नेपाल माथि छिमेकी नजर: प्रेम प्रसाद तिमिल्सैना

0 320

छिमेकी भन्नाले समाजमा मिलेर बसेका आपसमा सहयोग, सदभाव,आपतविपतमा साथ दिने,व्यक्ति वा परिवारहरु भन्ने बुझिन्छ । त्यसैगरी छिमेकी देश भन्नाले पनि त्यहीँ अर्थ लाग्छ । अन्य देशहरुको हस्तक्षेप,आक्रमण तथा अन्य कुनै संकट परेको समयमा सहयोग दिनु र लिनु भन्ने मूलमर्म छिमेकीको हुन्छ । यदि त्यसो हुदैन भने त्यसलाई छिमेकी मान्न सकिदैन ।अफ्ठ्यारोमा रमिता हेर्नेलाई निस्क्रिय शत्रु माने हुन्छ ।

नेपालको परिपेक्षमा छिमेकी भन्नाले पहिलो नम्बरमा भारत र दोस्रो नम्बरमा चीन आउँछ । कला,सँस्कृति,भाषा,परम्परा,धर्मभौगोलिक अवस्था र सुगमताको हिसावले भारतसंगको सम्बन्ध आदिम कालदेखि निरन्तर चलिरहेको छ । भाषा,धर्म,सँस्कृति,रोजगारी, र परम्पराले  एउटै भए पनि नेपाल भारत दुई स्वतन्त्र सार्वभौम सम्पन्न देश हुन । यी दुवैले एक अर्काको स्वतन्त्रता स्वीकार गरिसेका छन । साथै,एक अर्कोसँग पंञ्चशीलताको आधारमा विभिन्न विषयमा आधारित सन्धि सम्झौता पनि गरी सकेका छन । जुन सन्धि सम्झौताले स्वतन्त्र दुई देश स्वीकार गरेको हुनु पर्छ । यदि छैन भने त्यो असमान हुन जान्छ ।

सम्पूर्ण युवाशक्तिको शैक्षिक योग्यता,शारीरिक अवस्था र रुची निर्धारण गरी तिनीहरुलाई राष्ट्रियताको भावनाले ओतप्रोत हुने गरी दुई बर्ष शैन्य तालिम र प्रशिक्षण दिनुपर्छ ।

भारतको सन्दर्भमा हेर्दाखेरी नेपाललाई स्वतन्त्र अविभाज्य सार्वभौम सम्पन्न मुलुक स्वीकार गरेको छ । तर पनि भारतको सत्तामा आएका राजनीतिक दलहरुले नेपाल माथि हस्तक्षेपकारी,र मित्रताको नभई आदेशकारी व्यावहार गरेको झल्किन्छ । पटक–पटक सीमामा अतिक्रमण हुन्छ । सुगौली संन्धिले निर्धारण गरेको सीमा रेखा स्पष्ट हुँदा हुदै अन्तर्राष्ट्रिय मान्यता अनुसार नदीको उद्गम स्थल मान्ने आधारलाई जानी जानी बुझपचाई काली नदीलाई गुन्जीदेखि सानो शाखालाई देखाई कालापानी,लिपुलेक,लिम्पियाधुरा ६० बर्ष देखि कब्जागरी आफ्नो देशको सीमा नक्सामा समेटेको छ । जुन मित्र राष्ट्रको धर्म होईन एकातिर भारतको सत्तामा बस्नेहरु नेपालभारको घनिष्टता अकाट्य छ,रोटी–बेटीको सम्बन्ध छ । खोलानालाको सम्बन्ध छ । उत्पादन र बजारको सम्बन्ध छ । भौगोलिक सम्बन्ध छ । यी सम्बन्धले बाधिएको रटान गरी कहिले सत्ता बाहिरको राजनीतिक दललाई उचालेर सरकार ढाल्ने,भारत विरोधी सरकारका कामकाजमा टीप्पणी र सरकार ढाल्ने शक्ति स्थापना गर्ने काम गरिनु खेदजनक छन ।

दुई देशिय सम्बन्ध रोटी बेटीको छ । सन १९५० को सन्धिले दुवै देशका नागरिक विना भिषा निर्वाध रुपमा एक अर्को देशमा जान आउन तिर्थ,पर्यटन, रोजगारी र व्यवसाय गर्न सक्ने छुट दिएको छ । तर विडम्बना रोजगारी गरी घर फर्किने सोझा नेपाली श्रमिकमाथि हुने भारतीय सुरक्षाकर्मी र त्यहाँका नागरिक र रोजगारदाताको व्यवहार सहि नसक्नु छ । तर नेपालमा भारतीय नागरिकलाई त्यस्तो दुरव्यवहार गरिदैन त्यसको मुल कारण त्यँहाको सत्तादेखि सत्ताका आसेपासेको नेपाल माथिको नजर सानो,गरिव,भूपरिवेष्ठित,भारत निर्भर भन्ने छ । त्यसकारण नेपाली श्रमिक माथि सीमाको भारतीय सुरक्षा कर्मी तथा नागरिकबाट वेलायतीहरुले गर्ने व्यवहार मुक्त नभएको देखिन्छ ।

भारतले कालापानी,लिपुलेक,लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिसकेपछि नेपाल सरकार र नेपाली नागरिकहरुले सुगौली सन्धिमा निर्धारण गरिए बमोजिम लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने अडान राखी त्यो भुभाग आफ्नो देशको नक्सामा समावेश गरिसकेपछि कतिपय औपनिवेसिक मानसिकता बोकेका भारतीय मिडियाकर्मी र नागरिक तथा राजनीतिज्ञहरुले नेपालले यो कदम कसैको उक्साहटमा गरेको आरोप लगाए । साथै, त्यो गर्ने शाहस कहाँबाट आयो । यसको पछाडी अर्कै शक्ति छ । नेपाली प्रधानमन्त्रीको आफ्नो देशको सिमानाको बारेमा बोल्ने हैसियत होइन, अहिलेसम्मका कुनै शासकले शाहस गरेका थिएनन्,त्यो शाहस कहाँबाट आयो । अब चीनले नेपालको सत्तामा हस्तक्षेप गर्यो भनी भारतीय हस्तक्षेपलाई वर्तमान सरकारले नटेरेको कारणले औपनिवेशिक चश्मा लगाएका भारतीय मिडिया बौलाएका छन । नेपालले छिमेकी राष्ट्रको सिमा रक्षाको लागि देशको युवा शक्तिलाई पठाएको छ । सीमानामा हुने लडाईको फ्रन्टलाइनमा नेपालीको रगत बग्छ । त्यसको साटो नेपाललाई भारतीय मिडिया,नेता र त्यहाँका नागरिकहरुले भारतसंग आफ्नो सीमाको विषयमा बोल्ने शाहस कहाँबाट आयो भन्छन । जहाँ नेपालीहरुले आफ्नो ज्यानको प्रवाह नगरी भारतको सिमा रक्षा गर्न वीरक्षापूर्वक छाती थापी गोली र तोपलाई चुनौती दिन्छन । मलाई लाग्छ नेपाललाई राष्ट्रियताको लागि बोल्न शाहस कहाँबाट आयो भन्नेहरु दृष्टिविहिन छन । छिमेकी राष्ट्र भारतको नेपाललाई मित्र देश नभई भाई देश,नेपालीलाई मित्र देशका नागरिक नभई उपनिवेशका नागरिक भन्ने मानसिकता र दृष्टि छ ।

नेपालको अर्को छिमेकी मूलुक चीन छ । चीनीया सरकार तथा नागरिकहरुको नेपालप्रति कस्तो दृष्टि छ भन्ने कुरा आंकलन पनि सहजै गर्न सकिन्छ । नेपालमा रहेको चिनियाँ दुतावास, नेपालमा रहेका चिनिया नागरिकले जनाउँछन । चिनीया राजदुतको प्रत्येक राजनीतिक दलका नेताहरुलाई दिनहुँ भेट्नु,अस्वभाविक रुपले सक्रिय हुनु,कुटनीतिक मर्यादालाई ध्यानमा नराखी भेटघाट गर्नुले नेपालप्रतिको दृष्टिकोण भाई राष्ट्रको नै देखिन्छ । त्यसैगरी सिंहदबार अगाडी चिनिया नागरिकहरुको प्रदर्शनमा प्रहरीमाथि गरिएको आक्रमणले चिनिया नागरिकहरुले नेपाली तथा नेपाल प्रहरीमाथिको दृष्टिकोण आंकलन गर्न सकिन्छ । त्यस कारण हाम्रा यी दुई ठुला छिमेकी सरकार तथा त्यहाँका नागरिक र नेताहरुको नजरमा नेपाली गरिव,कमजोर र साना छन भन्ने भाव झल्किन्छ ।

नेपाललाई उत्तर–दक्षिणका छिमेकीसंगको शक्ति सन्तुलन गर्न के गर्नु पर्ला भन्ने प्रश्न उठ्छ । त्यसको लागि सरकारले नै अहम भुमिका खेल्नु पर्छ । सम्पूर्ण युवाशक्तिको अभिलेख, तिनीहरुको शैक्षिक योग्यता,शारीरिक अवस्था र रुची निर्धारण गरी तिनीहरुलाई राष्ट्रियताको भावनाले ओतप्रोत हुने गरी दुई बर्ष शैन्य तालिम र प्रशिक्षण दिनुपर्छ । कुनै पनि काम संगठानिक पद्धतिमा केन्द्रिकृत गराई अनुशासित पार्नु पर्छ ।आवश्यकताका आधारमा राज्यले कृषि,उद्योग,सरकारी सेवा, रक्षा र अन्य आवश्यक क्षेत्र छुट्याई मानव जनशक्ति छुट्याउनु पर्छ । सैन्य संगठन जस्तै गरी उत्पादन, कृषि क्षेत्र र सेवा क्षेत्रमा निरन्तर आवश्यकता अनुसार काम गरी राष्ट्रिय निर्भरता र सकेसम्म देशभित्रको उत्पादित श्रमशक्ति देशमा खपत गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाएर परनिर्भरता हटाएमा नेपालीले विदेशमा हेपिने एवं आत्मस्वाभिमान गुमाउनु पर्दैन । साथै,राष्ट्रिय सुरक्षाको निम्ती कम्तीमा दश लाख नियमित र बिस लाख संरक्षित सैन्य शक्ति र युद्धकला र प्रविधिले नेपाली सु–सज्जीत भएमा कसैको हस्तक्षेप र अतिक्रमण सहनु पर्दैन ।

–  प्रेम प्रसाद तिमिल्सैना

 

You might also like
Loading...