युवा विदेश पलायन हुनु रहर कि बाध्यता ?

0 476

कुनै पनि राष्ट्र विकास हुनका लागि दक्ष युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । युवा देशको मेरुदण्ड हुन् । तर विडम्बना हाम्रो मुलुकमा तिनै युवा काँधमा देशको झण्डा र हातमा पासपोर्ट बोकेर आफ्नो परिवार पाल्ने सपना साकार पार्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  लाएन लागेर बसेका छन ।

एउटा युवा जेनतेन साहुको ऋण काढेर पढ्छ,परन्तु उसले आफ्नो योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउदैन । जतासुकै जे गरेनी असफल हुन्छ र  स्वदेशमा केही संभावना नदेखे पश्चात् अर्को विकल्प  खोज्छ त्यो हो विदेश पलायन । यो विकल्प हामी न्यून र मध्यम वर्गीय नेपाली जनताका लागि बाध्यात्मक एवं अन्तिम हो । आर्थिक, सामाजिक र राजनीतिक रुपमा जो सक्षम छन् उनीहरुको रोजाइमा  अमेरिका, अस्ट्रेलिया र जापान पर्छ  । आर्थिक रुपमा न्यून  र राज्यको पहुँचबाट टाढा अनि पढ्दापढ्दै ऋणको भारीले हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक ।

किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यस प्रश्नको उत्तर हाम्रो देशका नालायक शासकहरुले दिनुपर्छ । वैदेशिक रोजगारीमा युवा जनशक्ति  बाहिरीनुमा धेरै कारणहरु हुन सक्छन् । त्यसमा पनि मुलत: देश भित्र उचित रोजगारीको अवसरको अभाव, राजनैतिक अस्थिरता, व्यापार-व्यवसायको भविष्यको अनिश्चितता, देखासिकी जीवन शैली, अर्थतन्त्रको प्रभाव,राज्य प्रति युवाहरुको अविश्वास, भ्रष्टचार नियन्त्रण नहुनु , सरकारी उद्योगधन्दाहरु बन्द हुनु, धनि र गरिव विचको बढ्दो खाडल, कृषिमा बजारीकरण नहुनु , शैक्षिक वेरोजगार उत्पादन हुनु, व्यवहारिक एवं प्राविधिक शिक्षाको अभाव, लगायत थुप्रै कारणहरु रहेका छन् ।

हाम्रो देशमा पछिल्लो समय  विदेश जानुलाई सफलता मान्दछन् । समाजले पनि यही कुरालाई प्राथमिकता दिन्छ । स्वदेशमा केही इलम  गर्न खोज्यो कसैले सहयोग गर्दैन , अपीतु वैदेशिक रोजगारीका लागि सबै जना सहयोग गर्न तत्पर हुन्छन् । यो हाम्रो समाजको तितोसत्य हो । २०६२/०६३ सालको राजनितिक परिवर्तन पछि देशमा ठुलै  आमुल परिवर्तन आउने सर्वसाधरणको अपेक्षालाई राजनितिक पार्टीहरुले पुरा गर्न सकेनन् ।

व्यक्तीगत चाहना एवं सत्ता मोहको भुमरीमा राजनैतिक पार्टीहरु फसेको देखिन्छ । विदेशीलाई फाइदा हुनेगरी  विभिन्न राष्ट्रघाती संधी-संझौता गरेर र उर्जाशिल युवाहरुलाई विदेश पठाएर रेमिटेन्स/विप्रेषणमा आधारित बजेटमा सरकार चलाउने प्रवृती हावी भएकोछ। आज युवा विदेश पलायन हुन बाध्य पार्ने यी नै शासक हुन ।

नेताहरूले आफ्नो स्वार्थ प्राप्तिका लागि क्याम्पस, विश्वविद्यालयहरुमा विद्यार्थीहरुको भावनामा खेली पढाईमा भन्दा  राजनितिक ताण्डव नृत्य नाँच्ने, नचाउने काममा बढि अग्रसर गराए र वेरोजगारहरु उत्पादन गरे । फलस्वरूप युवाहरु विदेशीन बाध्य भएका छन ।

नेपालको इतिहासमा समाज रुपान्तरणको लागि थुप्रै आन्दोलनहरु भएको सुनेकाछौँ , देखेउ र भोगेको पनि छौँ । तर कस्तो विडम्बना शासकहरुले भन्ने गरेको उत्कृष्ट व्यवस्थामा पनि मेरो नाङ्गो शरीर ढाक्न र भोको पेट पाल्न महिले विदेश जान पाउनु पर्छ भनेर आन्दोलन गर्नु परेको छ । छातिमा तातो गोली थाप्नु परेको छ । परिवार पाल्न देश छोड्छु भनेका युवाले संसार छोड्न परेको छ । लाचार र निरीह सरकार जनताको यो चीत्कार सुन्दैन । नेपाली युवाहरु विदेशीनु पर्ने मुख्य कारण अहिलेको यो दलाल व्यवस्था र निकम्मा शासकहरु नै हुन ।

समग्र नेपालको विकास र युवालाई स्वदेशमै रोजगारी दिन आधुनिक व्यवसायिकमुखी कृषिको विकास, भ्रष्ट राजनितिक नेताहरुको सामाजिक बहिस्कार, राजनितिक एवं कर्मचारीतन्त्रमा सुशासनको व्यवस्था एवं भ्रष्टाचार विरुद्ध शुन्यसहनसिलताको वातावरणको सृजना आदीको व्यवस्था हुनु जरुरी छ । यी माथि उल्लेखित सबै कुरा प्राप्तिका लागि वर्तमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा सङ्घीय जनगणतन्त्र अर्थात् नयाँ जनवादी राज्यसत्ताको स्थापनाका निम्ति सङ्घर्षको दिशामा अगाडि बढ्नुको विकल्प छैन ।विद्यमान सङ्कटको एकमात्र समाधान जनस्तरबाट संघर्ष हो ।
– आयुष न्यौपाने

You might also like
Loading...