शरणार्थी प्रकरणमा संलग्न मानव तस्करहरुलाई  कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

0 262
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अपराधीहरु मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता कन्चनले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा यस्तो माग गरिएको हो ।

वक्तव्यमा आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकारनै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परिघटना भएको उल्लेख गर्दै यस घटनामा संलग्न अपराधीहरु जो कोही भए पनि तिनलाई कडाभन्दा कडा कार्बाहीको भागी बनाउन सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “यो परिघटना एकाध भ्रष्टाचारीहरुको आर्थिक लोभको मात्र हर्कत होइन । यो दलाल तथा नोकरशाही पुँजीवादी सत्ता तथा व्यवस्था र संसदवादी पार्टीका नाइकेहरुको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पतनकोे सटिक अभिव्यक्ति हो । सत्ताशीनहरुको आपसी भागबन्डा नमिलेको र तिनका बीचको अन्तर्विरोध चर्केका कारण यसपाली यो घटना बाहिर आएको हो । यस्ता काण्डहरु हिजो पनि भएका थिए र यो व्यवस्था रहेसम्म भोलि पनि दोहोरिंदै जाने कुरा निश्चित छ । यस प्रकारको बेथितिबाट मुक्ति पाउने एकमात्र उपाय भनेको नोकरशाही तथा दलाल पुँजीवादी सत्ता तथा व्यवस्थाको अन्त्य र त्यसको स्थानमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो ।”

वक्तव्यमा तत्कालका हिसाबले यस अपराधमा संलग्न सबै राजनीतिक माफियाहरु, नोकरशाहहरु, दलाल तथा मानव तस्करहरुमाथि कडा भन्दा कडा कार्बाहीका लागि आवाज उठाउन र नेपाली जनताले भोग्दै आएका समग्र समस्याको दीर्घकालीन समाधानका लागि नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी तथा प्रगतिशील जनतामा हार्दिक अपील गरिएको छ ।

You might also like
Loading...