कोरोना कहर: जनताको सम्पत्तिको ब्रह्मलुट,नेकपा(क्रान्तिकारी माअोवादी)द्वारा घोर विरोध

0 488

बर्दिया । यतिबेला देशमा कोभिड–१९को दोस्रो लहरका कारण कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको छ । सङ्क्रमितहरु अस्पतालका चिसो छिंडीमा अक्सिजन नपाएर छट्पटाइरहेका छन् र लासहरु सडकमा अलपत्र छिरलिएका छन् । यस्तो अत्यन्तै संवेदनशील अवस्थामा ओली सरकारले जनताको निःशुल्क उपचार गर्न नसक्ने घोषणा मात्र गरेको छैन करोडौं रुपियाको कमिसनको चक्करमा निजी कम्पनी हुकमलाई खोपको आयात गर्ने अनुमति दिएर मेडिकल माफियालाई पोस्ने र आर्थिक हैसियत कमजोर भएको श्रमजीवि वर्गलाई कोरोना महामारीको उपचारबाट बञ्चित गराउने जनविरोधी अपराध गरेको छ,नेकपा(क्रान्तिकारी माअोवादी)ले यसको घोर विरोध र तीव्र भत्र्सना गरेको छ ।

स्वास्थ्य सङ्कटको यस्तो गम्भीर स्थितिमा निजी तथा सरकारी अस्पतालहरुलाई एउटै कमाण्डमा परिचालन गरी कोरोना सङ्क्रमितहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न र सङ्कटको बेला जनताको सम्पत्तिको ब्रह्मलुट गर्ने मेडिकल माफियालाई कडा भन्दा कडा कार्बाही गर्न पार्टीले सरकारसँग जोडदार माग गरेको छ । साथै प्रायः देशैभरि निषेधाज्ञा गरिएका कारण रोजगारी गुमाई दुई छाक चलाउन गाह्रो भएका सबैको र मुख्यतः असङ्गठित क्षेत्रमा कामगर्ने मजदुरहरुको जीवन रक्षाका लागि आवश्यक राहतको व्यवस्थागर्न सरकारसँग विशेष माग गरेको छ ।

वर्तमान सरकार र अन्य सबै पार्टीहरु एकताबद्ध भएर चुनौतीको सामना गर्नु पर्ने विद्यमान परिस्थितिमा सत्ताधारी वर्गका संसदवादी पार्टीहरु सत्ता र सुविधाको भागबण्डाका लागि सत्ताको समीकरण मिलाउने काममा व्यस्त रहेका छन् । यसले “रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछन्” भन्ने भनाइलाई चरितार्थ गरेको छ । यो प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र त्यसलाई निर्देशित गर्ने साम्राज्यवादी नवउदारवादको असली चरित्र भएको उक्त वक्तव्यमा बताइएको छ ।

त्यसैगरी देश अद्वितीय स्वास्थ्य सङ्कटका बीचबाट गुज्रिरहेको छ । यो स्थितिमा पार्टी सरकारको जनविरोधी स्वास्थ्य नीति र मेडिकल माफियाको कालोबजारीका विरुद्ध आ–आफ्नो ठाउँबाट आवाज उठाउन, आवश्यक सतर्कता सहित कोरोना सङ्क्रमितहरुको निश्पक्ष उपचारको व्यवस्था मिलाउन र लकडाउनका कारण विचल्लीमा परेका सबैको सहयोगका लागि अगाडि बढ्न सामान्यतः आम जनतामा र विशेषतः पार्टी पंक्तिलाई विशेष अनुरोध गरेको छ ।

You might also like
Loading...