सरकारको प्राथमिकता: सत्ता कि जनता ?

0 1,880

                             – रमेश थापा
आज देश कोरोना महामारीबाट आक्रान्त छ । धेरै जनताहरु कोरोनाले संक्रमित भएका छन । गाऊँ गाऊँमा मानिसहरु संक्रमणले थला परेका छन । उनीहरुलाई अस्पताल पुर्याउने एम्बुलेन्स र सवारी साधन छैन, सहज परिक्षणको ब्यवस्था छैन । संक्रमितहरु अस्पताल,औषधी, अक्सिजनको अभावमा छटपटाइरहेका छन । कतिपय संक्रमित मानिसहरुलाई सवारी साधन नपाएर ट्रेक्टरको ट्रालीमा राखेर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको, अस्पताल डुलाउँदा डुलाउँदै बेड नपाएर मृत्यु भएको, अक्सिजन नपाएर मृत्यु भएको भन्ने खबर सुनिएका छन । ऐले सरकारले सार्वजनिक गर्ने संख्या पहुँच भएका र परिक्षणको दायरामा आएका संक्रमितहरुको मात्र हो । अस्पताल पुग्न नसकेका र परिक्षणको दायरामा आउन नसकेका संक्रमितको हिसाब किताब नै छैन । बिश्व मानव सभ्यतालाई चुनौती दिइरहेको कोरोना महामारीबाट सृजित यस्तो बिषम र बिकराल अवस्थामा सरकार, राजनीतिक पार्टी, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु एकताबध्द भएर महामारी नियन्त्रणका लागि काम गर्नु पर्ने अवस्था छ । संक्रमण नियन्त्रण र संक्रमितको उपचार एवं जीवन रक्षाका लागि सबैले आ-आफ्नो ठाऊँबाट योगदान गर्नु पर्ने अवस्था हो यो ।
नताको अभिभावक भनेको देशको सरकार हो । राजनीतिक पार्टी र तिनका नेता जनताका सेवक र सारथी हुन । जनताले दुःखको बेला सम्झिने आश गर्ने भनेको देशको सरकार, राजनीतिक पार्टी र पार्टीका नेताहरु नै हो । ऐले नेपालमा कम्युनिष्टको सरकार छ ।
कम्युनिष्ट पार्टीको स्थापना भएको झण्डै सात दशकको अन्तरालमा नेपालमा कम्युनिष्टको एकमना सरकार बनेको हो । कम्युनिष्टको सरकार बनेपछि दुःखि, गरिब, अन्याय अत्याचारमा परेका, शोषित पीडित जनताको भाग्य चम्किने सपना र आश्वासन बोकेर बाँचेका जनताले सरकारबाट धेरै आशा, भरोसा गरेका थिए । त्यहि भएर कम्युनिष्टलाई चुनाबमा बिजयी गराउनका लागि तन, मन, धन लगाएर काम गरेका थिए । कम्युनिष्ट सरकार बनेको खुसीयालिमा दिप प्रज्वलन गरेर हर्षोल्लास मनाएका थिए । तर जुन दिन देखि कम्युनिष्टको सरकार बन्यो त्यहि दिन देखि सरकारले दुःखि, गरिब, अन्याय अत्याचारमा परेका, शोषित पीडित जनतालाई देखाएका सपना र आश्वासन बिर्सिंदै गयो । सरकार बहुमतको दम्भ र अहंकारले अन्धो बन्दै गयो सरकार दुःखि, गरिब, अन्याय अत्याचारमा परेका, शोषित पीडित जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको जिम्मेवारीबाट पन्छिंदै गयो । जनताका प्राथमिकतामा नरहेका काममा हात हालेर समय बर्बाद मात्र गरेन कम्युनिष्ट पार्टीको खिल्लि उडाउने काम गर्न थाल्यो । सरकारले जनताको हितमा गर्नु पर्ने काम नगरीकन बिना तयारी एक्लौटी ढङ्गबाट गुठी बिधेयक ल्यायो । गुठी बिधेयकको बिरोधमा यति ठूलो आन्दोलन भयो कि सरकारको सिंहाशन नै डग्मगाउन पुग्यो । सरकारले बल र शक्ति प्रयोग गरी पेलेर जाने सोच नबनाएको होइन । तर जनदबाबका सामु टिक्न सकेन र घुँडा टेकेर पछि हट्न बाध्य भयो ।
सरकारको जनबिरोधि हरकत लगभग यतिबेला देखि नै प्रष्ट हुँदै आएको थियो । तर पनि सरकारको नियतमा केहि न केहि सुधार हुने र जनअपेक्षा अनुरुप काम हुने आशा चाहिं मरेको थिएन । दिन, हप्ता, महिना गर्दै बर्षहरु पनि बित्दै गए तर सरकार जनताप्रति उत्तरदायि बन्नै चाहेन । सरकार प्रमुख र सरकारका मन्त्रीहरुको ब्यवहार चलचित्रका खलनायक जस्तो हुँदै गयो । जनतालाई हेप्ने,तर्साउने, अनि ऐयासी र बिलासी जीवनशैलीमा रमाउने अनि जनतासंग टाढिंदै जाने क्रम बढ्दै गयो । यो रोग प्रधानमन्त्री, मन्त्री,
सांसद, मेयर मात्र होइन यि पदमा रहेका ब्यक्तिका आसेपासेमा समेत झाङ्गिदै गयो । चाहे प्रधानमन्त्रीका सल्लाहाकार भनौं चाहे उनका नजिकका हनुमानहरुको बोली र ब्यवहार अत्यन्त टर्रो र अहंताले भरिएको हुन्छ । उनीहरु आफुलाई अर्कै ब्रम्हाण्डबाट ओर्लेका प्राणी ठान्दछन र अरुलाइ हेपेर, होच्याएर निकृष्ट शब्दबाण प्रयोग गर्नथाले ।
यता जनताहरू कम्युनिष्ट पार्टीको सरकारले कतिबेला जनमुखि कार्यक्रम घोषणा गर्ला भनेर प्रतिक्षा गरिरहेका थिए तर भित्र भित्र सरकार र पार्टीमा झै-झगडा र आन्तरीक किचलो शुरु भैसकेको थियो । यो झगडाले यति उग्ररुप लिंदै गयो कि प्रधानमन्त्री के.पि.वली एण्ड कम्पनि एकातिर अनि माधव-प्रचण्ड- झलनाथ एण्ड कम्पनि अर्को तिर भएर दुई खण्डमा बिभाजित भै युध्द मैदानमा नै उत्रिए ।
के.पि.वलीले राज्यसक्ति प्रयोग गरेर असहमत पक्षलाइ किनारा लगाउने सोच बनाए भने बिपक्षीहरु बहुमतको आडमा के.पि.वलीलाई घुँडा टेकाउने सोच बनाए । के.पि.वलीले आफ्नो शक्ति बलियो देखाउन मोटो गर्धन र बलिया तिघ्रा, पाखुरा भएका जतिलाइ समाउदै केन्द्रिय सदस्यमा मनोनित गर्न थाले भने अर्को पक्ष के.पि.वली लगायतलाई पार्टीबाट निस्काशन गरेको घोषणा गर्न बाँकी राखेनन । के.पि.वलीमा देशको सर्वेसर्वा भएर एकलौटी र मनमोजी राज्यसत्ता सञ्चालन गर्ने अनौठो भोक जन्म लियो ।

एकलौटी शासनसत्ता संचालन गर्ने उनको महत्वाकांक्षा पुरा गर्ने बाटोमा संसद अवरोधक भएको उनले निष्कर्ष निकाले । जसको फलस्वरुप उनले करीब दुईतिहाई बहुमतको आँफैले सरकारको नेतृत्व गरेको संसदलाई अल्पायुमै हत्या गर्ने जस्तो निकृष्ट हर्कत गरे । भएको संसदको हत्या गर्ने र बैशाख १७ र २७ गते चुनाब गरी प्रत्यक्ष्यमा १२० सिट जित्ने र ५० लाख भोट ल्याउने उनले घोषणा गरे । उनको यो बहुलठ्टी हरकतमा राष्ट्रपतिले पनि ल्याप्चे लगाइदिइन । प्रधानमन्त्रीले देशलाई अस्थिर र अन्यौलताको भूमरीमा धकेलेर बिपक्षीहरुको हुर्मत लिने बाटोमा अगाडी बढे । तर उनको यो केटाकेटिपन र बद्नियतपूर्ण हरकतलाई अदालतले खारेज गरिदियो । उनको सपना चकनाचुर भएर गयो ।

अदालतको निर्णय पछि बिपक्षीहरु उत्साहित हुँदै लड्डुको गुलियोमा रमाउदै नाचगान गर्न थाले । तर उता के.पि.वलीले अर्को कुटिल चाल चलिसकेका थिए जो बिपक्षीले सुईको सम्म पनि पाउन सकेनन । लडाई वारपारको अवस्थामा पुगेको बेला सर्बोच्च अदालतको अचम्मको फैसला आयो । माग दाबी नै नभएको बिषयमा निर्णय दिंदै अदालतले गरेको फैसलाले नेकपा रुप धारण गरेका एमाले र माओबादी केन्द्रलाई पुरानै अवस्थामा फर्काईदियो । यो कुटिल चालमा के.पि.वली सफल भए भने बिपक्षीहरु तीनछक परे । पार्टी
छिन्न भिन्न भैसकेपछि माओवादी केन्द्रबाट मन्त्री बनेका कतिपयले राजीनामा गरी पद त्याग गरे भने कतिपय पदलोलुप्त र अवसरबादीहरु मन्त्रीरुपी सत्ताको हड्डी च्याप्न एमालेकै टाङ्गमुनी छिरे । के.पि.वलीले आफु अनुकुलको अध्यायदेश ल्याएर संबैधानिक निकाय लगायत महत्वपूर्ण पदहरुमा आफ्ना अन्धभक्त र यसम्यानहरु नियुक्त गर्दै गए । यो कार्यमा प्रधानमन्त्रीलाई राष्ट्रपतिको पनि पूर्ण साथ र सहयोग रहँदै गयो । प्रहरी, प्रशासन, न्यायलय र हरेक क्षेत्रमा आफ्नो अनुकुलका यस म्यानहरु ब्यवस्थापन गर्दै गएर आफ्नो हैकम र बर्चस्व कायम राख्ने खेलमा के.पि.वली अझै पनि निरन्तर लागिरहेकै छन ।
पार्टी अलग भैसकेपछि के.पि.वलीले एमाले पार्टीलाई आफ्नो ब्यक्तिगत कम्पनी जस्तो गरी आफ्नो कब्जामा राख्ने अर्को प्रपञ्च रच्न थाले । आफुसंग असहमत माधब-झलनाथ समुहलाई थाहै नदिइ आफ्ना मान्छेहरुको मात्र केन्द्रिय समिति बैठक राखी बिभिन्न निर्णय गर्दै गए । उनले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदच्युत मात्र गरेनन एमालेमा कुनै हैसियतनै नभएका नवप्रबेशीहरुलाई समेत केन्द्रिय सदस्यमा मनोनित गरे । यो निर्णयबाट माधव-झलनाथ समुह असन्तुष्ठ बन्न पुग्यो । यो निर्णय सच्याउन उनीहरुले दबाब दिन थाले । तर त्यसको बदलामा के.पि.वलीले माधव नेपाल लगायतका नेताहरुलाई निलम्बन मात्र गरेनन आत्मसमर्पण नगरे पार्टीबाट निस्कासन गर्ने सम्मको धम्कि दिए । माधव पक्षका सांसदहरुलाई स्पष्टिकरण सोधेर कायल कायल बनाएर आफ्नो पक्षमा नलागे सांसदबाट हटाउने सम्मको रणनीति गरे । माधव नेपाल पक्षका नेता र सांसदहरुलाई ब्यक्तिगत रुपमा सम्पर्क गर्दै साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर आफ्नो पक्षमा लाग्न बाध्य पार्दै गए । के.पि. वलीको ब्यवहारबाट तर्सिएका, हौसिएका र लोभको चास्नीमा डुबेका कतिपय सांसद, नेता, कार्यकर्ता माधब क्याम्पबाट पलायन हुँदै के.पि.वली क्याम्पमा आत्मसमर्पण गर्न पुगे भने कतिपय सांसद र नेता कार्यकर्ता टसकोमस नभै के.पि.वली प्रबृत्तिका बिरुध्द अडिग रहे । यसरी एमालेको अध्यक्ष रहेका के.पि.वलीले एकातिर आफ्नै पार्टीलाई एकताबध्द राख्न सकेनन भने अर्को तिर दुइतीहाई बाट झरेर बहुमतमा अडिएको सरकार माओबादीले समर्थन फिर्ता लिएपछि ऐले आएर अल्पमत सरकारको नेतृत्व गरेर बस्न बाध्य भएका छन । यति मात्र नभएर बर्षौं बर्ष एमाले पार्टी निर्माणमा आफ्नो योगदान गरेका नेताहरुलाई पाखा लगाएर सांसद नै नभएका नवप्रबेशीहरुलाई महत्वपूर्ण मन्त्रालयमा मन्त्री बनाएर आफ्नै पार्टीका नेता कार्यकर्ताप्रति ठूलो गद्दारी र अन्याय समेत गरेका छन । सांसद पद नै नभएका यस्ता दलबदलु मान्छेहरुलाई मन्त्री बनाएर न उनको बहुमत जोगिएको छ न सुशासन दिन सकेका छन । सरकार जताजतै डुङ्गडुङ्ति गन्हाएकै छ, बदनाम कमाएकै छ ।
आजकल माधव नेपाल, प्रचण्ड, शेर बहादुर देउवा र उपेन्द्र यादव के.पि.वलीको सरकारलाई असफल पारी शेर बहादुर देउवाको नेतृत्वमा बैकल्पिक सरकार निर्माण गर्ने तानाबुना बुनिरहेका छन भने के.पि.वली पनि आफ्नो नेतृत्वको सरकार जोगाइदिन शेर बहादुर देउवाकै शरणमा पुगेका छन । हिजो सम्म कांग्रेसलाई मुख्य दुश्मन देख्ने माधव नेपाल, प्रचण्ड र के.पि.वलीलाई कांग्रेसकै शरणमा जानु पर्ने अवस्था यिनिहरु आफैले सृजना गरेका हुन अरु कसैले होइन । शेर बहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन भनेर होच्याउने कम्युनिष्टहरु आज शेर बहादुरकै सामु शिर झुकाएर शरण पर्न कस्तो लाज नमानेका होलान ? एउटै पार्टीमा समान पदमा रहेका के.पि.वली र प्रचण्ड अनि चालीस बर्ष भन्दा बढि एउटै पार्टीमा काम गरेका के.पि.वली र माधव नेपाल बीचको यो अबिश्वास र एकले अर्कोलाई सिध्याउन अख्तियार गरेका घृणित खेलको प्रतक्ष्यदर्शी नेपाली कांग्रेसले आँफुहरुलाई कसरी बिश्वास गर्ला भन्ने सोचेर शरण पर्न गएका होलान यिनिहरु ? चालीस बर्ष सम्म एउटै पार्टीमा एउटै तहमा बसेर काम गरेका सहकर्मी माधव नेपाललाई त मौका मिल्नासाथ राजनीतिक जीवन नै समाप्त हुनेगरी कारबाहि गर्ने के.पि.वलीले भोली मौका पाए भने अरुलाई बाँकी राख्लान ? अनि सबै पुराना मित्रतालाई बिर्सेर प्रचण्डको साथ पाउनासाथ के.पि.वलीलाई पार्टीबाट निस्काशन गर्ने माधव नेपालले मौका पाएपछि अरुलाई बाँकी राख्लान ? यस्तै यस्तै ब्यवहारहरुले गर्दा कम्युनिष्ट नेताहरुले बिश्वास गुमाएको अवस्था छ र त्यति सजिलै अरुको साथ पाउने अवस्था पनि छैन ।
कम्युनिष्ट पार्टीका नेता चाहे के.पि.वली हुन, चाहे माधव नेपाल हुन चाहे प्रचण्ड हुन आफ्नो अस्तित्व जोगाईदिनु पर्यो भनेर नेपाली कांग्रेसको शरणमा जानु भनेको आफु समाप्त भएको स्वीकारोक्ति हो । नेपाली कांग्रेस आफ्नो छुट्टै सिद्धान्त बोकेको नेपालको सबै भन्दा पुरानो पार्टी हो । देशका हरेक परिवर्तनमा आफ्नो हैशियत कायम राख्दै अन्तराष्ट्रिय जगतले समेत बिश्वास गर्ने पार्टी हो नेपाली कांग्रेस । त्यसैले अरुको स्वार्थपूर्ति हुने गरी आफ्नो नीति, बिचार, सिध्दान्त र परम्परा बिपरित प्रयोग हुन्छ भन्ने सोचाइ राख्नु सर्बथा गलत हुनेछ । जेसुकै भने पनि एमालेमा देखिएको ऐलेको समस्याको जड के.पि.वली नै हुन । ऐलेको समस्याबाट मुख्ति पाउनका लागि के.पि.वली नै झुक्नुको बिकल्प छैन । यदि उनले आफ्नो घमण्ड र दम्भ त्यागेर झुकेनन भने उनको पतन निश्चितछ । आफ्नो पार्टी अध्यक्ष र प्रधानमन्त्री पद जोगाउन र पार्टीलाइ एकताबध्द बनाएर लैजानका लागि के.पि.वलीले पार्टीलाई २०७५ साल जेष्ठ २ गतेको अवस्थामा फर्काएर अदालतको निर्णय पछि उनले गरेका सबै निर्णय र कारबाहि खारेज गरी माधव नेपाल समक्ष घुडा टेक्नुको बिकल्प छैन । यदि के.पि.वलीलाई देशकै चिन्ता हो, जनताकै चिन्ता हो, समृध्दिकै चिन्ता हो भने उनी एकपटक झुक्नै पर्दछ र आफुले गरेका एकलौटी निर्णय र कारबाहि खारेज गरेर आत्मालोचना गर्नु पर्दछ । यसो गर्न सकेमा आफ्नो पद र अस्तित्व रक्षाका लागि अरुको दैलो दैलो चहार्नु पनि पर्दैन, कसैको शरणमा पर्नु पनि पर्दैन । तर आफ्नै दम्भ र घमण्ड बोकेर हिंड्ने अर्काको अस्तित्व स्वीकार नगर्ने र निमिट्यान्न पार्ने खेलमा तल्लिन हुने हो भने २०७८ साल बैशाख २७ गते पछि के.पि.वलीका उल्टा दिन शुरु हुने अवस्था आउनसक्छ । सबैले राम राम भन्ने हो काँध थाप्न कस्ले सक्छ र ?

You might also like
Loading...