ठाकुरद्वारा तनावग्रस्त: मन्दिर व्यवस्थापन समितिले दिएन माघी मेलाको स्टल बुकिङ रकम फिर्ता

0 1,458

बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ स्थित ठाकुरद्वारामा मन्दिर व्यवस्थापन समितिले व्यापारीहरुको स्टल बुकिङ गरेको रकम फिर्ता नगरेपछि तनाव सृजना भएको छ । पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढेपछि सरकारले बिद्यालय, मेला, महोत्सव बन्द र सार्वजनिक क्षेत्रमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाएपछि उक्त माघी मेला स्थगित भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बुधबार उक्त व्यापारीक मेला स्थगित भएपछि व्यापारीहरुले आफुले स्टल बुकिङ गरेको रकम फिर्ता माग्दा मन्दिर व्यवस्थापन समितिले उक्त रकम फिर्ता नदिएको भन्दै समितिका मान्छेलाई घेराउ गरी नारावाजी गरेका छन । व्यापारीहरुको पैसा अर्को बर्ष माघी मेलामा मिलान गर्ने वा आगामी माघ १५ गते पछि मात्र फिर्ता गर्ने व्यवस्थापन समितिले बताएको छ । उक्त मेलामा स्थानीय व्यापारी मात्र नभई बाहिरबाट पनि आएको हुँदा व्यवस्थापन समितिको निर्णय आपत्तिजनक भएको भन्दै आफुहरुलाई तत्काल आफ्नो पैसा फिर्ता गर्न माग गरिरहेका छन । समयमै आफुले तिरेको पैसा फिर्ता गरी सहज वातावरण बनाई दिन सम्बन्धित पक्षलाई चेतावनी समेत दिएका छन ।

बर्दियाको मौलिक, साँस्कृति तथा प्राकृतिक रुपमा सुन्दर र रमणीय एवं पर्यटकहरुको मुख्य गन्तव्य ठाकुरबाबा क्षेत्र पनि एक हो । विगत दुई बर्षदेखि कोभिड–१९ का कारणले उक्त मेला प्रभावित बनेको थियो । यस बर्ष भने पुन: संचालनमा आउने भनी मन्दिर व्यवस्थापन समितिले पुस २८ गतेबाट सुरु भई माघ ५ गतेसम्म मेला लाग्ने जानकारी दिएको थियो । त्यसपछि स्थानीय तथा बाहिरका साना व्यापारीहरुले धमाधम स्टल बुकिङ गरेका थिए । उक्त माघी मेलाका लागि करिब ३०० वटा स्टल बुकिङ भई झण्डै साढे चार लाख बराबरको रकम उठेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षले जनपथ खबरलाई टेलिफोनमा बताएका छन ।

You might also like
Loading...