प्रहरी दमनलाई तोड्दै विरोध सम्पन्न: मजदुरहरुका विषय सम्बोधन नभए कडा प्रतिरोध गर्ने चेतावनी

0 483

काठमाडौ । नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले निषेधाज्ञाले संकटग्रस्त मजदुरलाई विशेष राहत घोषणा गर्नुपर्ने, राष्ट्रघाति एमसिसि सम्झौता खारेज हुनुपर्ने, जयसिंह धामी घटनाको तथ्य-सत्य छानबिन हुनुपर्ने सहितका ११ सुत्रीय माग राखि माइतीघर मण्डलामा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यमान राज्य-व्यवस्थाको शोषण-उत्पीडनका विरुद्ध निरन्तर संघर्षरत नेपाली मजदुरहरुको जीवन पछिल्लो पटक कोरोना सँगै शुरु भएको लकडाउन-निषेधाज्ञाले अझ संकटग्रस्त बनेको छ । यो २ वर्षको अवधिमा कम्तीमा २० लाख मजदुरले रोजगारी गुमाएका छन भने हरेक वर्ष श्रम बजारमा आउने १० लाख नयाँ मजदुर बेरोजगार छन । भारत प्रवास समेत वैदेशिक रोजगारीमा रहेका करिब ६० लाख नेपाली मजदुरको भविष्य अन्योलपुर्ण छ । मजदुरका आधारभुत आवश्यकता रोजगारी, गाँस, आवास, स्वास्थ्य, शिक्षा, सुरक्षाको विषयमा कुनै ठोस नीति कार्यक्रम सार्वजनिक-लागु गर्न राज्य असक्षम बनेको छ । राज्य एवं सरकार केवल सत्ता-शक्तिको दुर्गन्धित खेलमा रमाइरहेको छ । आजको विरोध कार्यक्रमले राज्यको यसप्रकारको असक्षमताको भण्डाफोर गरेको छ ।

विरोध कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम क. सागर, महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, केन्द्रीय सचिवालय सदस्यहरु क्रमशः बद्री चापागाईं, कुमार घताने, दिनेश बर्तौला र अर्जुनलाल श्रेष्ठले सम्बोधन गर्नु भएको थियो ।

विरोध कार्यक्रमलाई प्रहरीले दमन-हस्तक्षेप गर्ने दुस्साहस गरे पनि मजदुरहरुले प्रहरी दमनको कडा प्रतिरोध गर्दै विरोध सम्पन्न गरेका छन । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राज्यको यसप्रकारको दमन मजदुरहरुलाई अस्वीकार्य भएको भन्दै राज्य-दमनको कडा प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । यसैगरी प्रमुख वक्ता क. सागरले इतिहासमा मजदुरहरुले कयौं मुक्ति र वलिदानिपुर्ण आन्दोलनको नेतृत्व गर्दै आएको स्मरण गराउदै शासक वर्गलाई मजदुर शक्तिलाई नजर अन्दाज नगर्न सुझाव दिनुभयो । ” मजदुरहरुलाई दमन मार्फत ठिक गर्न सकिन्छ भन्ने भ्रम नहोस, यदि त्यस्तै ठानेको हो भने उनीहरु स्वयं धुलोपिठो हुनेछन ।” क. सागरको चेतावनी थियो । राष्ट्रिय स्वाधीनताको प्रसंगमा बोल्दै एमसिसि सम्झौता लागु गर्ने संसदवादी पार्टीहरुले देशलाई रणमैदानमा बदल्न चाहेको टिप्पणी गर्नुभयो । ” अहिले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य संसदवादी पार्टीहरु भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सिधा-सिधा दलाल बनेका छन । आज देशको अस्तित्व निकै खतरामा छ । यसकारण, जनताको सचेत-एकताबद्ध संघर्ष आजको अपरिहार्य आवश्यकता हो” भन्दै उहाँले सबै क्रान्तिकारी पार्टी-शक्ति र देशभक्त हरुलाई एकताबद्ध हुन आव्हान गर्नु भयो । महासंघले आगामी संघर्षका कार्यक्रम छिटै घोषणा गर्ने जानकारी दिएको छ ।

You might also like
Loading...