कमान्डरलाई चिट्ठी
– सुनिता बुढाथोकी
म सचेत छु कमान्डर!
इतिहासको सम्मान गर्नुपर्छ ।
तर जब इतिहास दर्शनत: व्यवहारत:
वर्तमानमाथि शासन गर्ने दुस्साहस गर्छ
वर्तमानले विद्रोह गर्छ ।
मैले तिम्रो दुस्साहस विरुद्ध विद्रोह गर्नुपर्छ ।
न अरस्तु, न सिकन्दर!
न चाणक्य, न चन्द्रगुप्त !
न चे ग्वेभारा, न माओ !
तिम्रो कारखाना ! गतिका विरुद्ध छ ।
क्रान्तिकारी चेतनाका विरुद्ध छ ।
द्वन्द्वात्मक भौतिकवादका विरुद्ध छ ।
के तिमिलाई थाह छ कमान्डर ?
तिम्रो कारखानामा तयार हुँदै गरेका
चाङ काओ थाओ र लिन प्याओका बुख्याचाहरु को हुन ?
जो सिङ्गो धर्ती र मानवजातिका निम्ति
कुरुप खतरा हुन ।
त्यो लाल-पथ थियो ।
जहाँ तिमीले हाँकिरहेको
क्रान्ति रथ थियो ।
तिमिसँगै अघि बढ्ने
हाम्रो संकल्प-सपथ थियो ।
हाम्रो संकल्प-सपथ
बदलिएको छैन/बदलिने छैन ।
हाम्रो लाल-पथ
बदलिएको छैन/बदलिने छैन ।
अविचलित छ हाम्रो वर्गीय निष्ठा !
चिङ-काङ-साङ पहाड जस्तै ।
तर तिमी त त्यो पहाडमाथि उड्ने
बादल जस्तै भएछौ।
दुनियाँमा भ्रमको शासन छ ।
तिमी पनि एउटा भ्रम हौं ।
तर सत्य यो छ कि, एकदिन
प्रत्येक भ्रम पराजित हुन्छ ।
सत्य जित्छ । नयाँ युग उदाउँछ ।
म अन्तिम पटक
तिमीलाई भ्रममुक्त हुन
अपिल गर्दैछु !