउने, मान्छे भेला गर्ने जस्ता गतिविधि गर्ने हुँदा यसबाट कोरोना संक्रमण हुने उच्च जोखिम देखिन्छ ।
सरकारले जोखिम न्यूनीकरणका लागी गरेको निषेधाज्ञाबाट जनजीवन त्यसै पनि कष्टकर बनेको छ । साथै दैनिक जीवनयापनमा खाद्यान्नको व्यवस्थापनमा समस्या परिरहेका बेला एकातिर लघुवित्तले किस्ता मागेर तनाव दिएको छ भने अर्कोतिर समूह बैठकमा जाँदा संक्रमित भइन्छ कि भन्ने ठुलो त्रास छ । यस जटिल परिस्थितिमा सम्बन्धित निकायले यस किसिमका बैठक सञ्चालनमा निषेधाज्ञाभरि रोक लगाउनुपर्ने आम मानिसको गुनासो रहेको छ ।
साथै लघुवित्तबाट पीडित समुदायले अवस्था सामान्य भएमा लिएको ऋण तिर्न तयार रहेको बताएका छन । त्यसैले यस किसिमका बैठकबाट सङ्क्रमणको जोखिम बढिरहेको हुँदा स्थिति सहज नभए सम्मका लागि बैंक तथा वित्तीय संस्थाको कर्जा असुली बन्द गराउन सम्बन्धित निकायलाई आम मानिसको आग्रह रहेको छ ।