निर्वाचन बहिस्कार आन्दोलनको रुपमा ३३ औं जनआन्दोलन दिवस मनाइयो

0 459

काठमाडौँ । चैत्र २४ लाई राष्ट्रिय जनआन्दोलन दिवसको रुपमा प्रत्येक वर्ष मनाउँदै आएको नेकपा (क्रान्तिकारी माओवादी)ले ३३ औं जनआन्दोलन दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ । काठमाडौं उपत्यकामा पार्टीको प्रदेश ३ ले ‘३३ औं जनआन्दोलन दिवस समारोह’को आयोजना ग¥यो । रत्नपार्क शान्तिबाटिकामा आयोजना गरिएको कार्यक्रमलाई पार्टीका स्थायी समिति सदस्य परि थापा, पार्टी केन्द्रीय सदस्यद्वय शारदा महत र बसन्त बोगटीले सम्बोधन गर्नुभएको थियो ।


पार्टीका पिविएम पवनमान श्रेष्ठको अध्यक्षता तथा अर्का पिविएम तथा प्रदेश सेक्रेटरी सुरेश श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता थापाले ०४६ सालको जनआन्दोलनको सविस्तार चर्चा गर्दै कम्युनिस्ट क्रान्तिकारीहरुले इतिहासको बारेमा सही ज्ञान राख्न आवश्यक रहेको बताउनु भयो । उहाँले कम्युनिस्ट पार्टीको आवरणमा रहेका अवसरवादी र संशोधनवादी प्रवृत्तिका नेताहरुले जनताले गरेको मुक्तिकामी संघर्ष वा आन्दोलनमाथि पटक पटक धोका र गद्दारी गर्ने गरेको बताउँदै रुप पक्षमा व्यवस्था बदलिएको देखिए पनि जनताको अवस्थामा कुनै परिवर्तन नआएको स्पष्ट पार्नुभयो ।


सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले हरेक कालखण्डमा हुने आन्दोलन, विद्रोहमाथि अवसरवादी र संशोधनवादीहरुले दिने धोका र गर्ने गद्दारीका विरुद्ध निरन्तर आवाज उठाइरहनु पर्ने आवश्यकता औल्याउँदै नेता थापाले क्रान्तिकारीहरुले एकताबद्ध भएर प्रतिक्रियावादी सत्ता, व्यवस्था र दक्षिणपन्थी अवसरवादी तथा संशोधनवादीहरुका विरुद्ध संघर्षलाई सशक्त रुपमा अगाडि बढाउनु पर्छ । चैत्र २४ बाट सच्चा देशभक्त क्रान्तिकारीहरुले यही शिक्षा लिनुपर्नेमा जोड दिंदै उहाँले धोकेबाज नेताहरुले इतिहासमा पटक पटक राष्ट्रघात र जनघात गरेको बताउनु भयो ।


संसदीय व्यवस्था रहेसम्म देश र जनताको अवस्थामा कुनै सुधार नआउने ठोकुवा गर्दै उहाँले त्यसैकारण संसदीय व्यवस्थाको कथित स्थानीय निर्वाचन आफुहरुले सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो र उहाँले सच्चा देशभक्त र आमूल परिवर्तनका पक्षधर जनसमुदायलाई निर्वाचन बहिस्कार आन्दोलनलाई सफल पार्न आव्हान पनि गर्नुभयो ।


कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले पनि संसदीय व्यवस्थाको निर्वाचनले भ्रष्ट, देशघाती र जनघाती तत्वहरु उत्पादन गर्ने भएकाले यो निर्वाचन सशक्त रुपमा बहिस्कार गर्नु परेकोमा जोड दिनुभयो । त्यसैगरी चितवन, बुटबल, बर्दिया लगायत प्रदेश र जिल्लाको आयोजनामा विभिन्न कार्यक्रम गरी स्थानीय निर्वाचन बहिस्कार आन्दोलनकै बीच जनआन्दोलन दिवस मनाइएको सम्बद्ध स्रोतले जनाएको छ ।

You might also like
Loading...