मेरो एउटा साथी छ !

0 512

मेरो पनि बाल्यकाल थियो । भनिन्छ, साथी सबैभन्दा माथि । म आफैँ चन्चले स्वभावको । सानैदेखि खिसिक्क नहाँसी बोल्नै आउँदैनथ्यो । सबैको जस्तो मेरा पनि परिवार भन्दा प्यारा दौतरी (साथी ) थिए । हामी ग्रामीण क्षेत्र र मध्यम वर्गीय परिवारमा जन्मे हुर्केकाले होला खासै ठूला सपना देखेका थिएनौं । सायद गरीबीले च्यापेर होला एउटा जागिर सम्म खानुपर्छ र परिवार पाल्नु पर्छ भन्ने मनमा लागि रहन्थ्यो । त्यो वेलाको उमेरको प्रभाव हुन सक्छ अलि चंचल स्वभावका थियौँ । हाम्रो मित्रता अन्य सम्बन्धहरु भन्दा निकै माथि थियो । घरका सदस्यलाई ढाकछोप गरि राति राति भागेर रमाइलो हेर्न गइन्थ्यो । हामी विद्यालयमा संगै पढ्ने,घर पनि एउटै गाउँमा भएकोले होला अति नै घनिष्ट थियौँ । अझै भनौं एक अर्काको लागि मर्न र मार्न तयार हुन्थ्यौं । हामीलाई लाग्थ्यो दिन बिनाको रात सम्भव नभए जसरी साथी बिनाको जीवन शुन्य हुन्छ । दोस्तीको लागि कति संग झगडा गर्यौँ । घरमा आमाबुबालाई समेत ढाँटेर हिडियो । जीवनमा जुन कुरा अनिवार्य थियो, त्यसको महत्त्व थाहै भएन । अझ भनौं पढाइ लाई त व्यवास्ता गरियो । जेनतेन एस.एल.सी पास गरियो । एसएलसी पास भए पनि खासै उत्साह मनमा भएन।

अनि आफू संगैका साथीहरू कोही  नजिकैको शहर नेपालगन्ज त कोही राजधानी काठमाडौं पढ्न गए । आफू भने त्यही गाउँको स्कुलमा बाँकी पढाइ सुरु गरियो । उच्च माध्यमिकको पढाइ गर्ने क्रममा केही गाउँ कै पुराना साथी त केही नयाँ अन्य गाउँबाट एसएलसी पास गरेर आएका साथीहरु भेट भयौं । तर अब ती गाउँका पुराना साथीहरू कहिल्यै भेट हुने छैनन्, सायद । यस्तै सोचेर टोलाइ रहे । मन भित्र कतैबाट आइरहने आँधिबेहरीका छालले एकनास मष्तिस्क हल्लिरहेको भान हुन्छ । खैर हामी सबै छुट्टिएका साथीहरू केही समय सामाजिक संजाल तथा फोन सम्पर्कमा कुराकानी गर्थ्यौं । बर्षमा एक पटक चाडपर्वमा साथीहरू गाउँ फर्कदा भेट हुन्थ्यो र ती पुराना दिनहरुको सम्झना आउथ्यो । विस्तारै साथीहरू गाउँ फर्कन छाडे अनि हाम्रो सम्बन्ध चिसिदै गयो । केही समय पश्चात् सबै जनाको नयाँ ठाउँ, नयाँ स्कुल, नयाँ – नयाँ साथीहरू भए । ती पुराना बालापन बिर्सेर नयाँ गन्तव्यको थालनी हुँदै गयो । हामी किशोर अवस्थामा पुग्यौं । जहाँ बाल्यकालको जस्तो केटा साथी मात्रै होइन अब त केटी साथी नी बनाउन लागियो । यो समयमा त झन साथी बाहेक अरु कोही आफ्नो जस्तो लाग्दैन थियो । हामीले गर्ने हरेक गतिविधिमा साथीले बाहेक अन्य कसैले सहयोग गर्दैन थिए । त्यसैले पनि होला साथी अरु भन्दा खास लाग्न थाले । त्यतिबेला हामीहरू किशोरावस्थामा थियौं । हाम्रो आफ्नै ग्याङ थियो । तर अरूहरूले हामीलाई आवाराहरू भने पनि सुनेको नसुनेझैं गर्थ्यौ । आफ्नै उन्मुक्त संसार थियो । त्यो सँगै कक्षामा पढ्ने साथीहरूसँग निकै उठबस हुन्थ्यो । तीन जनासँग मेरो राम्रो मित्रता थियो । जात्रासात्रा जता गए पनि प्रायः सँगै हुन्थ्यौँ ।हामीलाई लाग्थ्यो “ए दोस्ती कभी नहिं तोडेंगे हम “ परन्तु जिन्दगी सोचे भन्दा फरक रहेछ ।

यसरी नै उच्च माध्यमिक तहको शिक्षा पनि हासिल गरियो । त्यस पश्चात् त झन बचेका साथीहरू पनि स्नातकको पढाइ गर्न गाउँ छोडेर शहर गए । म एक्लो भए । हामीलाई बढ्दो उमेर, पारिवारिक जिम्मेवारीले साथीबाट छुट्नु पर्ने बाध्यता आयो । यहाँ सम्म आइपुग्दा सबै जना आ-आफ्नो जिम्मेवारी पुरा गर्न नौलो बाटोको खोजीमा दौडिन थाले । सबैको जीवन अस्तव्यस्त नै छ ।

कुनै समय त्यस्तो थियो, हामी नबोल्ने हो भने खाएको खाना पच्दैन जस्तो लाग्थ्यो । हामी नबोलेको आजभोलि बर्षौ भयो । कहाँ छन ती साथी, कहाँ छ त्यो बालापन ? जीवन मेरो बिचारमा संघर्षको मैदान हो जुन मैदान मा अनेकौं अप्ठ्यारो परिस्थितिहरुको ठेलाबाजी हुन्छ र साथै त्यही जीवनको मैदानमा हाँसो खुशी   र उमंगको खैला बैलाहरु पनि हुन्छ्न यहि ठेलाबाजी र यस्तै खैलाबैलाहरुको रङमन्चलाई नै जीवन भनिन्छ । मानिसको जीवनमा असली साथी भनेकै दु:ख,कष्ट र संघर्ष रहेछ । अन्य सबै दुई दिनका पाउना रहेछन । मेरो एउटा साथी छ,त्यो हो दु:ख ! जसले हरेक मेरो जीवनका घुम्ती अनि मोडमा आजसम्म साथ छोडेको छैन ।

(लेखक: आयुष न्यौपाने )

You might also like
Loading...