बाँकेमा दुई समुहबीच झडप: एकको मृत्यु ,५ घाइते
घटनामा संलग्न ६ जना प्रहरी नियन्त्रणमा
बर्दिया । बाँकेको जानकी गाउँपालिका-५ बनियाँ गाउँमा सोमबार साँझ दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झपडमा परी पाँच जना घाइते भएका छन् ।
स्थानीय बाबुलाल यादव र रामनरेश गुप्ता समूहबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको बाँकेका एसपी ओम रानाले बताए । मृतक यादवको टाउकोमा चोट लागेको उनले बताए ।
झडपमा परी पञ्चराम यादव, मुन्ना खटिक, रामनारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएको एसपी रानाले बताए । उनीहरुको नर्सिङ अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाबुलाल यादव र रामनरेश यादवबीच पुरानाे रिसइबी रहेकाे प्रहरीले बताएकाे छ ।
हरेक वर्ष पूर्णिमाका दिन लाग्ने गुरुवा गाउँ मेलामा बाबुलाल यादवको समूहले नरेश गुप्तालाई कुटपिट गरेको थियो । यादव समूहबाट कुटपिट भएपछि गुप्ताले आफ्ना समूह ल्याएर पुनः विवाद गर्दा दुवै पक्षबीच झडप भएको एसपी रानाले जानकारी दिए ।
घटनास्थलमा डीएसपीको कमान्डमा ९१ जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरीको परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ । यो समचार सामाग्री इकान्तिपुर पत्रिकाबाट साभार गरिएको हो ।