पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीद्धारा पार्टी नेतृत्वहरुलाई ज्ञापन पत्र

0 230

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) लगायत ६ वटा विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखेका छन् ।

आन्दोलनरत विद्यार्थी संगठन सम्बद्ध पार्टी नेतृत्वहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वलाई ज्ञापन पत्र बुझाइएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव अस्वस्थ रहेकोले विद्यार्थीहरुले पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउने क्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने, नेकपा (विप्लव) निकट विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी कार्यालयमा ज्ञापन पत्र बुझ्दै विद्यार्थीहरुको आन्दोलनप्रति आफ्नो पार्टीको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्न सुझाब दिनुभयो ।

संयुक्त विद्यार्थी आन्दोलनले शनिबार नेकपा (मसाल) र नेकपा (विप्लव)लाई पनि ज्ञापन पत्र बुझाएको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गरी अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष रुपमा तेलजन्य कच्चा पदार्थ नेपालमा आयात हुने वातावरण तयार गरेर दीर्घकालीन रुपमा समस्याको समाधान खोज्दै जनताको जनजीविकाकालई सहज बनाउन सत्ता साझेदार पार्टीहरु र सत्ता बाहिर रहेका पार्टीहरुबाट संयुक्त, विद्यार्थी संगठनले महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा मूल्यवृद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी संगठन देशभर कठोर आन्दोलन सिर्जना गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

ज्ञापन पत्रमा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर रहेको छ ।


You might also like
Loading...