नेकपा (क्रान्तिकारी माओवादी)ले यसरी मनायो माओ जयन्ती

0 217

बर्दिया। काठमाण्डौ सहित देशैभर बिभिन्न क्रान्तिकारी कम्युनिष्ट तथा बामपन्थीहरुले चीनियाँ क्रान्तिका नायक माओत्से तुङको १२८ औं जन्मजयन्ती मनाएको खबर प्राप्त भएका छन् । सोही क्रममा नेकपा (क्रान्तिकारी माओवादी)ले पश्चिम ब्युरो अन्तरगतका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा माओ जयन्ती मनाएको छ । तीनवटै प्रदेशका बिभिन्न जिल्लाहरुमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अग्रणी नेता माओको स्मृतिमा बिबिध कार्यक्रम भएको हो ।
संसद बिघटन भएका वर्तमान अवस्थामा माओ दिवस बिशेष कार्यक्रममा संसदवादको अन्त्य गर्नुपर्ने धारणा ब्यक्त गरिएका छन् । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही, दाङ, बाँके,गुल्मीलगायतका जिल्लामा माओ जयन्ती मनाइएको हो ।
रुपन्देहीको कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेमनाथ सुवेदीले माओको विचार अंगिकार नगर्ने पार्टी सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी हुन नसक्ने बताउदै संसदीय ब्यवस्था असफल भएको बताउनुभयो ।
त्यस्तै ने.क.पा. क्रान्तिकारी माओबादी गुल्मीको आयोजनामा माओ को १२८ औ जन्म जयन्ती सत्यवती गाउपालिकाको ठूला लुम्पेकमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी माओवादीका बैकल्पिक पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले संसद बिघटनको वर्तमान अवस्थामा संघीय जनगणतान्त्रिक सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेश सेक्रेटरी समेत रहनुभएका उहाँले संसदीय ब्यवस्था असफल भएको भन्दै संसदवादीहरुले यो कुरा जति छिटो बुझ्छन् त्यति राम्रो हुने बताउनुभयो ।
संघीय जनगणतान्त्रिक ब्यवस्थाका लागि क्रान्तिकारीहरुबीच बृहत एकता आवश्यक रहेको न्यौपानेले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गुल्मी – पाल्पा ईञ्चार्ज टिका राना क्रान्तिकारी युवा लीग केन्द्रीय सचिवालय सदस्य मार्सल, अनेमसंघ ( क्रान्तिकारी ) नेतृ तेजकुमारी थापाले धारणा राख्नुभएको थियो । कार्यक्रम पार्टी जिल्ला सचिव केशव अधिकारीको अध्यक्षता अर्जुन तरामु को संचालनमा भएको थियो ।
त्यस्तै नेकपा क्रान्तिकारी माओवादी दाङले तुलसीपुर १९ एक कार्यक्रमबीच माओ जयन्ती मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य निरज केसीले संसदवादीहरु बीच लुछाचुडी हुदाँ संसद बिघटन हुन पुगेको बताउदै त्यसबाट संसदीय ब्यवस्थाको बिघटन भइसकेको बताउनुभयो । उहाँले चीनमा माओले आफ्नो सापेक्षतामा क्रान्ति सम्पन्न गरेको बताउदै नेपालमा मौलिक ढंगबाट क्रान्तिको लागि क्रान्तिकारी धुब्रीकरणको बिकल्प नरहेको बताउनुभयो । सोही क्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य यमबहादुर शाह , क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार सागर, जिल्ला सेक्रेटरी सरललगायतले धारणा राख्नुभयो ।
कार्यक्रम देजमोका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेको अध्यक्षता सचिव ईश्वरी प्रसाद गैरेको संचालनमा भएको थियो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सूर्खेतको आयोजनामा दिवस मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी सिसिएम कृष्ण गूरुंगले विश्व कम्युनिस्ट आन्दोलन र माओका योगदानवारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सचिव श्याम कार्की , प्रदेश कमिटी सदस्य पूर्ण पौडेल लगायतको सहभागिता थियो । त्यस्तै बाँके जिल्लामा संसदीय ब्यवस्थाको खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीले प्रर्दशन गरेको खबर छ । बाँकेमा माओ जयन्ती बिशेष कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादी केन्दीय सदस्य तेज बिक्रम शाही, जिल्ला सेक्रेटरी प्रेम थापालगायतले सम्बोधन गरेको बताइएको छ । त्यस्तै क्रान्तिकारी माओवादीले सुदुरपश्चिमको धनगढीमा पनि माओ जयन्ती भब्य रुपमा मनाएको छ । चितवन जिल्लामा क्रान्तिकारी माओवादीले माओ दिवस तथा संर्घषका कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

You might also like
Loading...