क्रान्तिकारी माओवादीले चैत्र २४ मा: कोहलपुर, अत्तरिया र सुर्खेतमा भव्य जनसभा गर्दै
बर्दिया । चैत्र २४ लाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएको नेकपा (क्रान्तिकारी माओवादी)ले ३१ औं जनआन्दोलन दिवसको अवसर पारेर देशका सातवटै प्रदेशमा भव्य जनसभाको आयोजना गर्दैछ ।
काठमाडौंमा केन्द्रिय जनसभाको तयारी गरिरहेको क्रान्तिकारी माओवादीले देशैभर पार्टी सम्बद्ध संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ब्यानरमा संघर्षकै रुपमा जनसभा गर्न लागेको हो ।
पार्टीका पश्चिम ब्यूरो इन्चार्ज राजवीरका अनुसार लुम्बिनी प्रदेशको कोलहपुर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अत्तरियामा जनसभा गर्ने तयारी गरिएको छ ।
लुम्बिनी प्रदेशका पार्टी सेक्रेटरी शंकुलका अनुसार दाङ, बाँके र बर्दियाको जनमास जम्मा गरेर बाँकेको कोहलपुरमा जनसभा गर्ने तयारी गरिएको छ । कार्यक्रम स्थलभन्दा टाढाका जिल्लाहरुको जिल्लाको सापेक्षतामा विकेन्द्रित रुपमा पनि जनआन्दोलन दिवस मनाउने तयारी भए पनि प्रदेश स्तरको केन्द्रिकरणमा कोहलपुरमा जनसभा गर्ने तयारी गरिएको हो । चैत्र २४ को यही जनसभालाई दक्षित गरी लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा पार्टी, देजमो, जवस मोर्चाका भेलाहरु मार्फत् संगठन विस्तारका कामहरु भइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका इन्चार्ज अनुकूलले प्रहरी प्रशासनले कोरोना संक्रमणलाई कारण देखाउँदै भिडभाड हुने कार्यक्रम नगर्न भने पनि कैलालीको अत्तरियामा प्रदेशस्तरको जनसभा गरिने बताउनु भयो । भारतमा तीव्र रुपमा दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि दैनिक हजारौको संख्यामा भारत गएका नेपाली श्रमिकहरु गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट भित्रिरहेको र स्थानीय प्रशासनले अहिले नाका कडा गरेको अवस्थामा सापेक्षिक केन्द्रिकरणसहितको जनसभाको तयारी गरिएको बताउनु भयो ।
उता कर्णाली प्रदेशका पार्टी इन्चार्ज सीपी शर्माका अनुसार सुर्खेतको विरेन्द्रचोकमा जनसभाको भव्य तयारी गरिएको छ । चैत्र २४ को जनआन्दोलन दिवसलाई लक्षित गरी प्रदेशभित्रका जिल्लाहरुमा संगठनात्मक गतिविधिहरुलाई तीव्र पारिएको छ ।
‘संसदीय व्यवस्थाको खारेज गरौं, संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मूल नारा र आव्हानका साथ संघर्षकै रुपमा देशैभर जनसभा गरेर जनआन्दोलन दिवस मनाउन लागेको क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्र र जनजीविकाका विकराल समस्याको वास्तविक समाधाना लागि मुलुकमा नयाँ जनवादी व्यवस्थामा अधाारित संघीय जनगणतन्त्रको स्थापना अपरिहार्य रहेको कुरामा जोड दिंदै आएको छ । (साभार moolbato,फाईल फोटो )