भूपेन्द्र बडुवालको हत्या प्रकरण: २१ जना संलग्न: १२ प्रक्राउ,९ फरार

0 328

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले भूपेन्द्र बडुवालको हत्यामा २१ जना संलग्न रहेकोे पत्रकार सम्मेलन गरेर जनाएको छ । गत कार्तिक २३ गते राति टीकापुरको सिद्धार्थ होटल नजिक बडुवालको हत्या भएको थियो। प्रहरी उक्त २१ जनामाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले सोमबार गरिएको पत्रकार सम्मेलनमा उक्त घटनामा संलग्न २१ जना मध्ये १२ जना समातिएको र ९ जनालाई समात्न प्रहरी असफल भएको बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले योजनाबद्ध तरिकाले भूपेन्द्रको हत्या भएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यस्तो छ घटनाको विवरण

कैलालीका एसपी विश्व अधिकारीका अनुसार टीकापुर नगरपालिका–१ का अशोक रावलको संरक्षणमा स्थानीय लोकजंग शाहीसमेतले युवाहरुको समूह बनाएर अपराधिक लाभका निमित्त परिचालन गर्दै आएका थिए ।

विशेष गरी लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ, वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चश्व कायम गर्न युवाको समूह परिचालन गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

रावलको संरक्षण र शाहीलगायतका युवाको परिचालनमा काम गर्दै आएका जयन्द्र शाह र नवीन रावल शुरुमा एउटै समूहमा आवद्ध थिए तर पछि आपसी मनमुटाव र वैमनश्यका कारण उनीहरु दुई समूहमा विभाजित भए । पछिल्लो समय दुवै समूहका युवाहरु बीच पटक–पटक झै(झगडा हुन थाल्यो ।

लोकजंग शाहीको योजनाअनुसार कात्तिक २५ गते त्यहाँबाट भगाउन सविनजंग शाहीले कार भाडामा लिएर उनीहरुलाई धनगढीको जुगेडासम्म ल्याएर २६ गते भारतीय जीपको व्यवस्था गरेर उनीहरुलाई भारतको ढकिया गाउँसम्म पुर्‍याएर फर्केको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गत भदौमा मात्र जयन्द्रको समूहले नवीनको समूहका एक सदस्यलाई काठमाडौंमा खुकुरी प्रहार गरेको थियो । हत्या गर्ने प्रयासस्वरुप कालीमाटी क्षेत्रमा हिमाल शाही (नवीनको समूहमा आवद्ध) को पेटमा खुकुरी प्रहार गरेपछि दुवै समूहबीचको विवादले थप हिंसात्मक रुप लिँदै गएको देखिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा नवीन रावल समूहका शाहीको हत्या प्रयास असफल भएपछि जयन्द्र शाह समूह यतिमै रोकिएन, आक्रमण गर्ने योजना अनुसार अगाडि बढिरह्यो । जयन्द्रको समूहको तर्फबाट कपिल श्रेष्ठ (मृतक भूपेन्द्रका मिल्ने साथी)ले योजना बनाउने काम गदर्थे ।

‘उनै श्रेष्ठ नवीन रावल र उनको समूहलाई आक्रमण गर्ने योजनाअनुसार कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमार्फत कैलाली आएको देखिन्छ,’एसपी अधिकारीले भने, ‘२० गते लम्की पुगेर मनसुन होटलमा बसेका श्रेष्ठ २१ र २२ गते बौनियाको अनुकुल होटलमा बस्दै आक्रमण गर्ने उपयुक्त अवसरको खोजीमा जुटेको देखिन्छ ।’

सोही क्रममा २३ गते लम्कीमा आयोजना गरिएको फुटबल प्रतियोगिता हेर्न नवीनसहित उनको समूह गएको सूचना कपिलले पाउँछन् । र आफ्नो समूहका युवाहरुलाई खबर गरेर खेल मैदानमै आक्रमण गर्ने योजना बनाउँछन् ।

प्रहरीकाअनुसार उनको समूह लम्की नपुग्दै नवीन रावलको समूह त्यहाँबाट हिँडिसकेको थियो । आक्रमणको योजना बनेको सूचना पाएकै कारण रावलको समूह त्यहाँबाट निस्केको देखिएको प्रहरी बताउँछ ।

‘नवीन रावललाई समेत भेटेर मदन शाही ९हाल प्रहरी हिरासतमा० ले जयन्द्रको समूहले हतियारसहित आक्रमण गर्ने योजना बनाएको सुनाएको देखिन्छ,’ एसपी अधिकारीले भने,‘त्यसपछि रावलले पनि आफ्नो समूहका युवाहरुलाई टीकापुरको रोड साइड क्याफेमा जम्मा गरेर फेला पर्ने जुनसुकै व्यक्तिलाई आक्रमणको योजना बनाउँछन् ।’

सोही क्रममा जयन्द्र समूहका कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकेर बस्छन् भने मिल्ने साथी भएकाले भूपेन्द्र (मृतक) लाई लिन बोलाउँछन् । त्यही समयमा नवीन रावलको समूह पनि आक्रमण गर्ने योजनाअनुसार हातहतियारसहित त्यसतर्फ जान्छ ।

कपिललाई लिन गइरहेको अवस्थामा भूपेन्द्रसँग टीकापुरको जमरा पुलनजिक आर्यन देवकोटा समेतका युवाहरुको भेट हुन्छ । आफ्नाविरुद्ध लम्कीबाट टीकापुर आएको भन्दै उनीहरु भूपेन्द्रलाई लखेट्न थाल्छन् ।

करीब दुई किलोमिटर लखेटेपछि सिद्धार्थ होटल नजिकबाट उनी (मृतक) मोटरसाइकल छोडेर आफन्तको घरतर्फ भाग्छन् । ‘तर आर्यन देवकोटा, चिरञ्जीवि शाही, रोशन शाही र रोहित आले लगायतले स्थानीय कौशीदेवी विष्टको घर पेटीमा भूपेन्द्र बडुवाललाई नियन्त्रणमा लिन्छन्’ एसपी अधिकारीले भने, ‘पेट र छातीको भागमा दुई पटक, पिठ्यूँको भागमा तीन पटक र टाउको पछाडिको भागमा एक पटक धारिलो हतियार प्रहार गरेर भागेको देखिन्छ ।’

घटनापछि उनीहरु त्यहाँबाट भागेको अनुसन्धानका क्रममा खुलेको छ । नवीन रावलसहितका युवाहरु जोशीपुर पुगेर एकजना (आर्यन देवकोटा) ले अपराध स्वीकार गर्ने र अरु भाग्ने योजना बनाउँछन् । देवकोटालाई बौनियाबजारमै छाडेर उनीहरु त्यहाँबाट भागेर उत्तरतर्फ पर्ने चायाँभावर गाउँमा स्थानीयको घर लुकेर बस्छन् ।

अभियुक्तमध्येका लोकजंग शाहीको योजनाअनुसार कात्तिक २५ गते त्यहाँबाट भगाउन सविनजंग शाहीले कार भाडामा लिएर उनीहरुलाई धनगढीको जुगेडासम्म ल्याएर २६ गते भारतीय जीपको व्यवस्था गरेर उनीहरुलाई भारतको ढकिया गाउँसम्म पुर्‍याएर फर्केको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तर उनीहरुले प्रयोग गर्ने दुई वटा मोटरसाइकल तथा पाँच मोबाइल भने बर्दिया र धनगढीमा लुकाउन लगाइएको थियो । यी दुई अपराधिक समूहका युवाहरुविरुद्ध कैलाली र काठमाडौंमा समेत गरेर विभिन्न समयमा मुद्दा समेत दर्ता भएको पाइएको प्रहरीको भनाइ छ ।

एसपी अधिकारीले उनीहरुविरुद्ध कैलाली र काठमाडौंमा यसअघि ज्यान मार्ने उद्योग शीर्षकमा ६ र हातहतियार खरखजना शीर्षकमा दुई वटा मुद्दा दर्ता भएको खुलेको जानकारी दिए ।

दुई समूहको द्वन्द्वका कारण मारिएका भूपेन्द्रविरुद्ध भने अपराधिक गतिविधिमा संलग्न भएको भन्दै हालसम्म कतै मुद्दा नपरेको पाइएको उनी बताउँछन् । तर साथीभाइका नाताले उनी पनि यी समूहसँग निकट भने थिए ।

यो प्रकरणमा प्रहरीले संगठित अपराधको जालो भत्काउने प्रयास गरेको देखिएपनि मुख्य अभियुक्त र संरक्षण दिनेहरुलाई भने अझै पक्राउ गर्न सकेको छैन । तर एसपी अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै फरार रहेका प्रतिवादीको खोजी भइरहेको र उनीहरुलाई उन्मुक्ति नदिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिवादीमध्येका मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका १५ जनालाई कैलाली प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्म कैद र सोही संहिताको दफा ४१ बमोजिम कैद सजाय र दफा १७७(१)बमोजिमको कसुर लगाउन माग गरेको छ ।

मृतकसँग नजिक रहेका भनिएका जयन्द्र शाह समेतका ४ जनालाई दफा १७७(२) बमोजिम जन्म कैद र दफा १७७(१)को कसुरमा सजाय गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको छ भने अन्य दुई जनालाई दफा ३६(३)(क) बमोजिम कसुर गरे वा सो सरह जन्म कैदको सजाय दफा ३६(१) र (२) को कसुर लगाउन राय दिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) अधिकारीले बताए ।

You might also like
Loading...