क्रान्तिकारी माओवादीद्वारा एमसीसी सम्झौताको बिपक्षमा मतदान गर्न सांसदलाई ध्यानाकर्षण

0 332

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा सार्वजनिक अभिव्यक्ति नदिन र संसदमा एमसीसीको व्यापक भण्डाफोर गर्दै त्यसको बिपक्षमा मतदान गर्न आग्रहसहित काठमाडौं ७ नं. निर्वाचन क्षेत्रबाट निर्वाचित नेकपा एमाले सांसद रामबिर मानन्धर र नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरुको नेतृत्वमा गएको टोलीले एमाले सांसद मानन्धरलाई बालाजुको अस्टनारायण हलस्थित उहाँकै निवासमा पुगेर राष्ट्रघाती एमसीसीको पक्षमा अभिव्यक्ति नदिन र एमसीसीको पक्षमा मतदान नगर्न खबरदारीसहितको ध्यानाकर्षण पत्र बुझायो । पत्र बुझ्दै मानन्धरले आफू पनि एमसीसी पास गर्न नहुने पक्षमा रहेको भन्दै क्रान्तिकारी माओवादीको यो अभियानको सफलताको शुभकामना दिनुभयो । ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीसँग उहाँले देश चलाउने नेतृत्व बेठिक भएको समेत टिप्पणी गर्नुभयो ।

त्यसैगरी धुम्बराही मण्डिखाटारस्थित कांग्रेसका समानुपातिक सांसद राजभण्डारीले भने ध्यानाकर्षण पत्र सडकमै बुझ्नुभयो । उहाँले सडकमै उभिएर ध्यानाकर्षण बुझ्नु भएको थियो । टोलीले अनुरोध गर्दा पनि उहाँले पत्र बुझेको हस्ताक्षर गर्न भने मान्नुभएन । ध्यानाकर्षण पत्र बुझे पनि एमसीसीको विषयमा भने उहाँले केही बताउन चाहनु भएन ।

क्रान्तिकारी माओवादीले कात्तिक १० देखि १३ गतेसम्म काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई राष्ट्रघाती एमसीसी सम्झौता पास नगर्न खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । निर्णय अनुसार आज दुई जना सांसदहरुलाई उक्त पत्र बुझाएको हो । बाँकी सांसदहरुलाई अर्को दिन बुझाउने गरी समय मिलाइएको क्रान्तिकारी माओवादीका काठमाडौं जिल्ला सेक्रेटरी अमरले जानकारी दिनुभयो ।

You might also like
Loading...