क्रान्तिकारी माओवादीसहित चार कम्युनिस्ट घटकले निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, माओवादी कम्युनिस्ट पार्टी, नेपालले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने भएका छन् । चारै पार्टीले काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गरी आसन्न निर्वाचनलाई सशक्त रुपमा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा चार पार्टीको तर्फबाट प्रस्तुत गरिएको संयुक्त प्रेस विज्ञप्तिमा ‘संसदीय चुनावमा भाग लिई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसललाई बलियो बनाउन, क्रान्तिकारी जनभावनालाई कमजोर पार्न, क्रान्तिकारी जनचेतनालाई धमिल्याउन, क्रान्तिकारी संगठन निर्माणका लागि असमर्थता ल्याउने र सामाजिक जीवनको विकासलाई अवरुद्ध पार्न सक्तैनौं’ भन्दै संसदीय व्यवस्थाको चुनाव सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रेस विज्ञप्ति नेकपा (क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल गौरव, नेकपा (बहुमत)का प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, नेकपा (मसाल) समन्वय समितिका प्रतिनिधि चिन्तामणि पौडेल, माओवादी कम्युनिस्ट पार्टी,नेपालका महासविच रामनारायण पालको हस्ताक्षरमा जारी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामी संसदीय व्यवस्थाको बहिस्कार मात्र गर्दैनौं, यो व्यवस्थाको अन्त्य गरी आम श्रमजीवी एवम् उत्पीडित नेपाली जनताको हित गर्ने नयाँ जनवादी÷वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि अगाडि बढ्न अपिल पनि गर्दछौं ।”
असोज २ गते आइतबार बसेको चार पार्टीका नेताहरूको बैठकले आज संयुक्त पत्रकार सम्मेलन गरी चुनाव बहिष्कार÷अवज्ञा कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो । २ गते बसेको चार पार्टीका नेताहरूको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का कावा महासचिव सीपी गजुरेल, रामसिंह श्रीस र चन्द्रहरि सुवेदी, नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र कार्यालय सचिव गुणराज लोहनी, नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिका चिन्तामणि पौडेल र ओमबहादुर केसी तथा माओवादी कम्युनिस्ट पार्टीका रामनारायण पाल र लोकेन्द्रराज थापा सहभागी थिए ।