प्रतिक्रान्तिकारी
क्रान्तिकारी
जब प्रतिक्रान्तिकारी बन्छन्
अब तपाईंसँग
क्रान्तिको चाहना राख्दैनन्
तिनीहरू अब
नयाँ नयाँ प्रतिक्रियावादी
मुकुन्डो लगाएर
तपाईंसामु आउँछन्
र तपाईंलाई छकाउँछन्
हिजो जसरी नै
कहिले दायाँ लाग्छन्
कहिले बायाँ लाग्छन्
मुक्तिको सपना बिर्साउँछन्
अनेक थरीका
राग अलाप्छन्
कुराका तुना बाँध्छन्
तपाईंलाई डो-याउँछन्
तिनीहरू झन बढी
बेइमान धूर्त चलाख बन्छन्
तपाईंलाई फेरि फेरि
भित्र बाहिरबाट
गुलाम बनाउँछन्
फुत्कन दिंदैनन्
तिनीहरू
तपाईंलाई
निरीह काँतर
हुतिहारा बनाउँछन्
भय र लोभको
दुनियाँ बसाउन लगाउँछन्
अनि रातो झन्डालाई
कालो बनाएको
तपाईं देख्न सक्नुहुन्न
उसकै पछि पछि
लुरुलुरु हिंड्नुहुन्छ
कालो पहेंलो रातो
कुनै रङ्ग पनि
छुट्याउन सक्नुहुन्न
प्रतिक्रान्तिकारीलाई
महान नायक
मानिरहनुहुन्छ
कसैगरी फुत्कन सक्नुहुन्न
शब्द बोली विचार
केही थाहा पाउनु हुन्न
जुन अहिले
तपाईं बनिरहनु भएको छ
– डा.जग्दिश चन्द्र