सेतो हात्ती र धुर्त ब्वासोको एकै चिहान बनाउन आरनमा खुकुरी सान लगाईरहेछ: धनेश्वर पोख्रेल

0 472

बिहानीको सन्देश
———————-

हरेक बिहानी
रक्तिम किरण सहित
उदाउछ पुर्ब क्षितिजमा

मीठो सपना बाड्छ धर्तिभरी।
उषा लिएर आउछ सबको मन मस्तिष्कमा
अनि हुर्कन्छ दिनभर
धर्तिमा
खेल्छ
रमाउछ
आफ्नो सपना साकार पार्न
कहिले सडकमा
इन्कलाबको नारा लगाउछ
कहिले नारा जुलुस गर्छ र टायर बाल्छ
कहिले बन्दुक भिरेको बर्दिसङ्ग
भिडन्त गर्छ र घायल हुन्छ
कहिले बन्दुक भिरेको बर्दिलाई नै
घायल बनाउछ र सडकमै पल्टाउछ
अनि नारा घन्काउछ गगनभेदी
इन्कलाब —-जिन्दाबाद
कालरात्री —-मुर्दाबाद
जङ्गलीराज —मुर्दाबाद
सेतो हात्ती —-मुर्दाबाद।
रोबर्ट आउछ सडकमा
नाङ्गो
फगत नाङ्गो
नाच देखाउछ
दर्सकहरु
लाजले मुख छोप्छन्
डराउछन्
भागदौड गर्छन्
रोबर्ट
बर्दिधारी बन्दुकलाई आदेश दिन्छ
बन्दुक फायर खोल्छ
भटटटट—-भटटट।
रक्तमुछेल हुन्छ सडक
सडकको हत्या हुन्छ
सुन्दर बिहानीका आबाजहरु
बन्दुकद्वारा मारिन्छन्
काला बुटहरुद्वारा कुल्चिन्छन्
अनि
सडकको लास र रगतका फाल्सामा टेकेर
रक्तिम बिहानीको
हत्या गरेको खुसियालीमा
रोबर्ट बिजयको अट्टहास गर्दै
हास्छ
रमाउछ
अनि फेरी आफ्नै धुनमा
देश कोपर्न थाल्छ
देश कोपर्छ, छियाछिया पार्छ
टोक्छ, टुक्राटुक्रा पार्छ
बेच्छ, कमिसन खान्छ
त्यतिले अझ पुग्दैन
भित्र्याउछ आफ्नो मालिकलाई
अनि सुम्पिन्छ सम्पूर्ण तालाचापी
देश रहोस् वा नरहोस्
राष्ट्र बचोस् वा नबचोस्
के मतलब
मात्र – आफुलाई
मौकामा चौका हान्नपाए पुग्यो।
यो बेला
सेतो हात्ती
साइडमा बसेर अबसर ढुकिरहेको छ
भेडाको छाला ओडेको ब्वासो
दिनदहाडै निर्लज्ज ढङ्गले
देश लुछिरहेको छ
लुछिरहेको छ ।
यता घाइते सडक
कुनैदिन
सेतो हात्ती र धुर्त ब्वासोको एकै चिहान बनाउन
आरनमा खुकुरी सान लगाईरहेछ
सुनौलो बिहानी धर्तिमा फिजाउन
सामलको जोरजाम गरिरहेछ।

You might also like
Loading...