कपिलवस्तु हत्याकाण्ड: परपुरुषसंगको अनैतिक सम्बन्धका कारण श्रीमतीद्वारा श्रीमानको हत्या

0 446

कपिलवस्तु । ओम प्रकाश यादव र महिमा पाण्डे बिचको अनैतिक सम्बन्ध नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेय(श्रीमान)ले थाहा पाएपश्चात आपसी बिवाद, मनमुटाव भएपछि महिमाले ओम प्रकाश समेतका व्यक्तिहरुलाई प्रयोग गरी जेठ ५ गते दिपकलाई गोली हानी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाण्डेको जेठ १० गते मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

साथै ओम प्रकाश यादवले लुकाई राखेको १ थान पेस्तोल, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली, साकिर अलि पखियाले प्रयोग गरेको कटुवा पेस्तोल सहित २ थान गोली र रमजान साह मुसलमानले प्रयोग गरेको स्वचालित पेस्तोल, म्यागजीन तथा ८ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका-१ शिवमन्दिर टोल बस्ने महिमा पाण्डे, सोही ठाउँ आनन्दबाग बस्ने ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादव, आनन्दबाग कैलाश टोल बस्ने ३५ वर्षीय पूर्णवीर पाल्पाली (कुम्हाल), सोही नगरपालिका-२ बर्दाहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाँउपालिका-४ पोखरभिट्वा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डे, सोही गाउँपालिका-४ सेमरी बस्ने गोलु चौधरी भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका-५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका-१ माझीटोल बस्ने ३६ वर्षीय मोटे भन्ने नरसत अलि, कपिलवस्तु नगरपालिका-२ बरगदहवा बस्ने २६ वर्षीय प्रबिण गुप्ता, रमजान साह मुसलमान र साकिर अलि पखिया रहेका छन् ।

कपिलवस्तु नगरपालिका-६ गोबरीस्थित सडकमा सोही नगरपालिका-१ शिव मन्दिर टोल बस्ने ३४ वर्षीय दिपक पाण्डे समेतलाई अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी घाइते बनाएका थिए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर संगठित अपराध सजाय ऐन, २०७० बमोजिम जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

You might also like
Loading...