मेरो बर्दिया- कविता

0 733

विनाशवादी जल्लादहरूलाई चिर्दै,
अभावको गोरेटोमा
चुनौतीका कैयंन् लौरोहरू भांच्दै
संरक्षणको गन्तव्य पछ्याएको
मेरो बर्दिया,
जैविक बिबिधता को सुन्दर फुल फुलाउन
सक्ने गुल्जार भुमी हो।
संरक्षणको गर्विलो इतिहास बोकेको मेरो बर्दिया,
प्रकृति र संस्कृतिलाई ब्राण्ड बनाई
आत्मसम्मान र स्वाभिमान को ट्याग लगाई
बिश्व बजारमा,
सेवा सौन्दर्य र ऐश्वर्य बेंच्न माहिर छ ।
संस्कृतिलाई सजाएर,
प्रकृति संग रमाएर,
पर्यावरणलाई बँचाएर,
पर्यटकलाई नँचाएर,
सौन्दर्यलाई भँजाएर
आफ्नो छुट्टै पहिचान रोपेको छ!
टाईगर ल्यान्ड अर्थात
पाटेबाघ फलाउने उर्वर फाँट हो !
बाघ सँगै रमाउँछ बर्दिया,
बाघ छ र बर्दिया छ !
बाघ बर्दियाको,पहिचान हो
अस्तित्व,गौरव र चिनारी पनि

यहाँ का रैथाने थारु समुदाय को
सखिय हो को गुरी गुरी जाँर सँगै
हुर्डुङ्गवा मादलको तालमा,
आर्गानिक ढिक्री चँपाई रँहदा,
कसमसे थरूनीको लेहङगा भन्दा
जोर ले यो मन नांचिदिन्छ।

हरियो मुलुक मा चराहरू सँगै परिचय गर्दै ,हात्ती सफारीको दौरान कर्णाली को
चिसो र कंन्चन हावाको झोंकाहरूले
फोक्सो सम्मै हमला गर्दा कसको मन
अफिम भन्दा जोडले लठ्ठिदैँन र ?
कलिला घाँस चारकोशे झाडी सगं मितेरी गाँस्दै, जरायो को तुलना खरायो संग
खाक रूपी श्रीपेच लगाएका गैँडा,
पतिङ्गर संग कुस्ती खेलिरहेका अजिङ्गर,
सित्तल हावाको आनन्द सँगै चित्तल गन्दै
तनावको भकारी रित्याएर जंगल सफारी मा लीन हुन अन्त कहाँ पाइन्छ र ?

मानसरोवर बाट बग्ने नीलो कर्णालीमा
राफ्टिङ सँगै डुबुल्की मार्दै फिसिङ गरेको पल जीन्दगीभर मिसिङ गर्न सकिन्छ।
त्यसैले बर्दियाली हूनुको हुङ्कार छ म मा
बाघ जस्तै ढाक र रबाफ अनि अझ बढि
गौरव पनि ।
-अनिल थारू

You might also like
Loading...