एमसीसी विरुद्ध भोलि संयुक्त विशाल विरोध सभा: वैद्य सहित शीर्ष नेताहरुको सम्बोधन
काठमाडौँ ।एमसीसी विरुद्धको संयुक्त विशाल विरोध सभालाइ क्रान्तिककारी माओवादीका महासचिव मोहन वैद्य (किरण)सहितका शीर्ष नेताहरुले भोली सम्बोधन गर्ने भएका छन्।
राष्ट्रघाती एमसीसी सम्झौता संसद्बारा अनुमोदन गरेको विरोधमा संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले फागुन २० गते शुक्रबार विशाल आमसभा गर्ने तयारी गरेका छन् ।
आमसभाको तयारी स्वरुप आज आठ दलको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा विरोधसभाबारे जानकारी दिइएको थियो ।
विरोधसभालाई ६ पार्टी र २ मोर्चाका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने र अन्य पार्टीभित्र एमसीसीको विरोधमा आवाज उठाइरहेका नेताहरुलाई समेत सम्बोधनका लागि निमन्त्रणा गर्ने तयारी समेत गरिएको छ ।
राष्ट्रियता स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनतन्त्र र जनजीविकाका विषयहरूमा संयुक्त सङ्घर्ष गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको मंगलबारको बैठकले यही फागुन २० गते काठमाडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेको थियो ।
मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघर्षरत आठ दलले नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेका थिए ।