क्रान्तिकारी माओवादीले देशैभर भव्य रुपमा मनायो जनयुद्ध दिवस (फोटोफिचर)

0 261

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौं उपत्यकासहित देशैभर जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । जनयुद्धको २८ औं दिवस मनाउने क्रममा कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरी पार्टीका पिविएम प्रेम सुवेदी, केन्द्रीय सदस्य हरि सुवेदी र अखिल (क्रान्तिकारी)का सुदुरपश्धिम प्रदेश संयोजक पुस्कर जोशीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोही कार्यक्रमबाट नेकपा (बहुमत)का केन्द्रीय सल्लाहकार समितिका सदस्य डम्बर बहादुर विष्ट, केन्द्रीय समिति सदस्य बहादुर महरा लगायत दर्जन भन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा दिवस मनाइरहेको कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेपको नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी घोर विरोध र तीव्र भत्र्सना गर्नुभएको छ । र, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।


उपत्यकामा पार्टीको प्रदेश ३ ले आयोजना गरेको जनयुद्ध दिवस समारोह भव्य रुपमा सम्पन्न भएको छ । माइतीघरबाट निकालिएको शुभकामना र्‍याली पुरानो बसपार्क, भृकुटीमण्डप, पद्मोदयमोड, पुतलीसडक, बागबजार हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर समारोहमा परिणत भएको थियो ।


जनयुद्ध समारोहको नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरवले २८ वटा मशाल जलाएर उद्घाटन गरेपछि औपचारिक रुपमा शुभकामना मन्तव्यको कार्यक्रम सुरु भएको थियो ।


पार्टीका पिविएम तथा प्रदेश सेक्रेटरी सुरेश श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतको सञ्चालनमा सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सिपी गजुरेल गौरव, पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस राजवीर, देजमोको तर्फबाट शिव श्रेष्ठ र जवस मोर्चाको तर्फबाट अनु निरौलाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका केस पुष्कर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीतहरुको प्रस्तुति दिएका थिए भने कवि मित्रलाल पंज्ञानी लगायतका कविहरुले कविता वाचन गर्नुभएको थियो ।


त्यसैगरी मकवानपुरमा भएको जनयुद्ध दिवस समारोहलाई पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीक, पार्टी विविएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदीले सम्बोधन गर्नुभएको थियो ।
जिल्ला पार्टी सेक्रेटरी दिनेश बर्तौलाको अध्यक्षता र इन्चार्ज अशोक शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय जनताको समेत सहभागिता रहेको थियो । त्यसैगरी दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुमा पनि जनयुद्ध दिवस मनाइएको छ ।

प्रदेश १ मा उदयपुर र सुनसरीमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरेको थियो । विराटनगर लगायत अन्य जिल्लामा पनि जनयुद्ध दिवस मनाइएको छ ।

मधेस प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी)ले तीनवटा जिल्लामा केन्द्रित र अन्य जिल्लामा विकेन्द्रित रुपमा जनयुद्ध दिवस मनाएको छ । सिरहाको गोलबजार, सर्लाहीको हरिवन र रौतहटको गौरमा केन्द्रित रुपमा जनयुद्ध दिवस मनाएको छ । सर्लाहीको हरिवनमा भएको कार्यक्रमलाई प्रदेश इन्चार्ज दनुवार, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


त्यसैगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पनि विभिन्न जिल्लामा जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ । हामीलाई प्राप्त जानकारी अनुसारका तस्बीरहरु फोटो फिचरको रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

You might also like
Loading...