नेपालमा नीति तथा कार्यक्रमको आधारमा कुन पार्टी कस्तो ?

0 196

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशनले पारित गरेको दस्तावेजमा सबै राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । यो पार्टीको दस्तावेजमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई ‘माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथ प्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने नीति तथा कार्यक्रम अवलम्बन गर्ने नेपाली सर्वहारा वर्ग तथा उत्पीडित जनताका हक, हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट शक्ति हो’ को रुपमा विश्लेषण गरिएको छ ।

यो पार्टीले माओका योगदानहरूलाई सार्वभौम अर्थमा ग्रहण गर्ने र नयाँ जनवादलाई स्वीकार्ने नेकपा (मशाल) पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको ठहर गरेको छ ।

यो पार्टीले नेकपा विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, आहुति वाम राजनीतिक शक्ति अन्तर्गत राखेको छ तर माक्र्सवाद–लेनिनवाद माओवादलाई पथ प्रदर्शक सिद्धान्तका रुपमा स्वीकार गरे पनि यी क्रान्तिका कैयौँ आधारभूत विषयमा अस्पष्ट, विचलित तथा विभ्रमित रहेको विश्लेषण गरेको छ ।

त्यसैगरी नेकपा (मसाल) मोहन विक्रम सिंह, नेकपा माले र नेमकिपा रोहितलाई दक्षिणपन्थी राजनीतिक शक्ति अन्तर्गत राखेको छ भने माओ विचारधारा तथा नयाँ जनवादलाई अवलम्बन गरेको बताए पनि मसाल, माले प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नरम देखिएको विश्लेषण गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रतिध्रुवीय तथा संसदवादी राजनीतिक शक्तिहरू अन्तर्गत मूलतः पुनरुत्थानवादी, यथास्थितिवादी र कम्युनिस्ट नामधारी पुरातन राज्यसत्ता तथा व्यवस्थाका पक्षधर राजनीतिक पार्टीहरुलाई राखेको छ । साम्राज्यवाद÷विस्तारवादद्वारा निर्देशित रहनु र तिनको दलाली गर्नु यी सबैको एउटा मूल साझा विशेषता भएको पनि उसको विश्लेषण छ ।

पञ्चायती व्यवस्थाको विरासतका रुपमा जन्मिएको रा. प्र. पा.लाई पुनरुत्थानवादी शक्ति भनेको छ । नेपाली कांग्रेस र त्यसैबाट चोइटिएर बनेको लोसपालाई यथास्थितिवादी पार्टी भनेको छ भने रास्वपालाई पुराना संसदवादी दलहरूको असफलतालाई निहुँ बनाएर सत्ता तथा व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यतामा आधारित यो पार्टी रुपमा निकै तामझाम सहित पेस भएपनि सारमा पुरानै सत्ता र संसदीय व्यवस्थाको नयाँ अवतार शिवाय अरु केही होइन भनेको छ । यो पार्टीलाई साम्राज्यवादी शक्तिहरुले नेपालका पुराना संसदीय राजनीतिक पार्टीहरुको विकल्पमा अगाडि सारको राजनीतिक शक्तिको रुपमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले विश्लेषण गरेको देखिन्छ ।

त्यसैगरी कम्युनिस्ट पार्टीका नाममा गठित नेकपा (एमाले), नेकपा (माके) तथा नेकपा एकीकृत समाजवादीलाई एकातिर वर्गीय रूपमा दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय प्रतिक्रियावादी राज्यसत्ता र अर्कोतिर राजनीतिक रूपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर र रक्षाकवच बनेर पेश भइरहेका साम्राज्यवादी नवउदारवादलाई स्वीकार गरेर आफू समाजवादको पक्षधर भएको स्वांग तथा धृष्टता गर्दैआएका संशोधनवादी अवसरवादी शक्तिको रुपमा विश्लेषण गरेको छ । अन्य पार्टीहरु खासगरी मधेसमा क्रियाशील पार्टीहरुलाई जातीय तथा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा विश्लेषण गरेको छ ।

समग्रमा हेर्दा नेपाली सर्वहारा वर्ग तथा श्रमजीवी जनताका हक हितको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नै भएको विश्लेषण दस्तावेजमा गरिएको छ ।

दस्तावेजको अंश…
राजनीतिक शक्तिहरुको विश्लेषण
‘राजनीतिक पार्टीहरूको वर्गीकरण मूलतः वर्गीय, विचारधारात्मक तथा राजनीतिक रूपमा उनीहरूद्वारा अवलम्बन गरिएका नीति तथा कार्यक्रमलाई आधार बनाएर गर्नुपर्दछ । नेपाली समाजको अहिलेको अवस्थामा आधारभूत रुपले हाम्रो पार्टी लगायत केही क्रान्तिकारी पार्टीहरु, संसदभित्र र बाहिरका अवसरवादी, ढुलमूल तथा यथास्थितिवादी पार्टीहरु र संसद भित्र र बाहिरका प्रतिक्रियावादी पार्टीहरु रहेका छन् । तदनुसार वर्तमान नेपालमा राजनीतिक पार्टीहरुको विश्लेषण यसरी गर्न सकिन्छ ।
१ – क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु 
माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथ प्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने नीति तथा कार्यक्रम अवलम्बन गर्ने हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नेपाली सर्वहारा वर्ग तथा उत्पीडित जनताका हक, हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट शक्ति हो । साथै, माओका योगदानहरूलाई सार्वभौम अर्थमा ग्रहण गर्ने र नयाँ जनवादलाई स्वीकार्ने नेकपा (मशाल) पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी हो ।
२ – वाम राजनीतिक शक्तिहरू 
नेकपा विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, आहुति वाम राजनीतिक शक्ति अन्तर्गत पर्दछन् । माक्र्सवाद–लेनिनवाद माओवादलाई पथ प्रदर्शक सिद्धान्तका रुपमा स्वीकार गरे पनि यी क्रान्तिका कैयौँ आधारभूत विषयमा अस्पष्ट, विचलित तथा विभ्रमित रहेका छन् ।
३ – दक्षिणपन्थी राजनीतिक शक्तिहरू
नेकपा (मसाल) मोहन विक्रम सिंह, नेकपा माले र नेमकिपा रोहित दक्षिणपन्थी राजनीतिक शक्ति अन्तर्गत पर्दछन् । माओ विचारधारा तथा नयाँ जनवादलाई अवलम्बन गरेको बताए पनि मसाल, माले प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नरम देखिन्छन् । मसाल वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाप्रति र माले पुनरुत्थानवाद प्रति नरम देखिने यी दुबैले मिलेराँवादी राजनीति अवलम्बन गरेका छन् । नेमकिपाले माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा माने पनि संसदवादको सीमा भन्दा बाहिर निस्कन सकेको देखिँदैन ।
४ – प्रतिध्रुवीय तथा संसदवादी राजनीतिक शक्तिहरू
प्रतिध्रुवीय तथा संसदवादी राजनीतिक शक्तिहरू अन्तर्गत मूलतः पुनरुत्थानवादी, यथास्थितिवादी र कम्युनिस्ट नामधारी पुरातन राज्यसत्ता तथा व्यवस्थाका पक्षधर राजनीतिक पार्टीहरु पर्दछन् । साम्राज्यवाद÷विस्तारवादद्वारा निर्देशित रहनु र तिनको दलाली गर्नु यी सबैको एउटा मूल साझा विशेषता हो । पञ्चायती व्यवस्थाको विरासतका रुपमा जन्मिएको रा. प्र. पा. पुनरुत्थानवादी शक्ति हो । यसले संवैधानिक राजतन्त्र र हिन्दुधर्म पुनस्र्थापनाको पुर्पक्ष गर्दछ । नेपाली कांग्रेस र त्यसैबाट चोइटिएर बनेको लोसपा यथास्थितिवादी पार्टी हुन् । नेकाले आफूलाई संसदीय व्यवस्थाको मूल धाराका रूपमा प्रस्तुत गर्दै आएको छ भने लोसपाले त्यस अतिरिक्त क्षेत्रीयतावादी राजनीतिमा विशेष जोड दिने गरेको छ । रास्वपा नितान्त नयाँ राजनीतिक शक्तिको अभिनय सहित चमत्कारपूर्ण शैलीमा जन्मिएको यथास्थितिवादी पार्टी हो । पुराना संसदवादी दलहरूको असफलतालाई निहुँ बनाएर सत्ता तथा व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यतामा आधारित यो पार्टी रुपमा निकै तामझाम सहित पेस भएपनि सारमा पुरानै सत्ता र संसदीय व्यवस्थाको नयाँ अवतार शिवाय अरु केही होइन । राप्रपा, नेका, लोसपा तथा रास्वपा सबैले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गका हक, हितको प्रतिनिधित्व गर्दछन् ।

कम्युनिस्ट नाममा गठित नेकपा (एमाले), नेकपा (माके) तथा नेकपा एकीकृत समाजवादी एकातिर वर्गीय रूपमा दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय प्रतिक्रियावादी राज्यसत्ता र अर्कोतिर राजनीतिक रूपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर र रक्षाकवच बनेर पेश भइरहेका छन् । यिनले साम्राज्यवादी नवउदारवादलाई स्वीकार गरेर आफू समाजवादको पक्षधर भएको स्वांग तथा धृष्टता गर्दैआएका छन् । तर पनि यी तीनवटै पार्टी भित्र कतिपय देशभक्त तथा क्रान्तिकारीहरू पनि रहेका छन् ।
५ – जातीय तथा क्षेत्रीय शक्तिहरु 
जातीय तथा क्षेत्रीय राजनीतिक शक्तिहरुमा मूलतः लोसपा तथा जसपा पर्दछन् । यी दुवै पार्टीले वर्गीय मान्यताको विरोधमा पहिचानवादको पक्षमा विशेष जोड दिन्छन् । लोसपा बारे माथि उल्लेख भइसकेको छ । जसपा प्रतिध्रुवीय कित्तामा नगएपनि त्यो यथास्थितिवाद र संसदवाद कै वरिपरि घुमिरहेको छ । यस ढंगका बाँकी पार्टीहरुको बारे पछि विश्लेषण गरिने छ ।

निष्कर्षका रुपमा भन्नुपर्दा नेपाली सर्वहारा वर्ग तथा श्रमजीवी जनताका हक हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गका विरुद्ध परिचालित क्रान्ति सम्पन्न गर्नका लागि उपर्युक्त राजनीतिक शक्तिहरुको स्थिति तथा भूमिका माथि दृष्टि दिँदै तदनुसार नीति अवलम्बन गरेर जानु पर्दछ ।’

You might also like
Loading...