‘जादु हाम्रो दर्शनको जरो’

0 194

नेपाली कम्युनिस्ट आन्दोलनका अभियन्ता मोहन वैद्य ‘किरण’ दर्शनशास्त्रीसमेत हुन् । उनका ‘संघर्षको दर्शन’, ‘क्रान्ति र सौन्दर्य’, ‘मार्क्सवाद र संस्कृति’ लगायत किताब प्रकाशित छन् ।

पछिल्लो किताब ‘हिमाली दर्शन’ गम्भीर पाठक, समीक्षकबीच प्रशंसित छ । भन्छन्, ‘हिमाली दर्शनलाई सिंगो पूर्वीय दर्शन भन्नु बेठिक हो ।

मान्छेहरू भन्छन्– दर्शनसम्बन्धी किताब छिचोल्न असाध्यै गाह्रो छ । यो साँच्चै गाह्रो विषय हो कि दार्शनिकहरूले गाह्रो बनाइदिएको ?

साँचो अर्थमा भन्नुपर्दा दर्शनबिना कोही पनि चल्न सक्दैन । दर्शनसम्बन्धी काम गरिरहेका मान्छेलाई पनि आफूले दर्शनसम्बन्धी काम गरेको थाहा हुँदैन । कुनै पनि विषयमा जाँदाखेरि त्यसको मूल विषयवस्तुबारे थाहा हुनैपर्‍यो । जुनसुकै शास्त्र पढ्दा पनि त्यसका पारिभाषिक पदावली हुन्छन् र निश्चित विषयवस्तु पनि हुन्छ । त्यसैले दर्शनको अध्ययन जटिलजस्तो बन्न जान्छ । सारमा भन्नुपर्दा दर्शनले ‘म यो हुँ र यसो गर्दै छु’ भन्ने बोध गराउँछ । यो धेरै जटिल र गाह्रो विषय भने होइन ।

दर्शनशास्त्र आमव्यक्तिले समेत बुझ्ने गरी लेख्न सकिँदैन र ?

सकिन्छ, तर भाषा–शैली सरल हुनुपर्छ । यो शास्त्रीय खालको विषय पनि हो । यो पढ्ने मान्छे जनता होइनन् भन्न भएन । संस्कृत भाषामा पढ्नुपर्दा यो केही जटिल बन्न जान्छ, तर नेपाली भाषामै कुरा गर्दा पनि दार्शनिक पदावलीहरूको सन्दर्भ त आउँछ । त्यो पदावली नबुझेका कारण गाह्रो भएको हो । पारिभाषिक शब्द बुझ्नु जरुरी छ दर्शन बुझ्नलाई । पहिले त जनताले पनि बुझ्नुपर्‍यो– कुनै पनि शास्त्र सरल हुँदैन । तपाईं–हामी सबै जनता त हौं, मजाले अध्ययन गरेर सिक्नुपर्‍यो । हामीमा एउटा निश्चित वर्गले मात्रै बढी अध्ययन गर्ने, अरू धेरैले नपढ्ने अवस्था छ । राज्यसत्ताले सबैलाई पढ्ने बनाउनुपर्छ । त्यो काम लेखकको त होइन नि । लेखकले त सरलसँग बुझाउन सक्ने कुरालाई सरल ढंगले नै बुझाउला । मैले ‘हिमाली दर्शन’ मा नौवटा दर्शनबारे लेख्दा त्यो प्रयास गरेको छु । हरेक दर्शनमा छुट्टाछुट्टै आचार्य हुन्छन् । अब एउटै किताबमा नौवटा दर्शन बुझाउन त गाह्रो छ । यो पुस्तक बढी प्राज्ञिक क्षेत्रसित सम्बन्धित छ । एक त संस्कृत भन्नेबित्तिकै यसमा धर्मकर्म–पुरेत्याइँ मात्रै छ भनेर यसलाई हेलाँको दृष्टिले हेर्ने गरिन्छ । म संस्कृतको विद्यार्थी पनि भएकाले भन्न सक्छु, गजबको भौतिकवाद संस्कृतमा छ । गजबको द्वन्द्ववाद संस्कृतमा छ । आदर्शवाद पनि छ । सबै छ यसमा । भाषाको दृष्टिकोणले पुरानो भाषा हो संस्कृत । हो त्यही पुरानो संस्कृत भाषामा लेखिएका कुरालाई मैले सकेसम्म सजिलो बनाएको छु । त्योभन्दा पनि सजिलो बनाउन त अप्ठ्यारै पर्छ । यस किताबमा मैले नौवटा दर्शनलाई छुट्याएर लेखेको पनि सबैले बुझून् भनेरै हो ।

दर्शनशास्त्रको उद्भव कसरी भयो ?

दर्शनको इतिहास हेर्न दर्शन नै चाहिन्छ । जीवन, जगत् जान्ने–बुझ्ने प्रक्रियामा दर्शनको उद्भव भएको हो । दर्शनमाथि पहिले धर्मले अधिकार जमाएको थियो । तर्कलाई पनि त्यहाँ हेरिन्नथ्यो । कतिपय प्रश्नको उत्तर धर्मले दिन सकेन । त्यस्ता विषय तर्कका आधारमा पर्गेल्न सुरु भयो र दर्शनको विकास भयो । धर्म, दर्शन अनि विज्ञान आफ्नो विकास प्रक्रियामा जोडिएका छन् ।

धर्म पहिलो होइन । पहिलो त गणचिह्नवाद (टोटमवाद) हो । संसार बुझ्दा आधा तार्किक हिसाबले, आधा धार्मिक हिसाबले बुझ्न थालियो । सुरु त्यहाँबाट भयो । एस. राधाकृष्णनले पनि भनेका छन्– ‘आदर्शवाद जति पुरानो छ भौतिकवाद त्यति नै पुरानो छ ।’ त्यसकारण आदर्शवाद र भौतिकवाद दुवै पुराना हुन् । गणचिह्नवादसित जन्तरमन्तर, झारफुक, धामीझाँक्री, तन्त्र जोडियो । त्यसमा धर्म पनि जोडिन पुगेको हो ।

धर्म र दर्शनबीच के फरक छ ?

धर्म आस्था र दर्शन तर्कसित सम्बन्धित विषय हुन् । विशेषतः सामन्तवादी युगमा आइसकेपछि दर्शन मात्रै होइन, ज्ञानविज्ञानका सम्पूर्ण शाखाहरू धर्मकेन्द्रित बने । छुट्टै धर्म–दर्शन पनि जन्मियो । तर, दर्शन र धर्म बिलकुल अलगअलग विषय हुन् । दर्शनको विषयवस्तु सत्ता र चिन्तनबीचको सम्बन्धमा आधारित छ । दर्शन यसै प्रश्नको वरिपरि घुमेको छ । अर्को शब्दमा भन्नुपर्दा दर्शनमा वस्तुगत र आत्मगत पक्षबीचको सम्बन्धबारे अध्ययन गरिन्छ । धर्म अलौकिक शक्तिसँग जोडिएको छ भने दर्शन वस्तुगत, विषयगत र आत्मगत चिन्तनमा । धर्म र दर्शनको फरक यही हो ।

विज्ञानको युगमा दर्शनको उपादेयता के छ ?

विज्ञान र दर्शन एकअर्कामा अन्तरसम्बन्धित छन् । विज्ञानले सत्यसँग सम्बन्धित एउटा पाटोको अध्ययन गर्छ । तर, दर्शन त सत्यको समग्र अध्ययनमा आधारित छ । विज्ञान कुनै विशेष ज्ञानसँग सम्बन्धित हुन्छ । तर, दर्शन समग्र विषयको सामान्य ज्ञान हो । सामाजिक चेतनाका राजनीतिक, धार्मिक, नैतिक, सौन्दर्यपरक चेतनाजस्ता विभिन्न चेतनालाई दर्शनले एकीकृत तुल्याउँछ । दर्शन यी सबै चेतनाको संश्लेषणात्मक ज्ञान हो । कुनै पनि शास्त्र कुन वर्गको सेवामा छ ? किन छ ? आदि प्रश्नको जवाफ दर्शनले नै दिन्छ । आदर्शवादी तथा अधिभूतवादी दर्शनले विज्ञानको प्रगतिमा अवरोध खडा गरेको र भौतिकवाद तथा द्वन्द्ववादले विज्ञानको विकासमा मार्ग प्रशस्त गरेको इतिहास त हामीले पढेकै छौं । मार्क्सवादी दर्शनले विज्ञान र दर्शनबीचको आपसी सम्बन्धबारे राम्रो विवेचना गरेको छ । यो विश्व, ब्रह्माण्ड एकरूप छ कि बहुरूप ? यो ईश्वरीय रचना हो कि आफैं बनेको हो ? यस्ता प्रश्नमा विभिन्न दार्शनिक तथा वैज्ञानिकहरूबीच निकै लामा बहस र विवाद चल्दै आएका छन् । यी प्रश्नमा द्वन्द्वात्मक भौतिकवादीहरू नै सत्यको सन्निकट रहिआएका देखिन्छन् । सफल वैज्ञानिक अनुसन्धानका लागि सच्चा दर्शनले सही मार्गदर्शन गर्छ । तसर्थ, वैज्ञानिक युगमा पनि दर्शनको उपादेयता रहन्छ ।

बालकृष्ण समले त ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ भन्नुभएको छ नि ?

त्यो त ईश्वरभक्त प्रह्लादको सन्दर्भमा समले भनेका हुन्– विज्ञानले गर्दा भौतिक जगत्मा दुःख पाउनुपर्छ, त्यसकारण त्यो रुन्छ र ईश्वरसम्बन्धी ज्ञान ईश्वरमा तल्लीन भएपछि केही दुःख नगरी स्वतः आउँछ । आदर्शवादी दृष्टिकोणमा आधारित यो भनाइ गलत छ । ज्ञान र विज्ञान दुवै वस्तुगत तथ्यका उपज हुन् ।

भारतीय भनिँदै आएका दर्शनशास्त्रहरूलाई तपाईंले ‘हिमाली’ नाम दिनुभयो । ‘भारतीय दर्शन’ पदावलीप्रति नै विमति जनाउँदै चार्वाक, जैन, बौद्ध र षड्दर्शन सबैलाई हिमाली दर्शनअन्तर्गत राख्नुभयो । यो राष्ट्रवाद प्रेरित दृष्टिकोण मात्र हो कि अरू केही ?

विभिन्न देशका आ–आफ्ना दर्शन हुन सक्छन् । नेपालको पनि आफ्नो दर्शन छ । तर, सबै नेपाली दार्शनिकका नाम भारतीयले लगिदिए । नेपाली दर्शन पनि भारतमा विकसित दर्शन भनेर पढ्नुपर्ने अवस्था छ । सर्वपल्ली राधाकृष्णन्का अनुसार त बुद्ध, गार्गी, कपिल सबै भारतकै भन्ने भ्रम पर्न जान्छ । भारतीय दार्शनिकलाई भारतीय भन्नुपर्‍यो, नेपाली दार्शनिकलाई नेपाली भन्नुपर्‍यो । अन्तर्राष्ट्रवादी बन्न राष्ट्रवादी पनि बन्नुपर्छ । ‘हिमाली दर्शन’ ले यी सबै क्षेत्रमा भएका दार्शनिकहरूलाई साझा नाम पनि दिन खोजेको हो ।

हिमाली भनेपछि मैदान कहाँ आयो त ?

हिमाल र मैदानको कुरा होइन । मैले त दक्षिण एसियाली क्षेत्रमा विकसित दर्शनलाई हिमाली दर्शन भन्न खोजेको हुँ ।

भारतीय दर्शनभन्दा अहिलेको भारतलाई इंगित गरेको ठहर्छ र ?

हो, सुरुमा यस भेगलाई समग्रमा भारतवर्ष पनि भनिन्थ्यो । तर, त्यो भनेको भारत नै हो भनेर नेपालको सन्दर्भमा त्यस्तै धारणा बन्यो । नेपालले पनि दर्शनको विकास गरेको छ भन्ने चिन्तनका हिसाबले हिमाली दर्शन ल्याउनुपरेको हो । बुद्धबारे कतिपय भारतीयले विवाद खडा गरेका छन्, उनीहरूले आफ्नै बनाउन खोजिराखेका छन् । हामीले यसमा बोल्नु तथा प्रतिवाद गर्नुपर्छ भन्ने लाग्छ ।

हिमाली दर्शनमा किरातजस्ता यहाँका रैथाने संस्कृति, उनीहरूका दर्शनको स्थान कहाँ छ ?

किरातीहरूले पनि दर्शनको क्षेत्रमा अवश्यै विकास गरेका छन्, तर तार्किक हिसाबले उनीहरूको संस्कृतिमा दर्शनले त्यति धेरै विकास गर्न सकेको छैन । रीतिरिवाज, संस्कृति आ–आफ्नो छ र आफ्नो सापेक्षतामा दर्शनको पनि केही विकास त भएको छ ।

भारतीय वा हिमाली दर्शनलाई पूर्वीय दर्शन भन्नु हुँदैन भन्नुभएको छ । किन ?

हिमाली दर्शनलाई सिंगो पूर्वीय दर्शन भन्नु बेठिक छ । नेपाल र भारतको दर्शनलाई मिसाउने हो भने हिमाली दर्शन भन्दा हुन्छ भनेको हुँ । मेरो कुरा भारतीय दर्शनभित्र गौतम बुद्ध लगायतका नेपाली दार्शनिक पर्नु हुँदैन भन्ने हो । हिमवत्खण्ड भन्छ नि, त्यसमा भारतलाई पनि समेट्न सकिन्छ भनेको हुँ । यसलाई पूर्वीय दर्शन भन्न मिलेन, पूर्वीयमा त चीन पनि आउँछ । भारतीय दर्शन भन्ने हो भने नेपाल छुट्यो । दुइटाको साझा नाम तुलनात्मक रूपमा राम्रो हिमाली दर्शन भनेको हुँ । भारतीय दर्शन पनि ठीकै छ, त्यसलाई निषेध गर्न खोजेको होइन । भारतमा विकास भएको भारतीय दर्शन, नेपालमा विकास भएको नेपाली दर्शन हुन्छ ।

तपाईंले धर्मभन्दा पहिले जादु विकास भएको बताउँदै आउनुभएको छ । त्यसको आधार को हो ?

जादु भनेको मान्छेलाई सम्मोहित गर्नु हो । धर्म भन्दाखेरि ईश्वरको प्रार्थनाजस्तो बुझिन्छ, जादुमा त्यस्तो गरिँदैन । त्यसमा आफूले चाहेको कुरा गर्न लगाइन्छ, आदेश दिइन्छ । जस्तो तन्त्र, झारफुक । झारफुक एक प्रकारको जादु हो । हाम्रोमा बोक्सी भनेर हेप्छन् नि, तर सुरुमा ती बोक्सीहरू पण्डितिनी थिए, त्यही तन्त्रमन्त्र जान्नाले । मानिसका जिज्ञासा हुन्छन् हरेक कुरामा । जस्तो पानी आउँछ, के कारणले आयो ? सामान्यजनलाई थाहा हुने कुरा भएन । कसैले खोज गर्‍यो र थाहा पायो । यसरी जिज्ञासा राख्नेहरूले भौतिक चिजहरू पत्ता लगाउँदै गए । अनि विज्ञानको विकास भयो । पहिले सबै कुरा जादु थिए, ती पछि गएर साहित्य कला, विज्ञान, धर्म, दर्शन आदिमा रूपान्तरित भए ।

हिमाली दर्शन र पाश्चात्य दर्शनबीच मूल भिन्नता के छ ?

दर्शनशास्त्रको विषयवस्तुको दृष्टिकोणले भन्नुहुन्छ भने सबै ठाउँको विषयवस्तु एउटै हो । दुनियाँ केले बनायो ? कसरी बन्यो ? आफैं बन्यो कि अरू कसैले बनायो ? यी र यस्ता प्रश्न नै सबै दर्शनको चिन्तनका विषय हुन् । दुनियाँ आफैं अर्थात् गतिशील पदार्थबाट बन्यो भन्ने दर्शन भौतिकवादी भयो, भगवान् वा कुनै चेतन शक्तिले बनायो भन्यो भने त्यो आदर्शवादी भयो । यो यहाँ पनि छ, त्यहाँ पनि छ । यहाँ चार्वाकले अग्नि, जल, तेज, वायुले संसार बन्यो भनेजस्तै त्यहाँ पनि विभिन्न भौतिकवादीहरूले त्यही कुरा भनेका छन् । ईश्वर छ भन्नेवालाहरूले पनि त्यही तरिकाले भनेका छन् । यो विषय आदर्शवादी र भौतिकवादी जहाँसुकैका लागि सत्य हो । दर्शनको अर्को विषय चिन्तन पद्धतिसित सम्बन्धित छ । संसार गतिशील छ कि स्थिर ? दुनियाँभरका द्वन्द्ववादीहरूले संसार गतिशील छ, परिवर्तनशील छ भनेका छन् । दुनियाँभरका अधिभूतवादीले संसार स्थिर छ भनेका छन् । आदर्शवादी र भौतिकवादी दुईथरी दर्शनलाई मिलाउने समन्वयवादी पनि हुन्छन् । जीवन र जगत्सित जोडिएर आउने प्रक्रियामा दर्शनको विकास जुन रूपमा हुनुपर्ने हो, यहाँभन्दा पश्चिममा भौतिकवाद पनि, आदर्शवाद पनि राम्रै तरिकाले विकसित भएका छन् । यहाँ आदर्शवादको कुरा गर्ने हो भने वेदान्त दर्शनमा जानुपर्छ । यता बुद्ध, दिङ्नाग, धर्मकीर्तिजस्ता दार्शनिकहरूले द्वन्द्ववादी तथा तार्किक किसिमले विषयवस्तुलाई प्रस्तुत गरे । त्यही उता हेरेक्लाइटस, हेगेल र कान्टहरूले गरे । मार्क्स तिनैबाट प्रभावित भएका हुन् । तर, यहाँको समाज अलि बढी स्थिर भयो ।

यताको समाजमा दर्शनभन्दा धर्म बढी गाँजिएको हो ?

त्यो यहाँ पनि त्यहाँ पनि उस्तै हो । त्यहाँ विज्ञानको बढी विकास भयो, भौतिकवादले धर्मविरुद्ध प्रहार गर्‍यो । जस्तो यहाँ पनि चरकहरूले विकास गर्न खोजेका हुन् । चरकहरूले शल्यक्रिया गर्नका लागि लास चिरफार गर्नुपर्‍यो, तर मरेको लास चिरफार गर्न यहाँका धार्मिकहरूले दिएनन् । त्यसका विरुद्ध उनीहरू यहाँ लड्न सकेनन् । त्यहाँ पनि पृथ्वी स्थिर छ भन्नेहरूले भौतिकवादीहरूलाई जिउँदै जलाइदिए । तर, त्यहाँ त्यसविरुद्ध उनीहरू लडे, यहाँ लडेनन् । कैयौं भौतिकवादी धर्मविरुद्ध लडे, कैयौं आदर्शवादी पनि धर्मविरुद्ध लडे । सबै आदर्शवादी धार्मिक हुन्छन् भन्ने छैन । यहाँको ब्राह्मणवाद, सामन्तवाद धेरै जटिल भयो । त्यसकारण पनि विकास हुन सकेन ।

सामन्तवाद त्यहाँभन्दा यहाँ जब्बर किन भयो ?

उताजस्तो यहाँ क्रान्ति र परिवर्तन भएनन् । यहाँ भारतवर्षमा पनि आत्मनिर्भर खालको समाज थियो । जस्तो हली, पण्डित, भाँडा बनाउने, कामी, लुगा सिउने दमाई इत्यादि । वर्ण व्यवस्थाले समाज चलायमान हुन दिएन । मुद्रा थिएन, सट्टापट्टा प्रणाली थियो । सट्टापट्टा गरेर चलाउनुपर्थ्यो । भारतमा पछि रेल, बिजुली आएपछि अलि प्रगति भयो । त्यसको प्रभाव यहाँ पनि पर्‍यो । पुँजीवादले विकास नगरेको त होइन नि ।

औपनिवेशिक युगभन्दा पहिले भारत, चीनको अर्थतन्त्र एकदमै बलियो थियो होइन र ?

बलियो त थियो, तर किसानहरूका लागि थिएन, केही सामन्तका लागि थियो । खास विकास भनेको पुँजीवाद, भौतिकवाद र विज्ञान यी तीनटा कुरा हुन् । उतातिर पुँजीवाद छिटो विकास भयो, यता भएन ।

यस भेगमा बौद्ध धर्म एक समय उत्कर्षमा थियो । पछि निकै कमजोर भयो । यसबारे केही बताइदिनुस् न !

बुद्धको जमाना त धेरै पुरानो हो । बुद्ध निश्चित रूपमा पुरानो धर्म, संस्कार मान्नेवाला थिए । उनी पूर्ण भौतिकवादी थिएनन् । पूर्ण आदर्शवादी पनि थिएनन् । समन्वयवादी हुन् । निश्चित रूपमा आस्तिक बनेर ईश्वरवादले डन्डा फिँजाएका बेलामा तुलनात्मक रूपमा त बुद्ध ठीक थिए । प्रगतिशील थिए । गतिलो द्वन्द्ववादी थिए । उनी सब क्षणिक हो, परिवर्तनशील छ भन्थे । एकातिर तान्त्रिक विकृतिले बौद्ध धर्मलाई कमजोर बनायो भने अर्कातिर शंकराचार्यहरूले बौद्धहरूलाई भौतिक रूपमा र दार्शनिक रूपमा पनि लखेटे । आठौं शताब्दीमा शंकराचार्यका समयमा ठाउँठाउँमा बौद्ध धर्मका कैयौं बिहार भत्काइए । त्यसपछि बुद्ध धर्मको अलिकति संरक्षण नेपालमा भयो, अनि तिब्बततिर पनि गयो । उनीहरूले त चार्वाक दर्शनलाई पनि त्यस्तै गरे । वेदान्त दर्शनले राज्यसत्ताको संरक्षणमा यस्तो गर्‍यो । अशोक, हर्षवर्द्धनको पालासम्म शासकहरूले बुद्ध धर्मको संरक्षण गरेका थिए, तर त्यसपछि भएन । नेपालमा पनि पछिल्लो लिच्छविकालदेखि नै बुद्ध धर्म राज्यको धर्म भएन । पछि तन्त्रले सबै समाजलाई नै विकृत पार्‍यो । चीन, तिब्बत, नेपाल त्यही तन्त्रले विकृत पार्‍यो । मैले यहाँ पञ्चमकार भनेर व्याख्या गरेको छु । मांस, मद्य, मत्स्य, मुद्रा र मैथुन । यी पूरै यतैतिर गए । सबै धर्म मान्नेवाला विलासितातिर गए । यहाँ तन्त्रको कुरा गर्दा शैव धर्म, शाक्त धर्म, वैष्णव धर्मको कुरा आइहाल्छ । देवीहरूको पूजा, पूजा गर्ने वैदिक विधि एउटा छ, तान्त्रिक विधि अर्कै छ । तान्त्रिक विधिले वैदिक विधिलाई मान्दैन । पुराणले वैदिक विधि र तान्त्रिक विधिलाई जोड्ने काम गर्‍यो । अन्ततः यहाँ ब्राह्मणवाद बलियो भयो ।

पातञ्जल दर्शन र बौद्ध दर्शनमा कति कुरा मिल्छन् । यी दुइटै स्वतन्त्र रूपले उद्भव भएका हुन् कि एउटामा अर्के दर्शनको प्रभाव छ ?

यस हिमाली भूभागमा जैन साधुहरू र गौतम बुद्धले योगाभ्यास गरेका हुन् । पतञ्जली बुद्धभन्दा धेरै पछिका हुन् । योगदर्शनलाई सूत्रबद्ध गर्ने काममा पतञ्जलीको ठूलो भूमिका रह्यो । योग दर्शनसित कपिलको सांख्यदर्शन जोडिएको छ । कपिलकै नामबाट कपिलवस्तुको नामकरण भएको हो । बुद्ध त्यहीँ जन्मिएका हुन् । बुद्धको समयमा कपिलवस्तुमा सांख्य दर्शनको चर्चा हुन्थ्यो । त्यही भएर बुद्ध दर्शनमा सांख्य र योग दर्शनको प्रभाव देखिएको हो । बुद्धको अष्टाङ्ग मार्गभित्र सम्यक् दृष्टिदेखि समाधिसम्म पर्छन् । र, पतञ्जलीको अष्टाङ्ग योगअन्तर्गत यम, नियमदेखि समाधिसम्म आउँछन् । पातञ्जल र बौद्ध दर्शन त धेरै पछिका दर्शन हुन् । यिनमा कति कुरा मिल्छन्, कति मिल्दैनन् ।

दर्शनशास्त्रमा तपाईंको रुचि कसरी जाग्यो ? यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?

म त संस्कृतको विद्यार्थी हुँ । संस्कृत पढ्दा गुरुहरूले दर्शन पढ्नुपर्छ भन्नुभएकाले यतातिर लागेको हुँ । विशेषगरी जनता महाविद्यालय, दाङका प्रधानाध्यापक रामेश्वर पोखरेल गुरुले मलाई दर्शनमा प्रवृत्त गराएका हुन् । पढ्दापढ्दै ज्ञान सिद्धान्त, तर्कशास्त्र राम्रो लाग्यो । म दर्शनको स्नातक पढ्ने बेला कम्युनिस्ट भएँ । त्यसपछि पाश्चात्य दर्शन र मार्क्सवादी दर्शन पढ्न थालेपछि तिनलाई मैले यहाँको दर्शनसित तुलना गर्न थालेँ । अनि ममा दर्शनप्रति रुचि बढ्दै गयो ।

भारतीय दर्शन, पाश्चात्य दर्शन, भारतीय चिन्तन परम्परा बुझ्न मैले डा. राधाकृष्णन्, चन्द्रधर, देवीप्रसाद चट्टोपाध्याय, के. दामोदरनका दर्शनका ठेलीहरूको लामो समय अध्ययन गरेँ । दर्शनशास्त्रलाई विद्याको अनुराग भनेर परिभाषित गरिएको छ । विश्वका समस्या बुझ्ने मानवीय प्रयास हो भनेर राधाकृष्णन्ले भनेका छन् । यो संश्लेषणात्मक अध्ययन हो । यसले समग्र पक्षको अध्ययन गर्छ । म त मार्क्सवादी हुँ, त्यसअनुसार दुनियाँलाई बुझ्नु र बदल्नु दर्शनको मूल कार्यभार हो । दर्शन बुझ्ने प्रक्रियामा समाज बुझ्नुपर्‍यो । समाजमा विद्यमान अन्तरविरोधहरूको राम्रोसित अध्ययन गर्नुपर्‍यो । त्यसपछि ती अन्तरविरोधको हल कसरी गर्ने भन्ने दर्शनले देखाउँछ । अनि बल्ल राजनीति आउँछ ।

राजनीतिले दर्शनलाई पछ्याउँछ ?

हो । समाजमा कति किसिमका अन्तरविरोधहरू छन्, तिनलाई दर्शनको पथप्रदर्शनमा पहिल्याएर तिनको समाधान गर्ने कोसिस गर्ने हो राजनीतिले । सरल भाषामा भन्ने हो भने शोषक र शोषितबीचको अन्तरविरोधलाई बुझ्न सक्नुपर्‍यो । अहिलेको विश्वलाई हेर्ने हो भने पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तरविरोधलाई ठीक ढंगले बुझ्नुपर्‍यो । र, त्यो अन्तरविरोधको समाधान गर्नुपर्‍यो । मार्क्सवादीहरूको काम हो यो । पुँजीवादी दर्शनको काम सर्वहारालाई दबाएर पुँजीपतिको पक्षपोषण गर्नेु हो । द्वन्द्ववादी त सबै हुन्छन् । आफूलाई पनि बुझ, दुश्मनलाई पनि बुझ, विपरीतहरूको अध्ययन गर, त्यही त हो द्वन्द्ववाद । दर्शनको मूल कार्यभार दुनियाँ बुझ्ने, दुनियाँ बदल्ने नै हो । दर्शनले राजनीतिको सेवा गर्छ ।

हिमाली दर्शनमध्ये कुनचाहिँमा तपाईंको रुचि बढी छ ?

हिमाली दर्शनमा पनि म न्याय दर्शनमा बढी केन्द्रित छु । न्याय दर्शनमा परमाणुवाद छ । खासगरी ज्ञानमीमांसाको क्षेत्रमा न्याय दर्शनको विशेष महत्त्व छ । कैयौं विषय मार्क्सवादी दर्शनसँग मिल्छन् । जस्तो मान्छेको मनभन्दा बाहिर वस्तुको स्वतन्त्र अस्तित्व छ । यो त गजबको भौतिकवादी दर्शन भयो । वस्तुबारे ज्ञान भनेको त्यो जस्तो छ त्यस्तै अनुभव हुनु हो । जुन वस्तुबारे हामी जान्दछौं त्यो त्यस्तै हुनु ज्ञान हो । जुन वस्तु बाहिर जस्तो छ चेतनामा पनि त्यही प्रतिबिम्बित हुनु ज्ञान हो । त्यो ठीक हो कि गलत हो ? कसरी प्रामाणिक मान्ने ? त्यसका लागि व्यवहारमा जानु आवश्यक हुन्छ । व्यवहारमा जुन लागू भयो त्यो सत्य भयो । जुन लागू भएन त्यो सत्य भएन । मार्क्सको धारणा पनि त्यही हो, लेनिनको पनि त्यही हो, माओको पनि त्यही हो । न्याय दर्शनको यही कुराबाट म प्रभावित भएको हुँ । पश्चिमाहरूले प्रायशः न्याय दर्शन पढेनन्, सबै देशका भौतिकवादीहरूले यो दर्शन पढ्नुपर्छ ।

मान्छेहरूलाई दर्शनशास्त्रमा रुचि कसरी जगाउने ?

सरकारी स्तरबाटै दर्शनमा रुचि जगाउने काम हुनुपर्छ । विश्वविद्यालयहरूमा दर्शनशास्त्रका विभाग स्थापना गर्नुपर्छ ।

हाम्रोमा दर्शनशास्त्रको समानान्तरमा पढाइने समाजशास्त्रले अत्यन्तै बिगारेको छ । किनभने मार्क्सवादी दर्शनविरुद्ध समाजशास्त्र ल्याइएको छ । समाजशास्त्रमा जातपात, संस्कृति, धर्म आदिबारे अध्ययन गरिन्छ, परन्तु समग्र विश्वदृष्टिकोणबारे होइन । वस्तुको विकासको प्रक्रिया र त्यसलाई समग्रमा बुझ्न दर्शनशास्त्रै पढ्नुपर्छ । अन्य देशमा थुप्रै ठाउँमा दर्शनशास्त्र पढाइन्छ, तर यहाँ विशेष महत्त्व दिएर पढाइन्न । नेपालमा अन्य शास्त्रहरूसँगै दर्शनशास्त्रको पनि अध्ययन–अध्यापनमा विश्वविद्यालयहरूले विशेष जोड दिनुपर्छ, सरकारले निर्देशित गर्नुपर्छ । त्यसबाट नयाँ नेपाल निर्माणमा मद्दत पुग्छ ।

’ कान्तिपुरका लागि वैद्यसँग दीपक सापकोटाको संवाद :

You might also like
Loading...