अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन हुँदै 

६ बर्षीया बालिकाको बलात्कार गरी हत्या गर्नेलाई कारबाहीको माग

0 184

-अनु निरौला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ६ बर्षीया बालिकाको अपहरण र बलात्कार गरी हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न र भएको विरोध प्रदर्शनमा राज्यले गरेको फासिवादी दमनको विरोधमा आज दिनको २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार मात्रै अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरीले एक वक्तव्य जारी गरी अबोध बालिकालाई अपहरण, बलात्कार र हत्या गर्नेसम्मको निकृष्ट अपराधमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्नुभएको थियो ।

अध्यक्ष मुडभरीले जारी गरेको वक्तव्यमा बालिका हत्याको विरुद्धमा उठेको जनआक्रोशलाई सम्बोधन गर्नुका सट्टा राज्यको फासिवादी दमनको घोर विरोध एवम् भत्र्सना गर्दै प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपाने ‘संजय’लाई सहिद घोषणा गर्न समेत जोडदार माग गरिएको थियो ।

वक्तव्यमा भनिएका थियो, “मंसिर ८ गते अपहरण गरेर बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा फेला परेकी बर्दिबास नगरपालिका वडा नम्बर–१४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याले हाम्रो संगठनलाई स्तब्ध तुल्याएको छ ।

नेपाली समाजमा बालिका महिला बलात्कारका श्रृङ्खलाबद्ध घटनाले आम नेपाली महिलाहरुलाई गम्भिर, लज्जाबोध र आक्रोशित बनाएको छ । हिंसा नियन्त्रणमा राज्यको उदासिनता र बढ्दो दण्डहिनताले अपराध दिनानुदिन बढेर गएको छ । हाम्रो संगठन उक्त घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न जोडदार माग गर्दछ ।

अबोध बालिकालाई अपहरण, बलात्कार र हत्या गर्नेसम्मको निकृष्ट अपराध विरुद्धमा उठेको जनआक्रोशलाई सम्बोधन गर्नुका सट्टा राज्य फासिवादी दमनमा उत्रिएको छ । प्रहरीको गोली लागेर गम्भिर घाइते बुद्धिराज न्यौपाने ‘संजय’को उपचारको क्रममा मृत्यु भएको छ । हाम्रो संगठन यसप्रकारको राज्यको फासिवादी प्रहरी दमनको घोर विरोध एवम् भत्र्सना गर्दछ र दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछ । र, मृतक न्यौपानेलाई सहिद घोषणा गर्न समेत जोडदार माग गर्दछ । साथै, अन्य घाइतेहरुको निःशुल्क उपचारको माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

राज्यको यस प्रकारको फासिवादी दमनकारी नीति र अपराध नियन्त्रणमा देखिएको उदासिनताका विरुद्ध सशक्त प्रतिरोध आन्दोलनमा जुट्न आम उत्पीडित महिलाहरु र जनसमुदायमा हार्दिक अपिल समेत गर्दछौं ।”

You might also like
Loading...