कोरोना कहरः चिनियाँ भ्याक्सिन सिनोभ्याक परीक्षणको अन्तिम चरणमा

युरोप र अमेरिकाको परीक्षण शतप्रतिशत सफल भएको दाबी

0 408

बर्दिया । कोरोना भाइरस संक्रणमको उपचार गर्ने गरी चीनले बनाएको भ्याक्सिन सिनोभ्याकको तेस्रो चरणको परीक्षण विश्वभर जारी छ । यसैबीच चिनियाँ अनुसन्धानकर्ताहरूले सिनोभ्याक परीक्षणको सफलता मध्यभागमा पुगेको दाबी गरेका छन ।

सिनोभ्याक बायोटेक कम्पनीले सात सयजनामाथि गरेको परीक्षणमा सबैले सफलता चुमेको जनाएको छ । अमेरिका तथा युरोपको परीक्षणपछि सिनोभ्याक बायोटेकले यस्तो दाबी गरेको हो ।

अमेरिका, जर्मनी र रसियाका सयौँ व्यक्तिमाथि सिनोभ्याक भ्याक्सिनको परीक्षण अझै भइरहेको छ । सिनोभ्याक बायोटेकले भ्याक्सिनले ९० प्रतिशत काम गरेको अघिल्लो साता नै घोषणा गरिसकेको छ । ‘हामीले गत साता पनि सिनोभ्याकको सफलता सम्बन्धमा सबैलाई जानकारी गराएका थियौँ, अहिले यो भ्याक्सिन परीक्षणको ‘मिड स्टेज’मा पुग्दासम्म हर्षित छौँ साथै थप सकारात्मक नतिजा आउने विश्वास लिएका छौँ,’ सिनोभ्याक बायोटेकले भनेको छ ।

तेस्रो चरण बढी प्रभावशाली
यसबाहेक पनि चीनले कोरोना भाइरसविरुद्ध लड्न विभिन्न किसिमको भ्याक्सिन उत्पादन गरिरहेको छ । यसमध्ये सिनोभ्याक सबैभन्दा बढी प्रभावशाली देखिएको छ । सिनोभ्याक अन्तिम चरणको परीक्षण कालमा छ । साइन्टिफिक जर्नल द लान्सेटमा प्रकाशित लेखअनुसार पहिलो तथा दोस्रो चरणको परीक्षणको नतिजा सन्तोषजनक थिएन । तर, तेस्रो चरणको परीक्षणमा यसले ९० प्रतिशत सफलता प्राप्त गरेको द लान्सेटमा लेखिएको छ ।

९९ प्रतिशत सफलता मिल्ने दाबी
सिनोभ्याक भ्याक्सिनले संक्रमित व्यक्तिमा छिटै काम गर्ने तथा यसले भाइरसविरुद्ध लड्न सक्ने क्षमता छिटो विकास गर्ने द लान्सेट जर्नलमा भनिएको छ । सम्भवतः आउने अप्रिल वा मे महिनासम्म भ्याक्सिनले शतप्रतिशत पूर्णता पाउने सिनोभ्याक बायोटेक कम्पनीले दाबी गरेको छ । ‘अप्रिल वा मे महिनासम्म भ्याक्सिनको सम्पूर्ण विवरण आउनेछ, ९९ प्रतिशत भ्याक्सिनले सफलता पाउने विश्वास राखेका छौँ,’ सिनोभ्याक बायोटेक कम्पनीका जु फेन्गकाईले भने ।
फेन्गकाईका अनुसार सिनोभ्याक पहिलो चरणमा एक सय ४४ जनामाथि परीक्षण गरिएको थियो । दोस्रो चरणमा ६ सयजनाले यो भ्याक्सिन प्रयोग गरेका थिए । तेस्रो चरणसम्म पुग्दा आपतकालीन अवस्थामा सिनोभ्याक विभिन्न राष्ट्रमा परीक्षण गरिएको अनुसन्धानकर्ता फेन्गाकाईले बताए । ‘तेस्रो चरणको परीक्षणलाई हामीले आपतकालीन अवस्था मानेका छौँ,’ उनले भने, ‘यो चरणमा सोचेभन्दा बढी सफलता प्राप्त भयो ।’ यद्यपि विश्वभरबाट सिनोभ्याकको तेस्रो चरण परीक्षणको सबै विवरण आइनसकेको उनले बताए ।

विभिन्न राष्ट्रमा परीक्षण
चीनमा निर्मित अन्य चार भ्याक्सिनको परीक्षण पाकिस्तान, साउदी अरेबिया, रसिया, इन्डोनेसिया र ब्राजिलमा भइरहेको छ । यही नोभेम्बर महिनासम्म यी मुलुकका ६० हजार व्यक्तिले भ्याक्सिन प्रयोग गरेका थिए । दुई साताअघि गम्भीर परिस्थिति देखाउँदै सिनोभ्याक ब्राजिलमा प्रतिबन्ध लगाइएको थियो । तर, ब्राजिलको स्वास्थ्यसम्बन्धी कम्पनीले प्रतिबन्ध लगाएको दुई दिनपछि नै सिनोभ्याक भ्याक्सिन पुनः सुरु गरेको थियो । सिनोभ्याकको प्रयोगबाट एक भोलेन्टियरको निधन भएपछि भ्याक्सिनमाथि प्रतिबन्ध लगाइएको थियो । पछि मृत्यु हुनुमा सिनोभ्याक भ्याक्सिनको केही सम्बन्ध नरहेको जनाएको थियो ।

अन्य भ्याक्सिनको अवस्था
सिनोभ्याकबाहेक विभिन्न राष्ट्रले भ्याक्सिन उत्पादन गरिरहेका छन । जर्मनी र अमेरिकी कम्पनीद्वारा उत्पादित भ्याक्सिनले ९० प्रतिशत काम गरेको दाबी गरेका छन । फिजेर र बायोटेक कम्पनीका भ्याक्सिन ९० हजार व्यक्तिले प्रयोग गरेका छन । ९० प्रतिशत व्यक्तिमाथि भ्याक्सिनले असर गरेको दुवै कम्पनीको दाबी छ । यसैगरी अमेरिकन कम्पनी मोडेर्नाले उत्पादन गरेको भ्याक्सिनले ९५ प्रतिशत सफलता प्राप्त गरेको छ । मोडेर्ना कम्पनीको भ्याक्सिन अहिले ५० हजार
व्यक्तिमाथि परीक्षण भइरहेको छ ।

यसैगरी रसियन भ्याक्सिनले ९२ प्रतिसत काम गरेको दाबी छ । १६ हजार भोलेन्टियरमाथिको परीक्षणमा ९२ प्रतिशत भ्याक्सिनले काम गरेको रसियन कम्पनीले जनाएको छ । रसियाले गत अगस्टमा आपतकालीन अवस्था भनी भ्याक्सिन प्रयोगमा ल्याएको थियो ।

अहिलेसम्म विभिन्न भ्याक्सिन संसारभरि देखिए पनि चिनियाँ भ्याक्सिन सिनोभ्याक नै सबैभन्दा बढी प्रभावकारी भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । यो अन्तिम चरणमा पुगेको र यसले छिटै संसारलाई एउटा नयाँ सुखद समाचार दिने अनुसन्धानकर्ताले जनाएका छन । यो समाचार सामाग्री मुलबाटो डटकमबाट साभार गरिएको हो ।

You might also like
Loading...