कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर:क्रान्तिकारी पत्रकार महासंघ

0 318

बर्दिया । कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर्न र वेपत्ता पत्रकारहरुकाे स्थिति सार्वजनिक गर्न राज्यसँग क्रान्तिकारी पत्रकार महासंघले जोडदार रुपमा माग गरेको छ ।

कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवसको अवसरमा महासंघका अध्यक्ष इन्द्र राउतद्वारा हस्ताक्षरित प्रेस वक्तव्य जारी गरि बिहीबार इच्छुकका हत्यारालाई कारबाही गर्न माग गरिएको हो ।

साथै,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विराेधी राज्यकाे याे रवैयाकाे उक्त संगठनले घाेर विराेध जनाएको छ ।

प्रेस वक्तव्यको पूर्णपाठ
१- आज जेठ १३ गते अर्थात् जनपक्षीय तथा क्रान्तिकारी पत्रकारिताका धराेहर, एक आदर्श कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस । कोरोना भाइरस (कोभिड–१९)को बढ्दाे संक्रमण र जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष आजकै दिन क्रान्तिकारी पत्रकार महासंघ लगायतका विभिन्न सञ्चारसम्बद्ध संघ संगठनहरुले गर्ने ‘प्रभातफेरी’ कार्यक्रम गर्ने स्थिति रहेन । सहिद इच्छुककाे सम्झना, सम्मान र प्रतिबद्धताका लागि याे प्रेस वक्तव्य जारी गरिएकाे छ ।
२- यस अवसरमा हाम्रो संगठन सर्वप्रथम महान सहिद कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँले आफ्नो शब्द र कर्ममार्फत् जनादेश साप्ताहिक, जनदिशा साप्ताहिक र त्रैमासिक साहित्यिक पत्रिका ‘कलम’को सम्पादक रहेर जनपक्षीय पत्रकारिताको क्षेत्रमा र नेपाली समाजकाे आमूल परिवर्तनकाे आन्दाेलनमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दछ । यस अवसरमा हाम्रो संगठन जनपक्षीय पत्रकारिता गर्दा गर्दै जीवन बलिदान गर्नुहुने पत्रकारहरु डि कौडिन्य, कंचन प्रियदर्शीलगायत सबै पत्रकार सहिदहरुलाई हार्दिक रुपमा स्मरण गर्दछ । र, उहाँहरुप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, स्तम्भकार दण्डपाणी न्यौपाने, पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ लगायत वेपत्ता पारिएका जनपक्षीय तथा क्रान्तिकारी पत्रकाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ । लाल सलाम अर्पण गर्दछ । फेरि पनि कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर्न र वेपत्ता पत्रकारहरुकाे स्थिति सार्वजनिक गर्न राज्यसँग जाेडदार रुपमा माग गर्दछ ।

३- श्रमजीवी शाेषित उत्पीडित जनताकाे पक्षमा समाचार लेखेकै कारण तथा तत्कालीन माओवादी जनयुद्धको पक्षपोषण गरेकै कृष्णसेन इच्छुक पटक पटक जेल पर्नुभयो । २०५९ साल ६ जेठमा गिरफ्तार गरी १३ जेठमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा प्रहरी हिरासतमै चरम यातना दिएर क्रुरतापुर्वक बीभत्स रुपमा हत्या गरियो । उहाँको भौतिक जीवनको हत्या गरिए पनि कृष्णसेन इच्छुकले अँगालेका विचार, उहाँका शब्द, कर्म र बलिदानकाे मुल्यबाेध मरेकाे छैन । समाजमा शाेषण, विभेद र उत्पीडन कायम रहेसम्म, राज्यले श्रमजीवी जनताका विरुद्ध गर्ने हिंसाकाे अन्त्य नभएसम्म इच्छुकका अनुयायीहरु जन्मिरहनेछन् र राज्यकाे निरंकुश फासिवादी दमन र अत्याचारका विरुद्ध प्रतिराेधकाे माेर्चामा कलम बाेकेर निरन्तर लडिरहनेछन्, डटिरहने छन् ।
४- संसदीय व्यवस्थाकाे समुल अन्त्य गरि श्रमजीवी, शोषित, उत्पीडित वर्ग र समुदायलाई अधिकारसम्पन्न बनाउने नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने इच्छुककाे सपना र संघर्षकाे कार्यभार बाँकी नै छ । त्याे कार्यभार पूरा गर्ने दिशामा निरन्तर लागिरहने संगठन प्रतिबद्धता व्यक्त गर्दछ ।
५. यतिखेर राज्यले प्रतिगामी, निरंकुश फासिवादतिरकाे बाटाे समातेकाे छ । विगतका युद्ध र आन्दाेलनबाट प्राप्त सीमित अधिकारहरु पनि खाेसिने क्रममा रहेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन थालिएकाे छ । समाचार लेखेकै कारण पत्रकारहरु जेल जानुपर्ने र अदालत धाउनुपर्ने अवस्था आएकाे छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विराेधी राज्यकाे याे रवैयाकाे हाम्राे संगठन घाेर विराेध तथा कडा शब्दमा निन्दा गर्दछ ।
६- काेराेना महामारीमा अग्रमाेर्चामा खटिने पत्रकारहरुकाे दिनदिनै मृत्यु भइरहेकाे छ । सयाैकाे संख्यामा पत्रकारहरु संक्रमित अवस्थामा छन् । महामारीकै बहानामा कर्पाेरेट मिडिया मालिकहरुले सयाै श्रमजीवी पत्रकारहरुलाई पेशाबाट बेदखल गरिदिएका छन् । स्वराेजगारमुलक तथा साना लगानीका मिडियाहरु बन्द हुँदा हजाराै पत्रकारहरु बेराेजगार बन्न पुगेका छन् । याे अवस्थामा हाम्राे संगठन काेराेना संक्रमणबाट ज्यान गुमाउनु भएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । र, संक्रमित पत्रकारहरुकाे निःशुल्क उपचारकाे व्यवस्था गर्न माग गर्दै शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछ । साथै, मृतक परिवार, महामारीकै कारण राेजगारी गुमाउन पुगेका श्रमजीवी पत्रकार र स्वराेजगार तथा साना लगानीका मिडियाहरुलाई लक्षित गरि अावधिक राहत प्याकेजकाे व्यवस्था गर्न पनि राज्यसँग जाेडदार माग गर्दछ ।
७. राष्ट्रपति र प्रधानमन्त्रीकाे प्रतिगामी फासिवादी कदमकाे विराेध र प्रतिराेध गर्दै अग्रगामी तथा क्रान्तिकारी राजनीतिक विकल्पकाे पक्षमा आफुलाई उभ्याउनु नै आजकाे सन्दर्भमा इच्छुकप्रतिकाे सच्चा श्रद्धाञ्जली हुनेछ ।
इन्द्र राउत
अध्यक्ष
क्रान्तिकारी पत्रकार महासंघ

You might also like
Loading...