बर्दियामा क्रान्तिकारीहरु बीच तीव्र रुपमा ध्रुवीकरण
बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा(क्रान्तिकारी माअोवादी) पार्टीमा पछिल्लो समय क्रान्तिकारीहरु बीच तीव्र रुपमा ध्रुवीकरण भइरहेको छ ।
बर्दिया जिल्लाको गुलरिया नगर समितिले वडा नं. १ मा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा(क्रान्तिकारी माअोवादी) मा प्रवेश गर्नु भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता र संचालन चक्र बहादुर खत्रीले गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने र अतिथि जिल्ला सेक्रेटरी विपिन रहनु भएको थियो ।
त्यस कार्यक्रममा प्रशिक्षण दिने क्रममा वर्तमान समसामयिक राजनीति र पार्टीले खेल्नु पर्ने भुमिका बारे न्यौपानेले प्रशिक्षण दिनुभयो । साथै विपिनले पनि स्थानीय स्तरमा पार्टीले सक्रियतापूर्वक जनताको पक्षमा काम गर्नु पर्ने जस्ता विषय राख्नु भयो ।
त्यस प्रशिक्षण कार्यक्रम पश्चात् सोही ठाउँमा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी )को टोल स्तरीय कमिटी गठन भएको छ। जसमा चक्र बहादुर खत्रीको संयोजकत्वमा ३१ सदस्यीय कमिटी गठन भएको हो ।
त्यसैगरी अखिल नेपाल महिला संघ( क्रान्तिकारी ) मा मनिषा खत्रीको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ। साथै अनेरास्ववियु (क्रान्तिकारी )को शोभा खत्रीको संयोजकत्वमा १३ सदस्यीय इकाई कमिटी गठन भएको छ।