कवि र क्रान्तिकारी

0 436

क्रान्तिकारी र विद्रोहीहरूको
ठेगाना थातथलो र पहिचान
क्रान्ति र विद्रोहमै त हुने हो
कतिचोटि मर्छन्
वा थाकेर कतै सर्छन्
त्यस्तो हुँदैन क्रान्तिकारीहरूको
साँच्चैका कवि
जसरी आफ्ना कवितामा
क्रान्तिकारी विद्रोही भएर बाँच्छन्
र कहिल्यै विचारको थलोबाट
अन्त कतै बसाइँ सर्दैनन्
पुँजीवादी अकविताको जङ्गलमा
घृणित रोगबाट थलिएर
कहिल्यै मर्दैनन्
साँच्चिकै कवि र कविता
त्यसरी नै
क्रान्तिकारी विद्रोहीहरू
आफ्नो स्वार्थ खातिर
आफैंलाई आगो लगाएर
बसाइँ सर्दैनन्
क्रान्तिकारी विद्रोहीहरू
क्रान्ति र मुक्तिका आँखा बन्छन्
असल कवि र कविताका
उदाहरण बन्छन्
संसद्को गुहे ढलमा
डुबुल्की मारेर
सुगन्धित भएको ढोंग गर्दैनन्
क्रान्तिकै उज्यालोमा
जिउँछन् त्यसरी मर्दैनन्

You might also like
Loading...