प्रतिनिधि सभा विघटन संसदीय व्यवस्था असफलताको उपज: नेकपा (क्रान्तिकारी माओवादी)

निरङ्कुशतावादी तथा फासीवादी परिघटनाको कडा विरोध

0 458

बर्दिया । प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा आधारित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका आन्दोलनका आंशिक उपलब्धिलाई समेत समाप्त पार्दै निरङ्कुशतावाद तथा फासीवाद तर्फ उद्यत रहेको पश्चगामी परिघटना भएको नेकपा (क्रान्तिकारी माओवादी)ले बताएको छ । साथै उक्त पार्टीले प्रेस वक्तव्य जारी गरी यस परिघटनाको कडा विरोध गरेको छ ।

उक्त वक्तव्यमा प्रतिनिधि सभा विघटनको यो परिघटना वर्तमान ओली सरकारको असफलताका साथै दश वर्षीय जनयुद्ध र विभिन्न जनआन्दोलनहरूमा अभिव्यक्त अमर सहिद, क्रान्तिकारी योद्धा तथा जनसमुदायका मुक्ति र स्वतन्त्रताका आकाङ्क्षा र सपनामाथि कुठाराघात गर्दै थोपरिएको पश्चगामी संविधान र संसदीय व्यवस्था समेतको असफलताको अभिव्यक्ति भएको उल्लेख गरिएको छ ।

सो पार्टीले प्रतिनिधि सभा विघटनको यस परिघटनालाई कम्युनिस्टको नाममा जनसमुदायलाई दिग्भ्रमित पार्दै, उनीहरूप्रति विश्वासघात गर्दै र विभिन्न सङ्घर्षहरूको ब्याज खाँदै सत्ता तथा सरकारको उपभोगमा लिप्त रहिआएका संशोधनवादीहरू तथा संशोधनवादको समेत भारी असफलता भएको जनाएको छ ।

वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाद्वारा देशको राष्ट्रीय स्वाधीनता, जनताका जनतान्त्रिक अधिकार र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर, जटिल तथा असमाधेय बन्दै आएको र संसदीय व्यवस्था असफल प्रमाणित भैसकेको स्थितिमा फेरि पनि संसदीय निर्वाचनमा जानु जनताप्रति अर्को विश्वासघात गर्नु हो । साथै,कोभिड–१९ को भीषण महामारीको बेला जनस्वास्थ्यमाथि विशेष जोड दिनुको बदला निर्वाचनमा ठूलो अर्थराशि खर्चिनु नितान्त गलत भएको पनि बताएको छ ।

तसर्थ, सो पार्टीले संसदीय व्यवस्थाको विकल्पमा मध्यावधि निर्वाचन होइन, त्यसका विरूद्ध र विकल्पमा संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादको दिशामा संघर्षलाई विकसित तुल्याउन र कोरोना महामारीको भयावह पीडाले छटपटाइरहेका जनताको जीवनरक्षा तथा जनस्वास्थ्यका समस्या समेतलाई लिई सशक्त आवाज उठाउन सम्पूर्ण देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूसित विशेष अपिल गरेको छ ।

You might also like
Loading...