क्रान्तिकारी माओवादी एमसीसी र सीमा अतिक्रमणको विरोधमा माघ २१ गते देशभर प्रदर्शन गर्दै

0 209

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्ने निर्णय गरेको महासचिव मोहन वैद्य ¨किरण¨ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वक्तव्यमार्फत् महासचिव किरणले सो विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गर्नु भएको छ ।

वक्तव्यमा देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको प्रश्न गम्भिर बन्दै गएको विषयलाई उल्लेख गर्दै भनिएको छ, “ देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गंभीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गंभीर चिन्ताको विषय हो ।”

No photo description available.

You might also like
Loading...