एमसीसी बारे सावधानः सियो बनेर पस्ने फाली बनेर बस्ने रणनीति हुनसक्छ

0 345

आजकल नेपालमा एमसिसि को निकै चर्चा परिचर्चा हुने गरेको छ । एउटा शक्ती यसलाई तुरुन्त पास गर्ने र अर्को शक्ती कुनै हालतमा गर्न नहुने अडानमा छन भने एउटा शक्ती आफुलाई राजनीतिक फाइदा हुने सर्तमा टाउकोले टेकेर पास गर्न उद्धत देखिन्छ । यसका लागि सत्तारुढ गठबन्धनमा टुटफुट, शभामुखको बहिर्गमनको सर्त सहित मौकामा चौका हान्ने दाउमा बल्छि थापेर बसेको छ ।
कोहि कोहि मानिसहरु एमसिसिसंग सम्बन्धित पुरै सक्कल कागजात गोप्य नै रहेको बाहिर आएका दस्तावेजहरु अधुरा अपुरा टुक्राटाक्री मात्र हुन पनि भन्ने गर्दछन । आफुलाई क्षणिक फाइदा हुने भएपछि देश र जनताको आँखामा छारो हाल्न सिपालु कतिपय नेताहरुलाई दस्तावेजमा के छ भन्दा पनि के भनेर जनतालाई ढाँटन सकिन्छ भन्ने तानाबाना बुन्नमै ब्यस्त देखिन्छन । महाकाली सन्धी पारीत भएपछि देश बिकशित हुन्छ, बर्षेनी अरबौं रकम आम्दानी हुन्छ भनेर रातारात सन्धी गरियो तर पचीसौं बर्ष बितिसक्दा पनि एक पैसो आम्दानी भएको देखिंदैन, बरु त्यहि सन्धिलाई आधार बनाएर लिपुलेक, कालापानीमा समेत भारतले कब्जा जमाएर आफ्नो शक्ती सुदृढ गरिरहेको छ । हामी निरिह बनेर टुलु टुलु हेरेर बसेका छौं ।

एमसिसि परियोजनाको बजेट नेपाली जनता गरिब भए भनेर हाम्रै मायाले मात्र दिएको होला कि उसका आफ्नै स्वार्थ होलान ? यकिन भन्न सकिन्न तर सियो बनेर पस्ने अनि फाली बनेर बस्ने पश्चिमा शक्तिराष्ट्रको स्वार्थी खेलको बारेमा हामीले छिमेकि मुलुक भारतको घटना क्रमबाट केहि सिक्न जरुरी छ ।

सन् १६०० मा केहि ब्यपारीहरुले इङ्ल्याण्डकी महारानी एलिजावेथबाट भारतमा व्यापार व्यवशाय गर्ने अनुमति प्राप्त गरी ईस्ट इण्डिया कम्पनी नामको एक कम्पनी बनाए । सन् १६०८ मा ईंगल्याण्डबाट ‘हेक्टर’ नामको एक जहाज भारत को लागि निस्क्यो । यो जहाजको क्याप्टेनको नाम हाकिंस थियो । यो जहाज इङ्ल्याण्डबाट आएर २४ अगष्ट १६०८ मा त्यतिबेलाको भारतको प्रमुख व्यापारीक केन्द्र रहेको सूरत बन्दरगाहमा आएर रोकियो । त्यति बेला भारतमा मुगल बादशाह अकवरको छोरा जहाँगीरको शासन थियो । जहाजको क्याप्टेन हाकिंसले आफ्नो साथमा बादशाह जहाँगिरलाई इङ्ल्याण्डको बादशाह जेम्स प्रथमले लेखेको एउटा पत्र पनि लिएर आएका थिए । क्याप्टेन हाकींस बादशाह जहाँगीरको राजदरबारमा पुगेर आँफुलाई राजदूतको रुपमा प्रस्तुत गर्दै घुँडा टेकेर पत्र हस्तान्तरण गरे ।

बादशाह जहाँगीरले भारतीय परम्परा अनुसार अतिथिलाई विशेष स्वागत र सम्मान दिए । हाकिंस पाइलट वा राजदुत बनेर आएको भएता पनि उसको भित्री मकसद भारतमा ब्यापार ब्यवशाय बृद्धि गर्नुनै रहेको थियो ।

हाकिंसले बिस्तारै बिस्तारै बादशाह जहाँगिरसंग सुमधुर सम्बन्ध स्थापित गर्दै गए । त्यतिबेला भारतमा युरोपेली मुलुक पोर्चुगालबाट आएका व्यापारीहरुले राम्रो ब्यापार ब्यवशाय गरिरहेका थिए । हॉकिंसले बादशाह जहाँगीरलाई पोर्चुगालीका बिरुद्ध भड्काएर इङ्ल्याण्डका ब्यापारीका लागि केहि विशेष सुविधा र अधिकार लिन सफलता प्राप्त गरे । बादशाह जहाँगिरबाट प्राप्त गरेको यहि बिशेष सुबिधा र अधिकार प्रयोग गरेर अंग्रेजले बिस्तारै आफ्नो शैनिक शक्ती बढाउदै गयो । ६ फेब्रुअरी सन् १६१३ मा बादशाह जहाँगीरले एउटा आदेश जारी गरी अंग्रेजलाई सूरतमा कारखाना स्थापना गरी व्यापार गर्ने इजाजत प्रदान गरे । यो इजाजतपत्रमा आफ्नो राजदरवारमा इंल्याण्डको राजदुत समेत बस्न सक्ने व्यवस्था थियो । यसै बमोजिम सन् फलस्वरूप सर टॉमस रो नामको राजदुत सन् १६१५ मा राजदूत बनेर भारत आए।

जहागिरको मृत्यु पछि उनको छोरा शाहजहाँ को शासन-कालमा सन् १६३४ मा अंग्रेजहरुले शाहजहाँलाई खुसी बनाएर भारतमा पोर्चुगालीहरुको ब्यापार ब्यवशायमा प्रतिबन्ध लगाइ पुरै ब्यापार ब्यवशाय एकलौटी बनाउन सफल भए ।
बादशाह शाहजहाँको मृत्यु पछि शासक बनेका उनका छोरा औरंगजेब एक कट्टर सुन्नी मुशलमान थिए । उनले सिया मुसलमान, हिन्दु,, सिखहरु उपर अत्याचार गरे । हिन्दुहरुका मन्दिर भत्काएर मस्जिद बनाए । जसको फलस्वरुप उनि एक अलोकप्रिय शासकको रुपमा दर्ज भए ।

सन् १७५७ मा प्लासी युद्ध भयो । यो युद्धमा मुगल साम्राज्यको एक अभिन्न अङ्गको रुपमा रहेको बंगालको नबाब सिराजुद्दौलाको हार भयो । यो युद्धपछि मुगल साम्राज्य पतन र भारतको बागडोर इष्ट इण्डिया कम्पनिको कब्जाको आधारशिका निर्माण भयो । अन्ततोगत्वा भारतीय जनता १९० बर्षसम्म अंग्रेजको गुलाम बन्न बाध्य भए ।

जसरी पनि सहयोग लिनै पर्छ भन्दै बलजफ्ति घिचाउँदै गरेको यो एमसिसि परियोजना कतै री सियो बनेर पस्ने अनि फालि बनेर बस्ने रणनीति त होइन ? आज परियोजना दिने अनि भोली हामीलाई आफ्नै देशमा सरणार्थी बनाएर राख्ने त होइन ? एक पछि अर्को सर्तले बाँधेर हामीलाइ आत्मशमर्पण गर्न बाध्य पार्ने त होइन ? हाम्रो देशको प्राकृतिक सम्पदा, धर्म सस्कृति, रितिरिवाज र सामाजिक सद्भावलाई आफ्नो स्वार्थ अनुकुल परिचालन गर्ने र हामीलाई निरिह बनाउने त होइन ? अलि गम्भिर ढंगले राष्ट्रब्यापि बहस, छलफल गरेर मात्र निर्णय गर्नु उचित होला । यसका लागि आवश्यक पर्यो भने जनमत संग्रह गर्न पनि पछि पर्नुहुन्न । आँखा चिम्म गरेर पास गर्दा महाकाली सन्धीमा जस्तै हामी नेपाली फेरी पनि ठगिन सक्छौं । दुइ चार जना लोभि, पापी नेता मात्र हाँस्ने सारा नेपाली जनता रुनुपर्ने अवस्था आउन सक्छ । समुद्रमा खसेको औंठी करौडौं डुबुल्कि मारे पनि भेटिंदैन भन्ने कुरा हेक्का राखौं ।
१७ माघ २०७८– रमेश थापा

You might also like
Loading...