विमला बोगटीको हत्याका दोषीलाई कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग

0 175

काठमाडौं । ओखलढुङ्गा जिल्ला, चम्पादेवी गाउँपालिका, वडा नं. ३, चित्रेस्थित श्री बालज्योति मा.वि., कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बिमला बोगटी यही पुस ५ गते विद्यालयमा प्रवेश गर्दा नियमित प्रार्थनाको प्रक्रियामा पुगेको तर विद्यालयको गेटभित्र छिर्न नदिइएको र पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यालय प्रशासनले रेस्टिकेटसम्म गर्ने धम्की दिँदै विद्यालयमा अध्ययनको निम्ति प्रवेश नदिइएकोले उक्त धम्की र व्यवहारबाट प्रताडित भएकी बिमलाले विष सेवन गरेको र उपचारको क्रममा उनको मिसन अस्पताल, ओखलढुङ्गामा पुस ६ गते मृत्यु भएको विषयलाई लिएर अखिल (क्रान्तिकारी)ले एक वक्तव्य जारी गरेको छ ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले उक्त घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो घटनाक्रमलाई हेर्दा बिमलाको स्वाभाविक मृत्यु नभई हत्या नै भएको पुष्टि हुने दाबी गरिएको छ । वक्तव्यमा उक्त घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र पक्राउ गरी उनीहरुमाथि हदैसम्मको कारवाहीको माग गरिएको छ ।

आम विद्यार्थीको सम्पूर्ण हक–अधिकारको सुनिश्चितता एवम् उनीहरुले स्वतन्त्रपूर्वक अध्ययन गर्न पाउने वातावरण तयार गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग जोडदार आग्रह गरिएको छ । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
You might also like
Loading...