दाङमा बहिष्कार अभियान: पोष्टरींग, पर्चावितरण र कोण सभा
मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा संचालित प्रतिक्रियावादी तथा कथित स्थानीय निर्वाचन बहिष्कार अभियान अन्तर्गत हिजो दाङका विभिन्न ठाउँमा कोण सभा गरिएको छ ।
त्यसैगरी “प्रतिक्रियावादी स्थानीये निर्वाचन बहिष्कार गरौँ, नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौ ” भन्ने नाराका साथ अमेलिया ,राजपुर , गडवा,कालाकाटे , भालुवाङ ,सिसनिया ,लमही, सतबरिया, गोग्ली, घोराही ,नारायणपुर , नयाँगाउँ , सक्राम, बिजौरी ,तुलसीपुर , बसपार्क र बिपि चोक, भमके , पातेटाकुरा ,जुम्लेकुला,बागमारे , सुन्दरखाल ,हङ्सपुर , हापुरे ,रगैचा, थपगाँउ, हेकुली ,श्रीगाउँ लगाएतका गाउँ तथा शहरहरुमा बहिष्कार अभियान कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने, पार्टीको केस समीर ,केस बिपिन , के स प्रतिज्ञा चौलागाईं , थारु मुक्ति मोर्चाका महासचिव राम जि थारु , क्रान्तिकारी युवालिगका महासचिव भुकम्प लगाएतका पार्टी मोर्चाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
त्यस कार्यक्रमका प्रमुख वक्ता न्यौपानेले प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गतका संसदीय पार्टीहरु र तीनका संसदीय दलाल नेताहरुद्वारा पुरानो सत्ता र व्यवस्थाको संरक्षण र नवीकरण गर्नको निमित्त कथित स्थानीय निर्वाचनको भ्रम जाल विछ्याइएको बताउनु भयो ।
साथै, यो पुरानो सडेगलेको र सर्वनाशको मुखमा पुगेको संरचनालाई जबर्जस्त रुपमा यथास्थितिमा राख्ने र नयाँको विकास तथा विकल्पको सम्भावनालाई रोक्ने वा निषेध गर्ने षड्यन्त्र भईरहेको उहाँले ठोकुवा गर्नु भयो । उहाँले संसदीय षड्यन्त्रको भण्डाफोर गर्दै पुरानो राज्यसत्ता ध्वंस गरी संघीय जनगणतन्त्र स्थापनार्थ संघर्षको प्रक्रियामा छलाङ हान्ने वा फड्को मार्ने उद्देश्यले प्रतिक्रियावादी निर्वाचनको क्रान्तिकारी बहिष्कार गरेको दावी गर्नुभयो ।