बर्दियामा नेकपा (क्रान्तिकारी माओवादी) द्धारा जग्गा कब्जा: भूमाफियाका विरुद्ध कडा संघर्ष गर्ने चेतावनी

0 1,122

बर्दिया । गुलरिया नगरपालिका वडा नं. १ चौधनम्बर खल्लास्थित सरकारी स्वामित्व रहेको १२ विघाको प्लट मध्य तीन विघा जमिन नवराज अधिकारीले आफ्नो र आफ्नो परिवारको नाममा जग्गा धनि प्रमाण पूर्जा प्राप्त गर्नु भएको थियो । उक्त जमिन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरेको छ ।

शुक्रबार सो पार्टीका जिल्ला सचिव विपीनले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा कब्जा गरेको घोषणा गर्नु भएको छ । उक्त पार्टीले हिजो सो जग्गामा झण्डा,व्यानर गाडेर कब्जा गरेको हो । साथै, पार्टीको ऐतिहासिक निर्णयका विरुद्धमा कुनै संस्था वा व्यक्तिले कुचेष्टा वा निर्णयको उलंघन गरेमा कडा संघर्ष गर्न बाध्य हुने प्रेस विज्ञप्तिमा जनाईएको छ ।

उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा रहेको र लामो समय देखि किसानहरुले जोतभोग गर्दै आएता पनि जालसाजी गरेर भूमाफिया र सरकारी कर्मचारीको मिलोमतोमा प्राप्त गरेका जग्गा धनि प्रमाण पूर्जा बदर गरी उक्त जमिन राष्ट्रियकरण गर्न सो पार्टीले नेपाल सरकारसंग जोडदार माग गरेको छ । साथै,गरिव किसानहरुलाई घरवारविहीन बनाउने र सामाजिक अस्तित्वबाट नै निषेध गर्ने जनविरोधी तत्वको र यस्ता प्रकृतिका हर्कतको पार्टीले घोर भत्र्सना एवं निन्दा गरेको कुरा विज्ञप्तिमा बताईएको छ ।

विज्ञप्तिको पूर्णपाठ:–

                                                                                                                 प्रेस विज्ञप्ति

गुलरिया नगरपालिका वडा नं. १ चौधनम्बर खल्लास्थित १२ विघाको प्लट मध्य तीन विघा जमिन नवराज अधिकारीले आफ्नो र आफ्नो परिवारको नाममा जग्गा धनि प्रमाण पूर्जा प्राप्त गरेको विषयले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा रहेको र लामो समय देखि किसानहरुले जोतभोग गर्दै आएका छन । अपितु जालसाजी गरेर भूमाफिया र सरकारी कर्मचारीको मिलोमतोमा प्राप्त गरेका जग्गा धनि प्रमाण पूर्जा बदर गरी उक्त जमिन राष्ट्रियकरण गर्न हाम्रो पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ । साथै,गरिव किसानहरुलाई घरवारविहीन बनाउने र सामाजिक अस्तित्वबाट नै निषेध गर्ने जनविरोधी तत्वको यस प्रकृतिका हर्कतको पार्टी घोर भत्र्सना एवं निन्दा गर्दछ ।

मुलत: भूमाफिया नवराज अधिकारीले सरकारी स्वामित्व र किसानहरुको जोतभोगमा रहेको जमिनको प्रमाण पूर्जा प्राप्त गर्ने कुनै आधार नै भेटिदैन । किन्तु उनले प्रमाण पूर्जा प्राप्त गर्न सक्दैनन् भन्ने कुराको निम्न तथ्यहरुद्धारा पुष्टि गर्न सकिन्छ : पहिलो कुरा: लामो समय देखि किसानहरुह जोतभोग गर्दै आइरहेका छन । दोस्रो कुरा : उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा रहेको स्थिति हो । तेस्रो कुरा: भूमाफिया नवराज,वडा अध्यक्ष प्रताप गौतम र मालपोत कार्यालयका केही कर्मचारीहरुले किसानहरुलाई केही रकम दिएर त्यस जमिनबाट विस्थापित गरी बिरोधरहीत स्थितिबाट एकलौटी बनाउने कसरत गरी रहेको कुरा गोप्य सूचनाद्धारा प्रमाण प्राप्त भएको छ । उपरोक्त तथ्यहरुको आधारमा सम्बन्धित र सरोकारवालाहरुबाट न्यायसंगत फैसला वा निर्णय आउन नसकेकै कारण उत्पीडित वर्ग समुदायको नेतृत्व गर्ने पार्टीको लागि अब नयाँ क्रान्तिकारी विकल्प रोज्नु बाहेक अर्को कुनै विकल्प रहेन । अपितु ठोस परिस्थितिको ठोस विश्लेषण गरी पार्टीको नीतिगत निर्णय अनुरुप पार्टी उक्त जग्गा कब्जा गरेको घोषणा गर्दछ ।

अत: नयाँ जनवादी क्रान्तिको मान्यता,निर्दिष्ट लक्ष्य र टार्गेट अनुरुप हाम्रो पार्टीले ऐतिहासिक निर्णय लिएको छ । यस निर्णयका विरुद्धमा कुनै संस्था वा व्यक्तिले कुचेष्टा वा निर्णयको उलंघन गरेमा हाम्रो पार्टी कडा संघर्ष गर्न बाध्य हुनेछ । साथै, उक्त संघर्षबाट उत्पन्न समस्याको जिम्मेवार पनि सम्बन्धित पक्ष नै हुने कुरा प्रष्ट पार्न चाहन्छौं ।
मिति: २०७८/०८/०३

……………
क.विपीन
सचिव

You might also like
Loading...