संसदीय निर्वाचन बहिष्कार अभियान तीव्र पार्दै: क्रान्तिकारी माओवादी
प्यूठान । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको आयोजनामा कथित संसदीय निर्वाचनको सक्रिय बहिष्कार अभियान प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका अन्तर्गत दर्भानबाट औपचारिक रुपमा हिजो उद्घाटन भएको छ ।
उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवं रोल्पा र प्यूठान जिल्ला इन्चार्ज टिकाराम पौडेलले गर्नु भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि तथा पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
उद्घाटनको क्रममा उहाँले हाम्रो अभियानले जनताको आलोचनात्मक चेतना तथा विद्रोहको स्थितिलाई संगठित गरी विद्यमान संकटको समाधान र पुरानो सत्ता र व्यवस्थाको विकल्पको रुपमा संघीय जनगणतन्त्रको स्थापनाको आधार तयार पार्ने तथा मुलुकलाई सही निकास तर्फ लैजाने अभियानको मूल अभिप्राय रहेको चर्चा सहित अभियानको लक्ष्य र उद्देश्यहरुको विषयमा सारगर्भित विचार प्रकट गर्नु भयो ।
साथै,उहाँले असफल पुरानो सत्ता र संसदीय व्यवस्थालाई ध्वंस गरी संघीय जनगणतन्त्र स्थापना गर्नु नै आजको सही र वैज्ञानिक विकल्प रहेको पनि ठाेकुवा गर्दै आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा आम सचेत नागरिकहरुमा विशेष अपिल समेत गर्नु भएको थियो ।
प्रदेश सदस्य कृष्ण रानाले संचालन गर्नु भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समीर, बिपीन र लक्ष्मी तथा प्रदेश थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामजी थारु, दाङ्ग जिल्ला सचिव शिशिर लगायतका नेताहरुको अतिथ्यता रहेको थियो ।