कुनै दिन तिम्रा बिरुद्द आगोको मुस्लो बनेर जुरुक्क उठ्नेछ लम्पसार सडक
– धनेश्वर पोख्रेल
कविता – सडक
ओ सासक !
तिमिलाई अलिकति पनि लाज लाग्दैन भने
निकाल सम्पूर्ण बश्त्रहरु
ओर्ल नाङ्गो सडकमा
र
देखाउ नाङ्गो नाच
लुट, सडकको अस्मिता
बगाउ,रातो र तातो नदी
अनि
पौडी खेल अट्टहास गर्दै
अहिलेलाई निम्छरो सडक
तिम्रा सम्पूर्ण हर्कतहरु
लम्पसार परेर
मुटुमाथि ढुङ्गा राखी
सहिदिन्छ
पचाईदिन्छ
परेलीमा आसुको पोखरी जमाएर
नतमस्तक भएरनी
तिम्रो कृडा स्थल बनिदिन्छ
तिम्रा बुटहरुलाई छातीमा परेट खेलाएर
आफू प्राण हीन भईदिन्छ।
तर याद गर
हृदयको यौटा कुनामा
तिम्रा सबै कर्तुतहरुको फेहरिस्त तयार गरि
कुनैदिन तिम्रा बिरुद्द
आगोको मुस्लो बनेर
जुरुक्क उठ्नेछ लम्पसार सडक
अनि
भष्म पारेर जलाई दिनेछ एकैचोटि
तिम्रा बिगत ,बर्तमान र भबिष्यहरु।
सडकमा छटपटाएको
भोक रोगको चित्कारहरु कुल्चन
चाहे तिमी
बालुवाटार र सिङ्हदरबारबाट आउ
चाहे तिमी
दिल्ली र वासिङ्टनबाट आउ
वा
कडा आदेश दिएर
भद्रकालीलाई सडकमा पठाउ।
गाउँ र शहर उठ्यो भने
सबै भोक जुट्यो भने
उत्पिडनको पिडाले थलापरेको
लम्पसार सडक
आगोको फिलुङ्गो झै
रातो र तातो भयोभने
तिम्रो लुटको स्वर्ग
क्षणभरमै ध्वस्त हुनेछ
सायद त्यो दिन
अब छिट्टै आउदै छ।