कोरोना अपडेट: बाँकेमा एकैदिन पाँच जनाको मृत्यु

0 431

बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका एक जना गरी ५ जनाको मृत्यु भएको उनले बताए ।

शिक्षण अस्पतालमा कोहलपुर-५ बाँकेकी ४५ वर्षीय महिला र कोहलपुर-२ की ५० वर्षीय महिलाको मृत्यु भएको उनले बताए । ४५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको हो । उनीमा शनिबार संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।

कोहलपुर-२ कि ५० वर्षीया महिलाको उपचारको क्रममा सोमबार ४ बजे मृत्यु भएको ओलीले बताए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

यसैगरी भेरी अस्पतालमा उपचाररत बर्दियाको बढैयाताल-८ का ४३ वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजे मृत्यु भएको ओलीले बताए । नेपालगञ्ज मेडिकल कलेजमा आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा थप उपचारका लागि भेरी अस्पताल पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको ओलीले बताए ।

नेपालगञ्ज नर्सिङहोम प्रि आइसोलेसनमा नेपालगञ्ज-४ कि ५५ वर्षीया महिलाको सोमबार दिउँसो २:३५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बाँकेको खजुरा-२ स्थित होम आइसोलेसनमा बसेका ८८ वर्षीय पुरुषको सोमबार दिउँसो ४ बजे मृत्यु भएको उनले बताए । वैशाख ४ गते गरिएको परीक्षणमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिए पनि उनको आफन्तले उनलाई होमआइसोलेसनमा राख्ने गरी अस्पतालको अनुमतिमा वैशाख १२ गते घर लगेका ओलीले जानकारी दिए । (स्रोत:- अनलाइन खबर)

You might also like
Loading...